बिबिसी - भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र ८९ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सेप्टेम्बरपछि एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो नै पहिलो पटक हो।
यो सँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २ सय ६० पुगेको छ। जसमध्ये ६ लाख ५८ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामै भारतमा ७ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ लाख ६४ हजार १ सय १० पुगेको छ।
हालसम्म १ करोड १५ लाख ६९ हजार २ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। भारतमा हालसम्म ७ करोड ३० लाख ५४ हजार २ सय ९५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।