जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस अधानम गेब्रियससले कोरोना महामारी अन्त हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिएका छन्।
सार्वजनिक स्वास्थ्य उपायहरूद्वारा महिनौंमा कोरोना संक्रमण नियन्त्रणमा ल्याउँन सकिएको उदाहरण भएको भन्दै यसलाई पालन गर्न उनले आग्रह गरेका हुन्।
‘हामी पनि समाज र अर्थतन्त्रहरू फेरि चलायमान भएको हेर्न चाहन्छौं। यस्तै यात्रा र व्यापार पुनः सुरु भएको देख्न चाहन्छौं,’ सोमबार उनले भने, ‘तर अहिले धेरै देशहरूमा संक्रमितहरुले ज्यान गुमाएका छन्।’
उनले स्वास्थ्य मापदण्डहरु अपनाए कोरोना संक्रमणलाई पुनः नियन्त्रणमा लिन सकिने समेत बताए। ‘वर्षको पहिलो दुई महिनामा भेटिएको संक्रमित र मृत्युको गिरावटले यसलाई रोक्न सकिन्छ भनेर देखाउँदछ,’ उनले भने,‘स्वास्थ्य मापदण्डका उपाय र आत्मसंयमले यसलाई नियन्त्रण गर्न सकिन्छ।’
ब्राजिललाई पछि पार्दै भारत विश्वमा दोस्रो सबैभन्दा धेरै संक्रमण भएको देशको सूचीमा उक्लिएको छ। गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ। योसँगै भारतका कुल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ पुगेको छ।
भारतमा कोरोना भाइरसको संक्रमणका कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएको छ। यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।
डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भान केर्कोभका अनुसार कोरोना संक्रमण गत हप्तामा ९ र मृत्युदर ५ प्रतिशतले वृद्धि भएको छ।
‘केही देशहरूमा कोरोना संक्रमण बढेपनि रेष्टुरेन्टहरू र नाइटक्लबहरू खुल्ला छन्। बजारलगायत भीडभाड हुने स्थानमा प्रतिबन्ध लगाइएको छैन। केही व्यक्ति यसलाई हलुकासँग लिरहेका छन्,’ उनले भनिन्।