काठमाडाैं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वदेशमै निर्मित कोरोना भाइरसविरुद्धकाे खोप लगाएका छन्। मंगलबार पुटिनले रुसमै बनाएको खोप लगाएको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिएका हुन्।
तर, राष्ट्रपति पुटिनलाई रूसमै बनाइएकाे तीनवटा मध्ये कुन खोप लगाइएको हो त्यो पुष्टि गरिएकाे छैन। रुस विश्वमै सबैभन्दा पहिले खोप प्रयोगका लागि ‘स्पुतनिक भि’ स्वीकृति दिने राष्ट्र हो। यसपछि ‘एपीभ्याककोरोना’ र ‘कोभिभ्याक’लाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो।
‘राष्ट्रपतिले खोप लगाउनु भएको छ। उहाँलाई त्यस्ताे केही असर देखा परेकाे छैन। भोलिबाट उहाँ पुरा काममा फर्कनु हुनेछ,’ पेस्कोभले भनेका छन्। पुटिनले खोप लगाएको तस्वीर तथा भिडियाे भने हालसम्म सार्वजनिक गरिएकाे छैन।
‘उहाँकाे वचनमा पक्का छ। राष्ट्रपतिले भ्याक्सिनलाई लोकप्रिय बनाउन धेरै काम गरिसक्नु भएकाे छ। तर, क्यामेरामा कैद गरेर खोप लिन उहाँले मन पराउनुहुन्न. त्यसैले तस्वीर र भिडियाे सार्वजनिक गरेनाैं,’ पेस्कोभले भने।
पुटिनलाई क्यामेरा माेह छैन भन्नुमा कुनै सत्यता भने छैन। याेभन्दा अगाडि पुटिनले साइबेरियामा ग्रीष्मयाममा क्यामेरा लगाए बरफको चिसो पोखरीमा पाैडी खेलेकाे भिडियाे सार्वजनिक भएकाे थियाे।