काठमाडाैं - भारतमा कोरोना भाइरस संक्रमण रोक्न दिइएकाे खाेप कोभ्याक्सिन र कोभिसिल्ड नयाँ प्रकारकाे भेरियन्टमा प्रभावकारी देखिएकाे दाबी गरिएकाे छ।
भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोभ्याक्सिन र कोभिसिल्ड खोप प्रभावकारी देखिएको बताएकाे हाे।
आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ। खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको छ।’
यद्यपि प्रतिरोधी क्षमता प्रत्येक डोज दिएको दुई सातापछि मात्र विकसित हुन शुरु हुने उनले बताएका छन्।
‘सबै मानिसमा एउटै समयमा भने विकास हुँदैन। कोरोनाको पहिलो डोज लिएका मानिसहरु पनि संक्रमितको सम्पर्कमा आए संक्रमित बन्न सक्छन् ,’ उनले भनेका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र ३ लाख १५ हजार ८०२ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार नाघेको छ।
कोरोनाविरुद्धको कोभ्याक्सिन खोप लिने एक करोड १० लाख मानिसमध्ये ९३ लाख ५६ हजार ४३६ ले पहिलो डोज लिएका थिए। उनीहरुमध्ये सहभागीमध्ये ४ हजार २०८ जनामा मात्र कोरोना संक्रमण देखिएको भार्गवले जानकारी दिएका छन्।
दुवै डोज लिएका १७ लाख ३७ हजार १७८ मध्ये ६९५ जनामा कोरोनाको संक्रमण देखिएको थियो।
भारतमा कोभिसिल्ड खोप लगाएका ११ करोड ६० लाख मानिसमध्ये १० करोड ३ लाख २ हजार ७४५ ले पहिलो डोज खोप लिएका थिए। उनीहरुमध्ये १७ हजार १४५ जनामा कोरोना संक्रमण देखिएको थियो।
१ करोड ५० लाखले कोभिसिल्डको दुवै डोज लिएका थिए। उनीहरुमध्ये पाँच हजार १४ जनामा कोरोना संक्रमण देखिएको थियो।