काठमाडाैं– बेलायतमा हालसम्म काेराेना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या दुई करोड नाघेको छ।
बेलायत सरकारबाट प्रकाशित पछिल्लो तथ्यांकअनुसार बेलायतमा २ करोड ८९ हजार ५ सय ५१ जनाले काेराेना भाइरस खोपको पहिलो डोज पाएका छन्।
त्यस्तै, अहिलेसम्म खोपको दुवै डोज पाउनेहरू पनि ७ लाख ९६ हजार १ सय ३२ छन्।
बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ।
‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन्।
उनले सबैलाई खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन समेत आग्रह गरेका छन्।
बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ। आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ।