वीरगञ्ज– २०७२ चैत २ गते मध्याह्न १२ बजे नारायणी उपक्षेत्रीय अस्पताल पुग्दा सबै ओपिडीमा ताला लागेको छ। अस्पतालको टिकट बोकेका बिरामी बन्द ताला हेर्दै फर्किरहेका छन्। ताला लगाइएको ओपडी भवन वरिपरी रहेका केही कर्मचारीले हाकाहाकी ‘डाक्टर भेट्ने भए नाम अनुसार बाहिरको क्लिनिकमा जानुहोला’ भनिरहेको देखियो।
०००
आकस्मिक कक्षको एउटा बेडमा एक बृद्ध स्लाइन पानीसहित सुतिरहेका छन्। तर, त्यहाँ कोही डाक्टर छैनन्। न त स्वास्थ्यकर्मी नै छन्। नीजि कलेजमा पढिरहेका नर्सिङ र एचएका केही विद्यार्थीहरु आकस्मिक कक्षमा समूह बनाएर गफिरहेका देखिए। उनीहरुको ध्यान बिरामीप्रति पटक्कै छैन। समूह बनाएर आपसमा गफिरहेका विद्यार्थीहरुलाई आकस्मिक कक्षको चिकित्सकका बारेमा सोधपुछ गर्दा उनीहरुले भने, ‘एक जना हुनुहुन्थ्यो यतैकतै हुनुहुन्छ होला खोज्नुहोस्। नभेटिए क्लिनिकतिर जानुपर्छ।’ आकस्मिक कक्षको शैयामा म्याट्रेस पनि छैन। ड्रेसिङका सामान राख्ने भाँडा पनि खिया लागेको र लथालिंग अवस्थामा भेटियो।
ओपिडीमा ताला लगाएर चिकित्सकहरु प्रशासनिक भवनमा गफ चुटिरहेका छन्। सबैले आ–आफनो क्लिनकको बिशेषता बयान गरिरहेका छन्। केही चिकित्सक स्टेथेस्कोप गलामा भिरेर खैनी माडेर खाइरहेका छन्। स्वास्थ्य खबरपत्रिकाको टोली अस्पतालमा पुगको थाहा पाएपछि क्लिनिकतिर निस्केका केही डाक्टर अस्पताल फर्केका थिए।
०००
प्रसूतीको ओपिडी वार्डमा पनि १२ बजे ताला लागेको छ। गर्भवती जाँच गराउनेहरु ढोकामा हेर्दै फर्किरहेका छन्। प्रसुती वार्डको ढोकैमा घाइते कुकुर सुतिरहेको छ। अस्पतालमा आएका गर्भवतीहरु क्लिनिकमा लाइन लागिरहेका छन्।
०००
वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा केहीबेर डुल्दा देखिएका दृष्य हुन् यी। स्थानीयका अनुसार यी नियमित दृष्यहरु हुन्। गाउँबाट स्तरीय उपचार पाउने आशमा आएका बिरामीहरुले सरकारी उक्त अस्पतालमा सेवा पाउँदैनन्। अस्पताल त त्यहाँ जागीर भएका डाक्टरका लागि ‘बिरामी संकलन केन्द्र’ मात्रै भएको छ।
अस्पतालमा दुई घण्टा
उपक्षेत्रीय अस्पतालमा हाल झण्डै ५० जना डाक्टरहरु कार्यरत छन्। सरकारी दरबन्दी, अस्पताल विकास समिति, करार र छात्रवृत्तिका डाक्टरहरुले अस्पतालमा हाजिर गर्दै निजी क्लिनीकमा जागिर खाइरहेका छन्। तीन सय शैया क्षमताको उक्त अस्पतालमा त्यति धेरै चिकित्सक रहँदा पनि बिरामीले उपचार भने पाउन सकेका छैनन्।
नियमअनुसार अस्पतालका चिकित्सकले अनिवार्य रुपमा ८ घण्टा अस्पतालमा सेवा दिनुपर्ने हुन्छ। अस्पतालमा ओपिडी, विभिन्न विभाग, वार्ड, आकस्मिक कक्ष लगायतका सेवामा डाक्टरको ८ घण्टे डियुटी समयको व्यवस्थापन गरिएको हुन्छ। नियम अनुसार सरकारी अस्पतालका आकस्मिक कक्ष बाहेकका डाक्टरहरु बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म अनिवार्य रुपमा सेवारत हुनुपर्छ।
उक्त अस्पतालका केही चिकित्सकहरु बिहान साढे १० बजेसम्म र दिउसो १ बजेपछि निजी क्लिनिकमै व्यस्त रहन्छन्। चिकित्सकहरुले क्लिनिकको बोर्डमा समयतालिका नै लेखेर सरकारी नियमको खुलेआम धज्जी उडाइरहेका छन्। केही चिकित्सकले क्लिनिकमा बिहान ११ बजे र दिउसो साढे १ बजेपछि लेखेका छन्। बाँकी रहेका अन्य सबै चिकित्सकले दिउसो २ बजेपछि क्लिनिकमा जाने बोर्ड क्लिनिकमा टाँसेका छन्। निजी क्लिनिकको बिहानी डिउटी गरेर साढे १० बजेपछि अस्पताल छिरेका डाक्टरले १२ बजेपछि ओपिडी कक्षमा ताला लगाएर निस्किसकेका हुन्छन्। उनीहरु एक घण्टा ओपिडीमा र एक घण्टा अस्पताल प्रशासनमा गफ लगाएर बस्छन्। त्यसपछि आफ्नो क्लिनिकमा जान्छन्। सरकारी अस्पतालमा चिकित्सक नभेटेपछि बिरामीहरु बाध्य भएर निजी क्लिनिकतिर लाग्नुपर्छ।
निमित्त निर्देशक नै ‘टाप’
अस्पतालको यस्तो वेथितीमा अस्पतालका निमित्त निर्देशक डा मो. एनामुल हक सहित सबैजसो चिकित्सकहरु संलग्न छन्। निमित्त निर्देशक डा. हक स्वयं पनि २ बजेपछि नजिकैको क्लिनिकमा पुगिसकेका हुन्छन्। निमित्त निर्देशक भन्छन्, ‘दुईबजेपछि हामी निजी संस्थामा निर्धक्क काम गर्न पाउँछौँ। कुनै पनि कानुनले हामीलाई रोक्दैन।’
सरकारी नियमको धज्जी उडाउँदै डा. हकले बोलेको उक्त कुरामा अस्पतालमा कार्यरत करिब ५० जना डाक्टरहरु एकस्वर छन्। उनीहरुमध्ये सबैजना अस्पताल वरपर रहेका कुनै न कुनै क्लिनीकमा आवद्ध छन्। यहाँसम्मकी एउटै डाक्टरको नाम ३ वटासम्म क्लिनिकमा भेट्न सकिन्छ।
क्लिनिकले घेरिएको अस्पताल
नारायणी उपक्षेत्रीय अस्पताल वरपरको करिब ५ सय मिटर क्षेत्रको अस्पताल रोडमा एक सय भन्दा बढी क्लिनिकहरु सञ्चालनमा छन्। उक्त सडकको दायाँबायाँ हरेक घरमा एकदेखि तीनटासम्म क्लिनिक छन्। यसरी चलेका क्लिनिकहरु धेरै दर्ता समेत नगरिएको पाइएको छ। नियमअनुसार सरकारी अस्पतालको ५ सय मिटर वरिपरी कुनै पनि निजी अस्पताल वा स्वास्थ्य संस्था समेत खोल्न पाँइदैन। तर, नियमविपरीत खुलेका यस्ता क्लिनिकमा चिकित्सकले नै सरकारी अस्पतालबाट बिरामी ल्याएर लुट मच्चाइरहेका छन्। अर्थात् सरकारी अस्पतालमा सेवा नपाउने भएपछि बिरामी क्लिनिक धाउन बाध्य छन्।
बिग्रन्छन् कि बिगारिन्छन् ?
डाक्टरले क्लिनिकमा बिरामी लौजान प्रतिनिधि नै खटाएका छन्। क्लिनिकमा प्रयोग हुने सम्पूर्ण उपकरण सरकारी अस्पतालबाटै लगिन्छन्। हरेक डाक्टरले आफुलाई अब्बल देखाउन सरकारी अस्पतालमा कार्यरत रहेको बोर्ड झुण्ड्याएका छन्। नियतवस अस्पतालका उपकरण बिगारिएका छन्। ल्यावमा सामान्य जाँच गर्न पनि मुश्किल पर्छ। यतिसम्म कि डाक्टरले बाटोमा हिँडिरहेका बिरामीलाई समेत कागजपत्र हेर्दै आफ्ना क्लिनिकमा लैजाने गरेका छन्। दिउसो १ बजे निजी सिद्धार्थ क्लिनीकमा भेटिका डा. पन्नालाल पटेल भन्छन्, ‘धेरै मानिसहरुको निःशुल्क सेवा गरेको छु । मेरो बारेमा नलेख्नुहोस्।’ उनले सरकारी अस्पतालको नाम राखेर क्लिनिकमा बनाइएको बोर्ड समेत तुरुन्तै हटाइहाल्ने बताए। केही समय सिद्धार्थ क्लिनिकमा रहेका बिरामी हेरेपछि उनी पुनः अर्को क्लिनिकतर्फ लागे।
उपचार पाउन भन्दा मर्न सजिलो : बिरामी
नारायणी क्षेत्रीय अस्पताल बिरगन्जमा बारम्बार धाउदा पनि उपचार नपाएपछि बिरामीहरु उपचार पाउन भन्दा मर्न सजिलो भन्न थालिसकेका छन्। सर्लाहीको लालबन्दीबाट छोराको उपचार गराउन आएका जगेश्वर मुखियाले दुई दिन धाउँदा पनि डाक्टर भेट्न नसकेको बताए। छोरा मधुको पेट दुखेर दुब्लाउदै गएपछि उपचार गर्न क्षेत्रीय अस्पताल आएका हुन्। चैत १ गते ११ बजे अस्पताल पुगेका थिए।
‘अस्पताल पुग्दा टिकट काउन्टर पनि बन्द भइसकेको रहेछ,’ अस्पतालको मुल गेटमा भेटिएका मुखियाले भने, ‘आज दुई गते आउँदा पनि टिकट पाइनँ।’ उपचार गराउन लालबन्दीबाट बिरगञ्ज आउन मात्रै तीन सय ५० खर्च हुन्छ। निजी अस्पतालमा उपचार गराउन आर्थिक हैसियत कमजोर भएका उनले सरकारी अस्पतालमा उपचार पाउन नसकेको पीडालाई सुनाए। ‘डाक्टर भेट्नै सकिदैन, तीन सय ५० रुपैया भाडा तिरेर आयौं,’ उनले भने, ‘तर, अस्पताल आउदा टिकट नै पाइदैन।’
उनी जस्तै पर्साको बिरुवागुढी १ बाट उपचार गराउन आएका पञ्चलाल थिङले चार दिन धाउँदा पनि उपचार नपाएको बताए। पहिलो दिन आउदा टिकट पाए। ‘डाक्टर आफ्नै क्लिनिकमा गइसकेछ,’ उनले भने, ‘हिजो(चैत १ गते) खाना खाएर आएको थिएँ। हँुदैन भनेर फर्कायो,’ उनले भने, ‘तेस्रो दिन डाक्टर भेटाए। एक्सरे गर्न भन्यो। तीन बजे रिपोर्ट आयो। डाक्टर अस्पतालबाट गइसकेछ,’ उनले भने, ‘आज दुई गते रिपोर्ट देखाउन आएको थिए। डाक्टर गइसकेछ।’ एक सय २० रुपैया तिरेर अस्पताल आएका थिए।
हाजिर सरकारीमा, काम निजीमा गर्ने डाक्टहरु
सरकारी दरवन्दीमा कार्यरत डा. मो. एनामुल हक, डा. अरुण कुमार झा, डा शोभेन्द्र कुमार, डा अतुलेश कुमार, डा. रविन्द्रकुमार ठाकुर, डा. अरुणकुमार सिंह, डा. पन्नालाल प्रसाद, डा. सुरेन्द्रप्रसाद चौधरी, डा. बिजयराज खनाल, डा. विनर प्रधान, डा. सुशिल कुमार, डा. मुकेश अग्रवाल, डा. बीरेन्द्र बहादुर, डा. खालिद हसन, डा. राजदेव प्रसाद, डा. रामाशिष ठाकुर, डा. चितरन्जन कुमार, डा. झरिलाल प्रसाद, डा. मोनिका यादव, डा. सरोज कुमार सिंह र डा. निलम चौरसिया निजी क्लिनिक सन्चालन गरेका छन्।
यसैगरी करारमा कार्यरत डा. संजय कुमार, डा. दिलिप कुमार, डा. ममता चौकिकार, डा. नागमनी राम, डा. अभिषेख अर्याल, डा. तेजप्रकाश साह, डा. सोनी झा र विकास समिति अन्तर्गत रहेका डा. मनोजकुमार गुप्ता, डा. निरजकुमार सिंह, डा. सचिनान्द यादव, डा. रामकिशोर सिंह, डा. पन्नालाल प्रसाद पटेल, डा. रोसन आले, डा. भोला पछार, डा अशोक कुशवा, डा. बिमला महर्जन, डा. राकेशकुमार शाह, डा. मनोज कुमार, डा. लक्ष्मी थापा र डा. अजित कुमार शाह निजी क्लिनिक सन्चालन गरेका छन्।
दुई बजे नै निजीमा जानु गैरकानुनी : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख डा. जिडी ठाकुर सरकारी अस्पतालमा काम गर्ने डाक्टरले दुई बजे अस्पताल छाडेर निजीमा सेवा गर्नु गैरकानुनी रहेको बताउँछन्। उनले सरकारी सेवामा रहेका डाक्टरले ८ घण्टा अनिवार्य काम गर्नुपर्ने र नगरेमा नियमअनुसार कारवाहीमा पर्ने बताए।
‘कुनै पनि सरकारी डाक्टरले कार्यालय समयमा निजी क्लिनिकमा गएर काम गर्न पाउँदैनन्,’ उनले भने, ‘८ घण्टको डियुटी समयमा रहेका सरकारी डाक्टरले उक्त समयमा निजी संस्थामा गएमा त्यो गैरकानुनी हुन्छ र उनीहरु कारवाहीको दायरामा आउँछन्।’
उनले दिउसो २ बजे निजीमा भेटिन्छु भनेर बोर्डमा समय लेख्नु सरासर कानुन विपरित रहेको बताए। डा. ठाकुरले सरकारी डाक्टरले सरकारी अस्पतालको नाम झुण्डाएर क्लिनिकमा लेख्न समेत नपाइने जानकारी दिए।