‘म्युजिक मेडिसिन पनि त हो नि !’
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजको एनेक्स-१ को सर्जरी वार्डमा भेटिएका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीले उत्साहित हुँदै सुनाए। भण्डारी लिभर र प्यान्क्रियाजको सर्जरीबाट फुर्सद मिलाएर संगीतको औषधि उत्पादन गर्छन्।
सानैदेखि हो भण्डारीलाई गीत गाउन मनपर्ने। उनले भने, ‘गीत गाउन त सबैलाई रहर लाग्छ होला तर मलाई भने अलि बढी नै रहर जागेछ।’ त्यहि भएर त उनले अहिलेसम्म तीनवटा गीत रेकर्ड गराइसके। अन्य गीतको कभर पनि औंलामा गन्न सकिनेजति गाइसकेका छन्।
चिकित्सकको जिन्दगी। बिहान उठेदेखि नै दौडधुप हुन्छ। उनी बिहान र बेलुकाको समयमा अन्य निजी अस्पतालमा समेत सेवा प्रदान गर्ने भएकाले दैनिकी झनै व्यस्त छ। यही व्यस्त दैनिकीलाई अस्तव्यस्त हुनबाट जोगाउन संगीतले ठूलो भूमिका खेलेको उनको अनुभव छ।
भण्डारी भन्छन्, ‘बिहान घरबाट निस्किएपछि एक्कैचोटी बेलुकी मात्रै घर पुग्छु। छोरा सानो छ, मौका मिले एकछिन खेल्छु। परिवारसँग केही समय बिताउँछु। आफ्नो क्षेत्रका केही किताब पढ्नुपर्ने भए या आफूलाई अपडेट गर्नुपर्ने कुरा आए त्यो गर्छु। अनि थोरै समय मिल्यो भनेपनि गीतार समाएर गीत गाउन थालिहाल्छु।'
यति धेरै व्यस्तताबीच गीतारको तारमा हात कोतर्दै गीत गाउँदा सम्पूर्ण थकान मेटिने उनले बताए। भने, ‘मानिस हुँ, थकान महशुस हुन्छ, चिन्ता पनि लाग्छ। तर, जब संगीतको सामु पुग्छु, चिन्ता र थकानले साथ छाडिहाल्छन्।’
आफैं गाउने र आफैं रमाउनेबाट उनी कसरी रेकर्डिङसम्म पुगे त भन्ने जिज्ञासामा डाक्टर भण्डारीले भने, ‘सानैदेखि संगीतमा रुची भए पनि यसलाई सबैसामु पुर्याउन भने प्रधामन्त्री केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रह्यो।'
गतवर्ष प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको जटिल शल्यक्रिया उनैले गरेका थिए। सर्जरी पश्चातको १० दिन प्रधानमन्त्रीको बास अस्पतालमै भयो। उनले भने, ‘मोबाइलमा मैले रियाज गर्दा गाएका गीत रेकर्ड गरिएको थियो। ती रेकर्ड प्रधानमन्त्रीलाई सुनाएँ। मोबाइलमा सुनेपछि लाइभ गाउन लगाउनुभयो र उहाँले नै रेकर्डका लागि हौसला प्रदान गर्नुभयो।’
प्रधानमन्त्री ओलीसँगका ती दिन सम्झँदै उनले भने, ‘पार्टीगत राजनीतिको कुरा मलाई थाहा छैन तर उहाँ निकै सकारात्मक मान्छे हुनुहुन्छ।’ मानिसलाई छिट्टै आफ्नो बनाउने क्षमता प्रधानमन्त्रीमा भएको भन्दै उनले भने, ‘प्रधानमन्त्री अस्पताल बसुन्जेल यहाँको वातावरण नै संगीतमय भएको थियो।'
त्यही समयमा नै उनले प्रधानमन्त्री ओलीको कबितालाई संगीतमा ढालेर गाए। उक्त गायकी ओलीलाई मनपर्यो। 'बन्छ नमुना नेपाल' बोलको कविता गीतमा परिणत भएपछि त्यसलाई उनले रेकर्ड गराए। त्यसलाई श्रोताले मन पनि पराए। साथीभाइको मायाले गीत रेकर्ड गर्न भण्डारी थप हौसिए।
उनको गीत रेकर्ड गर्ने रहर भने पहिलेदेखिकै हो। भण्डारीले बिगत सम्झँदै भने, 'धरानमा एमबीबीएस पढ्दा म र मेरो साथी मिलेर गित रेकर्ड गराएका थियौं। चिसो चिसो हावा बोलको गीत त्यो समयमा बिभिन्न एफएमहरुमा बजेको थियो। रेडियोमा बजेको गीत सुनेर रमाइलो त लाग्यो नै, तर यसले पढाइ भने बिगार्यो।' ४ देखि ५ दिनको रेकर्डिङले गर्दा पढाइमा पछि परेपछि उनीहरुले यो काम छाडिदिए र पढाइमै घोत्लिए।
भण्डारीले सानो कक्षा पढ्दाको धमिलो याद पनि सुनाए। उनीहरुलाई संगीत पढाउने शिक्षिका थिइन्। त्यो समयमा प्रतिभाको डबली भन्ने एउटा सांगितिक कार्यक्रममा गीत गाउन पाइन्थ्यो।
शिक्षिकाले प्रतिभाको डबलीमा गीत गाउन भण्डारीलाई नै छनोट गरिन्। ‘जीवन हाम्रो सङ्लो पानी हो’ भन्ने गितलाई दिनरात नभनेर गाउने कोशिस गरे उनले। तर, उनले गीत गाउन भने पाएनन्। कारण उनलाई सम्झना छैन।
पछि रेडियो नेपालमा पनि उनले गीत गाउने अवसर पाएका थिए। तर त्यो अवसरबाट पनि उनि कसरी चुके याद छैन।
भण्डारीले हाँस्दै भने, 'यदि यी दुबै अवसरमा गीत गाएको थिएँ भने, सायद आज व्यावसायिक गायक नै पो बन्थें कि !' मन बुझाउँदै उनले भने, 'भगवानले नै मलाई चिकित्सक बनाउन ती अवसरबाट मोडिदिए होलान्।'
उनले वाद्यवादनमा पनि नयाँ प्रयोग गरिरहे। निकै रहरले बाँसुरी बजाउने प्रयत्न गरे तर सफल भएनन्। उनलाई मनपर्ने बाजा 'माउथ आगर्न'का लागि पनि केही समय खर्चिए तर काम लागेन।
अन्त्यमा गीतारमा भने उनको हात बस्यो। साथीभाइले गीतार बजाएको देखेर उनले आधारभुत तहको गीतार बजाउन सिके। हँसिलो मुहारका भण्डारीले अनुहार थप उज्यालो बनाउँदै भने, 'गीतारका बारे केही थाहा नपाउने मान्छेको अगाडी राम्रै बजाउन जानेको छु भन्नेसम्म पार्नसक्छु।'
संगीतमा मात्रै हैन, खेलकुदमा पनि सक्रिय छन् उनी। भन्छन्, 'हामी धेरै स्ट्रेसमा काम गर्ने मानिस शारिरीक र मानसिक रुपमा स्वस्थ हुन जरुरी छ।' शारिरीक स्वास्थ्यका लागि खेलकुद र मानसिक स्वास्थ्यका लागि संगीतको जोहो गर्नु निकै आवश्यक रहेको प्रष्ट्याए उनले।
सबै मानिससँग २४ घण्टा हुन्छ। भण्डारीसँग पनि त्यहि २४ घण्टा मात्रै छ। तर, उनले हरेक ठाउँ भ्याएका छन्। आखिर कसरी ? हाँस्दै भण्डारीले भने, 'भएको समयमा अरु थप्ने हैन नि, जति छ त्यसलाई ब्यवस्थापन गर्ने हो।'
उनी भने आफ्नो समय ब्यवस्थापन गर्दा पहिलो प्राथमिकता सर्जरीको कामलाई दिन्छन्। त्यो बाहेक टिभी हेर्दैनन्। अनावश्यक साथीभाइसँग समय बिताउँदैनन्। सामाजिक सञ्जाल पनि समाचार हेर्न मात्रै प्रयोग गर्छन्।
रातको १२ बजे सुत्छन् र बिहान ६ बजे उठ्छन्। जम्मा ६ घण्टा सुत्दा पर्याप्त पुग्छ उनलाई। भण्डारीले भने, 'सबैलाई ६ घण्टा मात्रै सुतेर नपुग्न सक्छ। शारीरिक बनोट र काम हेरेर पनि कति समय सुत्न जरुरी छ भन्ने कुरा थाहा पाउन सकिन्छ।'
घरमा थाकेर पुग्दा आफूलाई रमाइलो लाग्ने काम गर्दा झनै इनर्जी आउँछ उनलाई। भण्डारीले भने, 'मलाई संगीतले आनन्दित तुल्याउँछ। बाटोमा जाँदा गाडीमा गीत सुन्दै हिड्छु। घर पुग्दा फ्रेस हुन्छु।'
भण्डारी व्यावसायिक सफलता हासिल गर्न गायक बनेका हैनन्। उनी सोख र रहरले बनेका गायक हुन्। यसरी सोखले गायक बन्दा व्यावसायिक गायकलाई प्रभाव पार्ने कुरामा उनले हाँस्दै भने, 'रोनाल्डोसँग भर्खर खुट्टा उचाल्न थालेको मान्छे भिड्न कहाँ सक्छ र!'
त्यसो भन्दैमा संगीत क्षेत्रलाई अन्याय गर्न भने नहुने उनको बुझाई छ। अहिले भाइरल भएका ब्यक्तिले गीत गाउने चलन छ। यसबारे उनी बोल्न नचाहे पनि छोटकरीमा उनले भने, 'राम्रा संगीत औषधि हुन् भने नराम्रा बिष। आफूले औषधी सेवन गर्ने कि बिष, छुट्याउने जिम्मा श्रोताकै हो।'
अझै जोड दिँदै भण्डारीले भने, 'हावा सबैको हो तैंले सास फेर्न पाउँछस्, तैंले पाउँदैनस् भन्ने अधिकार कसैलाई छैन। सबैले सास फेर्न पाउनुपर्छ।'
हालै सार्वजनिक भएको निलो आकाश बोलको गीत भने डाक्टर भण्डारी आफैले लेखेका हुन्। गीत रचना गर्दाको क्षण सम्झँदै उनले भने, 'केही शब्द जम्मा पारेर श्रीमतीलाई सुनाएँ, उनले राम्रो लाग्यो भनेपछि अरु शब्द जम्मा पारेर गीतको आकार दिएको हुँ।'
भण्डारीलाई आख्यान र गैरआख्यानका किताब पनि पढ्ने रहर छ। तर, अहिलेसम्म चिकित्साशास्त्रका किताब बाहेक अरु किताबमा नजर लगाउन पाएका छैनन्। त्यसैले आफ्ना क्षेत्र बाहेकका किताव पढ्ने समय बुढेसकाललाई साँचेका छन्। भने, 'सबै काम अहिले मात्रै सकेर पनि त भएन, भविष्यका लागि साँच्नुपर्यो नि!'