काठमाडौं - नेपाल फार्मेसी परिषदले नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन फार्मेसी व्यवसायीहरुलाई अनुरोध गरेको छ।
परिषदले शुक्रबार सूचना जारी गरी आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन भनेको हो।
सूचनामा भनिएको छ, ‘नेपाल फार्मेसी परिषद नियमावली २०५९ परिच्छेद–७ नियम ७.३ को प्रयोजनको लागि परिषदमा दर्ता भएका फार्मेसी व्यवसायीहरुले नियम ७.४ को व्यवस्था बमोजिम अध्यावधिक विवरण उपलब्ध गराउन अनुरोध छ।’
नेपाल फार्मेसी परिषदको नियमावलीले प्रत्येक ३/३ वर्षमा फार्मेसी व्यवसायीहरुको अध्यावधिक विवरण राख्नुपर्ने भनेको छ।
दर्ता भएका व्यवसायीहरु तीन वर्षभित्र कहाँ, के काम गर्यो भन्ने सम्बन्धी रेकर्ड राख्नुपर्ने परिषदका रजिष्ट्रार संजिव कुमार पाण्डेयले बताए। यो सँगै नाम दर्ता प्रमाणपत्र अध्यावधिक हुनुपर्ने र ती सूची सार्वजनिक समेत गर्नुपर्ने उनले बताए।
विवरण उपलब्ध नगराउने फर्मासिस्टले नाम सूचीमा समावेश नगर्ने अधिकार समेत नियमावलीले दिएको छ। यो सूचीमा नाम समावेश नहुने फार्मेसी व्यवसायीहरुले लोक सेवा, पसल दर्ता अन्य कुनै काम गर्दा सहज नहुने रजिष्ट्रार पाण्डेयले बताए।
उनले भने, ‘जुन फार्मेसी व्यवसायीले नाम उपलब्ध गराउँदैन उनीहरुको नाम सूचीमा समावेश नगर्ने अधिकार नियमावलीले दिएको छ। सूचीमा नाम समावेश नहुनु भनेको उनीहरु अपडेट छैनन्। यसको अर्थ भोली विभिन्न काम गर्दा उनीहरुलाई सहज हुँदैन।’