बेलो होरिजोन्टे- ब्राजिलको सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन ‘फ्रन्टलाइन’ नराखेको भन्दै यौनकर्मीहरुले हड्ताल गरेका छन्। दक्षिणपूर्व बेलो होरिजोन्टे सहरका याैनकर्मीहरुले एक सातादेखि हड्ताल गर्दै आएका हुन्।
मिन्स गेराइस राज्यमा यौनकर्मी संगठनकी प्रमुख सिडा भिएराले यौन पेसा नै खतरामा परको भन्दै अन्य ‘फ्रन्टलाइन वर्कर्स’ झैं आफूहरूलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेकी छिन्।
‘हामी फ्रन्टलाइन छौं। साथै अर्थतन्त्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका छौं। तर, अहिले हामी जोखिममा छौं। हामीलाई पनि अन्य कामदार जस्तै कोरोनाविरुद्धको खोप दिइनुपर्छ,’ उनले भनिन्।
कोरोना महामारीका कारण होटलहरू बन्द भएपछि हजारौं यौनकर्मीहरू सडकमा गएर ग्राहक खोज्न थालेका छन्। ग्राहकबाटै कोरोना संक्रमण हुन्छ कि भन्ने डरमा उनीहरु रहेका छन्।
‘सेवा दिन कोठा भाडामा लिएका होटलहरू बन्द छन्। अहिले हामी सडकमा छौं। असुरक्षित छौं,’ उनले भनिन्। भिएरा तथा अन्य महिलाले सोमवार होटलबाहिर सडकमा उभिएर प्लेकार्ड देखाएका थिए। जहाँ उनीहरुले आफ्नो धन्दा चलाउँथे।
‘यौनकर्मीहरू पनि स्वास्थ्यकर्मी हुन्’ र ‘यौनकर्मीहरू प्राथमिकतामा पर्ने समूह हुन्’ भन्ने सन्देश प्लेकार्डमा लेखिएका थिए। सरकारले स्वास्थ्यकर्मी, शिक्षक, वृद्धा, आदिवासी र स्वास्थ्यकर्मीलाई खोप लगाउन पहिलो प्राथमिक्तामा राखेको छ।
सरकारले यो समूहका ७७ करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ। यद्यपि, स्वास्थ्य विज्ञहरुले खोप अभावका कारण सेप्टेम्बर अगाडिसम्म सबैलाई खोप लगाउन नसक्ने बताउँदै आएका छन्। ‘हामी स्वास्थ्य शिक्षक हौं। पुरुषलाई एसटीआईको बारेमा जानकारी दिन्छौं, कन्डम वितरण गर्दछौं,’ भिएराले भनिन्।