काठमाडाैं- युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफाेर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत फेला नपारेकाे प्रस्टीकरण दिएकाे छ।
त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसकाे भनाइ छ। डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि सो निकायले स्पष्टीकरण दिएको हो।
ती देशहरुमा थोरै सङ्ख्यामा मानिसहरूलाई खोप लिएपछि रगत जमेको विवरण आएसँगै खोप वितरण स्थगित गरिएको थियो। साथै सो खोप लिएपछि इटलीमा एक जना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएको विवरण पनि आएको थियो।
‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्,’ युरोपेली मेडिसिन्स एजेन्सी (इएमए)ले बिहीवार जनाएको छ, ‘खोपको फाइदा यसका सम्भाव्य जोखिमभन्दा निकै धेरै छ।’
यी मामिलाको थप अनुसन्धान हुँदै गर्दा खोप दिलाउने काम अगाडि बढाइराख्न सकिने उसकाे भनाइ छ। उसका अनुसार पचास लाख युरोपेलीहरूलाई खोप दिँदा करिब ३० वटा यस्ता मामिला देखा परेका छन्।