नयाँदिल्ली- भारतमा एकै दिन २६ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र २६ हजार २ सय ९१ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १३ लाख पुगेको छ।
गत २४ घण्टामै १ सय १८ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ५८ हजार ७ सय २५ पुगेको छ। हाल त्यहाँ २ लाख १९ हजार २ सय ६२ सक्रिय संक्रमित छन्।
गत २४ घण्टामै १७ हजार ४ सय ५५ जना उपचारपछि निको भएका छन्। नयाँ भेटिएका संक्रमितको आधा संख्या कोरोनाको हटस्पट मानिएको महाराष्ट्रको पश्चिमी राज्यमा छन्। जनस्वास्थ्यका मापदण्डको न्यून पालनासँगै भारतमा कोरोनाको संख्यामा पुनः वृद्धि भएको हो।
सन् २०२१ को सुरुवातमा संक्रमितको संख्या घट्दै गएपनि हाल पुनः बढ्न थालेको छ। केरला, पञ्जाब, कर्नाटाका, गुजरात, तामिलनाडु, हरियाणा र मध्य प्रदेशले पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको बताएका छन्।
पब्लिक हेल्थ फाउण्डेशनका अध्यक्ष डा श्रीनाथ रेड्डीले भने, ‘अवस्था यस्तो होला भन्ने मैले अपेक्षा गरेको थिइन। तर म आश्चजनक पनि छैन।’
अवस्था कतिसम्म जटिल बन्दै जान्छ, अहिले नै अनुमान लगाउन नसकिने उनी बताउँछन्। मानिसहरुले अहिले मास्कको समेत प्रयोग गर्न छाडिसकेको उनले बताए।
कार्यालय, रेष्टुरेन्ट, सभा सम्मेलन र सिनेमा जस्ता इनडोर स्थान भारतमा खुलिसकेको छ। त्यसैले पनि मानिसहरु बिना मास्क एकै ठाउँमा भेला तथा सम्मेलन हुने गरेका छन्।
महाराष्ट्र राज्यका कोभिड टास्क फोर्सका सदस्य डा संजय ओकले मास्कको न्यून प्रयोग, सामाजिक दूरीको कायम नगर्नु, परीक्षण कम तथा प्रभावकारी ट्रेसिङ नहुँदा संक्रमण बढेको बताए।
महाराष्ट्रको नागपुरमा धेरै संक्रमित संक्रमित रहेको भन्दै भारतीय सरकारले उक्त जिल्लामा लकडाउन गरेको छ। अन्य जिल्लाहरुले भने प्रतिबन्धको पालना गरेका छन्। उनीहरुले रातमा कफ्यु लगाउनेदेखि बजार बन्द समेत गरेका छन्।