काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाखको हाराहारीमा पुग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख २४ हजार २९० जना नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ९० हजार नाघेको छ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २५ लाख ३३ हजार ९२४ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८५५ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४० लाख ५० हजार ८८५ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढी संक्रमित थपिँदा ३४ सयभन्दा बढीको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा २ हजार २० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ८२ हजार ५७० पुगेको छ।
संक्रमितमध्ये एक करोड ३२ लाख ६९ हजार ८६३ जना निको भइसकेका छन् भने २१ लाख ५६ हजार ५७१ सक्रिय संक्रमित रहेका छन्।