मस्कट- भारतले खाडी मुलुक ओमानलाई कोरोना भाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ। भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोना विरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवा लगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताए।
अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी भइरहेको पनि उनले जानकारी दिए। भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मङ्गोलिया लगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ।
'यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोग स्वरुप प्रदान गरिएको छ,' उनले भने।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताएका छन्।
रासस