काठमाडौं– भारतले तत्कालका लागि कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।
पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउनेको संख्या बढेको भन्दै भारतले अरू देशलाई भ्याक्सिन निर्यात नगर्ने भारततीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतको अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै निर्यात नहुने भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्।
तर भारत सरकार वा भारतमा खोप बनाउने कम्पनी सेरम इन्स्टिच्युटले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन्।
भारतमा आगामी अप्रिलदेखि ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ।
कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले आउँदा सातामा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन्।
भारतको खोप निर्माता सेरम इन्स्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाइ गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन्।
भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रमा ६ करोड खोप उपलब्ध गराइसकेको बताएको छ।
भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ।
नेपालमा पनि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन प्रयोग भइरहेको छ।