काठमाडौं- कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पत्तिसम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको अमेरिकाले बताएको छ।
भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा विश्व व्यापार संगठन (डब्लूटीओ)ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पत्तिसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो। त्यसमा आफ्नो पनि समर्थन रहेको अमेरिकी राष्ट्रपतिले बताएको समाचारहरुमा उल्लेख छ।
यसले विश्वभर खोपको उत्पादन बढाउन तथा महामारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपको पेटेन्ट राइट पाखा लगाएर सबैलाई उत्पादन अधिकार दिनुपर्ने माग गरिरहेका थिए। डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो। यस्तै बेलायत र युरोपियन युनियन पनि विरोधमा थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनी अघिका ट्रम्पले भन्दा फरक मार्ग लिएका छन्। चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताएका बाइडेनले बुधबार त्यसलाई पुनः दोहोर्याएका हुन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि यसलाई कोरोना भाइरसविरुद्धको युद्धमा स्मरणीय क्षण भनेका छन्।