काठमाडौं– जन्मेदेखि २८ दिनसम्मका शिशुहरूलाई नवजात शिशु भनिन्छ। शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिएको हुन्छ। त्यसैगरी पहिलो घन्टा पनि शिशु र सुत्केरी आमाको लागि महत्वपूर्ण हुन्छ। त्यसैले शिशु जन्मेको पहिलो घन्टाभित्र दिईने स्याहार र त्यही समयमा सुत्केरी आमालाई दिईने स्याहार शिशुको बाँच्ने सम्भावना र स्वस्थ्य जीवनका जीवन मुख्य आधारहरु हुन्।
अत्यावश्यक स्याहारको अभावमा हजारौं नवजात शिशुहरु संक्रमणको शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुन्छ।
मृत्यु हुने मध्ये आधा भन्दा धेरै नवजात शिशुको मृत्यु २४ घण्टा भित्रै हुने गर्दछ।
नवजात शिशुको मृत्यु हुने प्रमुख कारणहरु यी हुन्
–संक्रमण हुनु,
–९ महिना अवधि नपुगी जन्म हुनु,
–जन्मदा कम तौलको हुनु,
–जन्मदा सास नफेर्नु वा नरुनु,
–जन्मजात विकृति वा अन्य कारणहरु देखिनु।
नवजात शिशुका लागि अत्यावश्यक स्याहारहरु सुनिश्चत गर्नका लागि दक्ष स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्छ। स्वास्थ्यकर्मीले प्रसूती गराउदा शिशु जन्मिने वित्तिकै देखिने यस्ता समस्याहरुको समयमै उपचार गर्न सकिन्छ। जसले गर्दा शिशुको मृत्यु हुने जोखिम कम हुन्छ।
नवजात शिशुलाई गर्नपर्ने मुख्य ५ स्याहारहरु
जन्मनसाथ नरम, सफा र सुख्खा कपडाले बेरी न्यानो पारेर राख्नुप पर्दछ
शिशु जन्मने वित्तकै आमाको पेटमाथि रहेको नरम, सफा र सुख्खा कपडामा राख्नुपर्दछ । शिशुलाई त्यही नरम, सफा र सुख्खा कपडाले पुछ्नुपर्दछ। अर्को कपडाले बेरेर आमाको पेटमाथि राख्नुपर्छ।
आमाको नाङ्गो छातीमा टाँसेर न्यारो पारी राख्नुपर्छ
नवजात शिशुलाई आमाको नाङ्गो छातीमा सजिलो हुनेगरी दुई स्तनको बीचमा टाँसेर राख्नुपर्छ। नवजात शिशु र आमालाई न्यानो कपडा ओढाई दिनुपर्छ। नवजात शिशुको टाउँको र खुट्टा नरम कपडाले छोपिदिनु पर्छ।
जन्मेको एक घण्टाभित्रै विगौती दूध खुवाउनुपर्छ
नवजात शिशुलाई सकेसम्म छिटो अर्थात शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुपर्छ। शिशुलाई आमाको पहिलो विगौती दुध खुवाउनै पर्दछ। विगौती दूधमा शिशुका लागि अति आवश्यक पर्ने पोषक तत्वहरु हुन्छ।
शिशुको नाभि काटिसकेपछि संक्रमणबाट बचाउन नाभि मलम लगाउने
शिशुको नाभि काटिसकेपछि संक्रमणबाट बचाउन नाभि मलम लगाउनुपर्छ। नाभि मलमको ट्युव खोलेर पुरै मलम नाभिको टुप्पोमा निचोर्नुपर्छ र नाभि मलमलाई चार औंलाले नाभिको टुप्पो र नाभि वरिपरी विस्तारै लगाउनुपर्छ। नाभि मलम लगाईसकेपछि ३ देखि ५ मिनेटसम्म खुल्ला राखेर सुक्न दिनुपर्दछ।
शिशुलाई जन्मेको २४ घण्टासम्म नुहाईदिनु हुँदैन
नवजात शिशुलाई जन्मिएको २४ घण्टासम्म नुहाईदिनु हुँदैन। शिशुलाई जन्मिने वित्तिकै नुहाईदिदा शिताग हुने सम्भावना हुन्छ। यस्तै २४ घण्टा पछि पनि शरीरको भागमा पालो पालो गरी मनतातो पानी र नरम सफा कपडाले पुछेर सफा राख्न सकिन्छ।