बिहानै उठ्यो, कहिले खाना खायो, कहिले खाना पनि काम गर्ने ठाउँतिरै खाने गरी दौडियो। दिनभरि ढल, इँटा, बालुवा, माटोसँग खेल्यो साँझ धुस्रेफुस्रे भएर घर फर्कियो। यस्तै छ, सिन्धुलीका दीपक तामाङको दैनिकी।
१८ वर्षीय दीपक विगत २ वर्षदेखि निर्माणको काममा सक्रिय छन्। कहिले घर निर्माणको काममा ज्यामी काम गर्छन्। कहिले सडक त कहिले ढल। गरिबीसँगै हुर्किएका उनीसँग सानै उमेरमा दुःखका ठूला पहाड छन्।
एकातिर किशोर उमेर अर्कोतर्फ पारिवारिक बाध्यता। न भनेजस्तो खान पाउँछन्, न त रहरहरु पूरा नै गर्न सक्छन्। सक्छन् त केबल हरेक दिन श्रममा खटिन। आर्थिक अवस्था कमजोर भएका कारण उनी बिरामी पर्दा समेत सिटामोल खाएर भए पनि काममा खटिन बाध्य छन्।
भन्छन्, ‘यो सहरमा हरेक दिन काम पाउन मुस्किल छ। कहिलेकाहीँ त ज्वरो आएको दिन काम पर्छ। त्यो समयमा सिटामोल खाएर भए पनि काम गर्न जान्छु। के गर्ने नत्र खान पुग्दैन। ज्यानलाई केही सास्ती दिएरै भए पनि खर्च जुटाइरहेको छु।’
अहिलेसम्म ठूलो समस्या वा रोग लागेर थला नै पर्ने गरी बिरामी परेका छैनन् उनी। भन्छन्, ‘अन्नपानीको शरीर न हो, भोलि केही समस्या पर्यो भने? पैसा नहुँदा उपचार पाइँदैन यो सहरमा। त्यसैले डर पनि लाग्छ। ठूलै बिरामी परियो भने कसरी उपचार गराउने होला भनेर सोच्न पनि सकेको छैन। हामीले किन्न सक्ने त त्यही सिटामोल मात्र न हो।’
टाउको दुखोस् वा ज्वरो आओस्, अथवा ज्यान नै दुखोस्, उनको एउटै औषधि हो– सिटामोल। ‘मैले किन्न सक्ने औषधि भनेको त्यही सिटामोल हो। त्यही किन्छु, खान्छु अनि काममा निस्कन्छु,’ उनी भन्छन्, ‘बिरामी हुँदा पनि आराम गरेर घर बस्ने अवस्था छैन। त्यही भएर आफ्नो ज्यानले धानेसम्म काममा खटिन्छु।’
यसरी बिरामी शरीर लिएर काममा खट्दा पनि खान–लगाउन मुस्किल हुने गरेको उनी सुनाउँछन्। देशमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि गरिबका लागि केही नभएको उनको गुनासो छ। भन्छन्, ‘बिरामी पर्दा हेर्ने सरकार छैन, भोक लाग्दा खाना दिन्छ भनेर सरकारको भरोसा छैन। त्यही भएर देशमा परिवर्तन भयो भनेर के गर्नु ? हाम्रो दुःख हामीसँगै छ।’
ज्यामी काममा खटिएवापत दीपकले दैनिक १ हजार रुपैयाँ कमाइ गर्छन्। तर काम नियमित पाउन गाह्रो छ। काम गरेको दिन कमाएको त्यही एक हजारले नै उनले त्यो दिनको खाना, खाजा सबै खानुपर्छ। ‘काम गर्ने ठाँउमा खाजा र खानाको व्यवस्था भए पनि त केही रकम जोगिन्थ्यो नि,’ उनी भन्छन्। काठमाडौंको महँगो बसाइ, गाडी भाडा, कोठा भाडा खर्चका धेरै शीर्षक छन् उनीसँग। तर कमाइको शीर्षक भने दैनिक टुंगो छैन।
‘जे सामानको मूल्य पनि आकाशिएको छ। दिनभरि काम गर्दा पनि पैसा बचाउन सक्ने अवस्था छैन,’ ढलको काम गर्दै गरेका दीपकले सुनाए।
गरिबीको चपेटामा पिल्सिएका उनी आमाबुबासँग बसेर ढुक्कले पढ्ने अवस्था नभएपछि काठमाडौं छिरेका हुन्। गाउँमा आमाबुबासँग बसेर टन्न एकछाक खान पनि सोच्नुपर्ने अवस्था थियो। बिहानको छाक टारे बेलुका के खाने भन्ने समस्या परिवारमा थियो। जसले गर्दा उनी सानै उमेरदेखि आफ्नो पेट पाल्न आफैँ काममा खट्न थालेका हुन्।
पेट भर्न सिन्धुलीबाट काठमाडौं छिरेका उनी झट्ट हेर्दा बल्ल १४/१५ वर्ष टेकेको किशोरजस्तै देखिन्छन्। अझ २ वर्ष अगाडिसम्म उनलाई ज्यामी काम गर्न सक्छ भनेर कसैले पत्याउँदैनथे। कतिपयले त बालश्रम नगराउने भन्दै फर्काइदिन्थे। हुन पनि उनी सानै थिए। त्यो उनको काम खोज्न हिँड्ने उमेर थिएन।
तर, बाध्यताले कहाँ सानो–ठूलो भन्दोरहेछ र ? उनलाई सकिनसकी पनि काम गर्नु थियो। जसरी हुन्छ बाँच्नु थियो।
दीपक भन्छन्– ‘हामी गरिबले किताबको झोला रोजेर नहुने रहेछ। एक पटक पढ्छु भनेर सोचेको पनि हो। तर घरको दुःख सम्झिएँ अनि ज्याला–मजदूरी गर्न थालेँ।’
गरिब हुनु त्यसमाथि सानु हुनु साह्रै गाह्रो रहेछ। उनलाई त्यस्तै भयो। काम गरेर खान्छुभन्दा पनि काम पाउनै मुस्किल। ‘तिमी काम गर्न सक्दैनौ जाऊ’ रोजगारदाताले उनलाई यसै भनेर फर्काउँथे। तर रोजगारदाताले भनेजस्तो काम गर्न सक्दिनँ भनेर बस्ने बेला थिएन। उनलाई जसरी हुन्छ काम गरेर बाँच्नु थियो। ‘आज काम हेर्नूस्, सकेँ भने लगाउनूस् सकिनँ भने फर्काइदिनूस्’ धेरैतिरबाट फर्किनुपरेपछि एक ठेकेदारसँग उनले यसै भने।
काम पनि उनले अरुले जस्तै गरे। सक्दो जाँगर देखाए। त्यो बेला १६ वर्षका थिए उनी। उनलाई ठेकेदारले पत्याए। ‘मलाई पनि काम खोज्न जाने रहर कहाँ थियो ? म पनि अरु जस्तै पढ्न, खेल्न, साथीहरुसँग डुल्न जाने बेला थियो तर हैसियत कहाँ थियो,’ बोल्दा उनका ओठ कापिरहेका थिए।
त्यसपछि उनी ढल मर्मत तथा सफा गर्ने काम गर्न थाले। सुरुमा त उनलाई ढलको काम गर्न साह्रै घिन लाग्थ्यो। हातखुट्टा चिलाउँथ्यो।
‘गाउँमा कहिल्यै नदेखेको/नगरेको ढलको काम थियो तर जस्तो काम भए पनि गर्न सक्छु भनेर थालेको थिएँ। सक्ने जति काम गरेँ,’ बेल्चाले बालुवा उघाउँदै दीपकले सुनाए।
ढलभित्र पसेर काम गर्दा रोजगारदाताले पन्जा र बुट उपलब्ध गराउँछन्। तर कहिलेकाहीँ फुटेको पन्जा, बुट पर्यो भने ढल हातखुट्टाभरि हुन्छ। हातखुट्टा चिलाउँछ। ढलबाहेक इँटा, बालुवा, माटो बोक्ने/खन्ने लगायत काम गर्दा त पञ्जा, बुट जस्ता कार्यस्थल स्वास्थ्य सुरक्षाका केही सामग्री पनि पाउँदैनन्। यसै काममा खटनुपर्छ।
रोजगारदाताले कार्यस्थलमा खटिने श्रमिकको स्वास्थ्य सुरक्षा अनिवार्य उपलब्ध गराउनु पर्छ। तर दीपकले मात्र होइन यस्ता काम गर्ने अधिकांशले त्यस्तो सुरक्षा पाएका छैनन्।
०००
गाउँकै सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै लामा पढ्न भारत पुगेका उनी परिवारको अवस्था सम्झेर त्यहाँबाट पनि फर्किएका थिए।
‘खास मलाई स्कुल पढ्दापढ्दै लामा पढ्न मन लाग्यो। लामा पढ्दापढ्दै म त गरिब परिवारको मान्छे, आमाबुबा पनि पाल्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘लामा पढेर कसरी पाल्ने त आमाबुबा ? विदेश गएको दाइले पनि पैसा कमाउन सक्नु भएको छैन। अब मेरो परिवारको अवस्था के होला भन्ने सोचेँ। त्यसपछि म फर्किएँ।’
विदेश गएका दाइले पनि पैसा कमाउन नसकेपछि उनले आफैँ काम गरेर गाउँमा आमाबुबालाई पैसा पठाउने सोच बनाएका छन्। तर काम गर्न थालेको २ वर्षसम्म पनि पैसा बचाएर घर पठाउन सकेका छैनन्।