लन्डन- बेलायतका दशौं हजार नर्सहरूले अझै कोभिड-१९ विरूद्धको पहिलो चरणको खोप लगाउन नपाएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले उल्लेख गरेको छ।
रोयल कलेज अफ नर्सिङ (आरसिएन) द्वारा २४ हजार ३७० जना नर्समा गरिएको सर्भेक्षणमा अहिलेसम्म ८५ प्रतिशत नर्सले मात्र खोप लगाएको देखिएको हो।
कोभिडविरूद्ध अग्रपंक्तिमा खटिने मुख्य चार समूहका १५ लाख बेलायती (स्वास्थ्यकर्मी आदि) लाई खोप लगाउने घोषणा गरेको सरकारले आगामी फेब्रुअरी १५ सम्ममा यी सबैलाई प्रथम चरणको खोप लगाइसक्नुपर्नेमा घोषणाअनुरूप सरकार यस कार्यमा सफल नभएको समाचारमा जनाइएको छ।
‘हामीले गरेको सर्भेमा हजारौं नर्सहरू अझै पनि कोभिडविरूद्धको खोपबाट वञ्चित छन्, जुन आफैंमा डरलाग्दो तथ्यांक हो,’ आरसिएनकी प्रमुख कार्यकारी तथा महासचिव डोन्ना किन्नायरले जानकारी दिइन्।