नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन्। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन्।
'मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,' सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्। यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए। भारतले कोरोना भाइरसविरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ।
कोरोनाविरुद्धको खोप उत्पादन र वितरणमा भारतका नेतृत्वदायी र उल्लेखनीय भूमिका खेलेको छ। तैपनि भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकै दिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन्। पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ। पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ।