माथीका यी तस्बिर आयुर्वेद चिकित्सालय नरदेवीका हुन्। विगत केही समययता यो अस्पतालको मुहार फेरिएको छ। अस्पतालको भौतिक मुहार मात्र होइन् यसले दिने सेवा समेत फेरिएका छन्। सुधारिएका छन्।
नरदेवी चिकित्सालयलाई नजिकबाट नियाल्नेहरुले भन्न थालेका छन् – ‘छोटो समयमा अस्पतालले सुधारको फड्को मार्न सफल भयो। तर अझै धेरै गर्नै बाँकी छ।’
पुरानो अस्पतालको मुहार फेर्दै जनविश्वास जित्दै अगाडि बढ्न अझै पनि धेरै गर्न बाँकी रहेको बताउँछन् अस्पतालका निर्देशक डा प्रदीप केसी। भन्छन् ‘काम अझै धेरै गर्न बाँकी छ। टिमको साथ र सहयोगका कारण विगतको तुलनामा धेरै हिसाबले अस्पतालको मुहार फेरिएको छ।’
निर्देशक डा केसीले भने झैँ अस्पतालको मुहारमा के के परिवर्तन भयो त?
यसका लागि अस्पतालका विगतका तस्बिरलाई हेरौँ।
तस्बिरमा देखिएका यी दृश्यहरु कुनै घरको होइन न त कुनै होटलको नै हो। निकै फोहोर र भद्रगोल देखिएका यी दृश्य नरदेवी चिकित्सालयकै हो। तर यी दृश्य एक वर्षअघिका हुन्।
नरदेवी चिकित्सालय नेपालको एक मात्र केन्द्रीय आयुर्वेद अस्पताल हाे। तर तीनै अस्पतालका बिरामीलाई खाना बनाएर खुवाइने भान्साको अवस्था भने एक वर्षअघिसम्म यस्तो थियो।
यति मात्र होइन, यी तस्बिर पनि हेर्नुस्। जहाँ फोहोरको ठूलो डुंगुर थिए। लाग्थ्यो, यो कुनै डम्पिङ साइट हो। फोहोर थुप्रिदा सानो तिनो पहाड समेत बनेका थिए।
अब एक वर्षअघिकै अर्को तस्बिर पनि हेरौं। यहाँ तस्बिरमा शौचालय देखाइएको छ। तर ध्यान दिएर हेर्ने हो भने यहाँ कुनै शौचालय छैन, मात्र भित्तामा शौचालय लेखिएको छ।
एक वर्ष अघिका यी तस्बिरले त्यो बेला अस्पताल कति भद्रगोल र अस्तव्यस्त थियो भन्ने पुष्टि गर्छ।
तर अहिले अस्पतालको रुप फेरिएको छ। सेवा फैलिएको छ।
हेरौं अहिलेको तस्बिर
नरदेवी अस्पताल नेपालको एक मात्र केन्द्रीय आयुर्वेदिक अस्पताल हो। तर अस्पतालको भौतिक संरचना र सेवा सुविधा भने त्यो अनुसार विकास हुन सकेको छैन। क्रमश: सेवामा विस्तार भने हुँदै गइरहेको छ।
१८७४ सालमा स्थापना भएको यो अस्पताल करिब १० वर्ष त निमित्त निर्देशकको भरमै सञ्चालन भए। त्यसो त नेतृत्व विहीन अवस्थामा सञ्चालन भएको अस्पताल भन्दा पनि फरक नपर्ला। २०६५ सालदेखि ०७५ सालसम्म निमित्त निर्देशकको भरमै सञ्चालन हुँदा अस्पतालले गति लिन सकेन न त कुनै सेवा विस्तार नै गर्न सक्यो।
२०७६ साल असार १५ गते डा प्रदीप केसी निर्देशकको रुपमा नियुक्त भए। अस्पतालको भद्रगोल र अस्तव्यस्त देख्दा उनी आफैंलाई यो केन्द्रीय अस्पताल हो जस्तो नै लाग्थेन।
उनको भाषामा भन्नुपर्दा नरदेवी अस्पताल त्यो बेला सार्वजनिक क्रिडा स्थल, घनावस्तीमा भएको सार्वजनिक निकाय र चौतर्फी दबाब, अतिक्रमणमा परेको संस्था थियो।
उनी सम्झन्छन्, ‘म निर्देशकको रुपमा यहाँ आउँदा मलाई यो अस्पताल, अस्पताल जस्तो नै लाग्थेन। निकै भद्रगोल र अस्तव्यस्त थियो।’
अस्पतालमा पानी तथा ढलको निकास एकै ठाउँमा हुन्थ्यो। अस्पतालमा जोडिएका तारहरु हिड्दा टाउकोमा छुने गर्थे। रेकर्डको कुनै सिस्टम थिएन। भद्रगोल अवस्थामा रहेको अस्पताललाई व्यवस्थित गर्नु उनको पहिलो जिम्मेवारी र ठुलो चुनौती थियो।
‘अस्पतालमा कुनै सिस्टम थिएन। सबै भद्रगोल थिए’, उनले भने, ‘मलाई सबैभन्दा पहिले आन्तरिक शुद्धिकरणमा जानुपर्छ जस्तो लाग्यो। आन्तरिक कुरा राम्रो नभएसम्म अस्पतालले प्रभावकारी सेवा दिन सक्दैन।’
अस्पतालको आन्तरिक व्यवस्थापन गर्न नै उनलाई एक वर्ष लाग्यो। अस्पतालको सरसफाईबाट उनले आफ्नो पहिलो कदम चाले। किनभने अस्पतालमा फोहोरका डुंगुरको कुनै कमी थिएन। वरपर जोडिएका घरको फोहोर फाल्ने डम्पिङ साइट नै अस्पताल बनेको थियो।
अस्पतालको सफाईसँगै उनी स्वरुप परिवर्तनमा लागे। त्यो बेला अस्पतालमा समयमा एम्बुलेन्स हुन्थेन, एम्बुलेन्सबाट शय्यासम्म लिएर जाने व्यवस्था समेत थिएन।
उनी भन्छन्, ‘बिरामी भर्ना भएपछि आवश्यक पर्ने कुराहरुको पूर्ति गर्दैछौं। लामो समयसम्म बस्ने बिरामीका लागि क्याबिनको पनि व्यवस्था गरेका छौं।’
कोभिडको समयमा बिरामीलाई एकै ठाउँमा राख्दा जोखिम हुने भन्दै क्याबिनको व्यवस्था गरिएको उनले बताए। उक्त क्याबिन शुल्क दिनको एक सय र डेढ सय तोकिएको छ।
पहिले ग्यास्ट्रिक, पेट दुख्ने र जण्डिसको उपचार हुने अस्पतालको रुपमा नरदेवी आयुर्वेद चिकित्सालयलाई चिनिन्थ्यो। तर अहिले विभिन्न दुखाई, ढाडको दुखाई, स्ट्रोकपछि हुने समस्या लगायत नसर्ने रोगका बिरामीहरु बढी आउन थालेका छन्।
अस्पतालले पञ्चकर्म चिकित्सालाई बढी जोड दिएको निर्देशक केसी बताउँछन्। २५ शय्याको हाइ डिपेन्डेसी युनिट ( एचडियु ) सञ्चलन गर्ने अस्पतालको तयारी छ।
आयुर्वेदिक अस्पतालका लागि सरकारले न्यून बजेट निकासा गर्ने गरेको उनले बताए। न्यून बजेट भएका कारण सोचेजति काम गर्न नसकेको उनी सुनाउँछन्। यद्यपि हालसम्म अस्पतालको सुधारमा बजेटको समस्या भने नभएको उनको अनुभव छ।
चालु आर्थिक वर्षका लागि अस्पतालमा ७ करोड ५० लाख बजेट निकासा भएको छ। जसमध्ये साढे ६ करोड कर्मचारीको तलबका लागि खर्च हुन्छ।
अस्पतालमा अझै पनि सिटि स्क्यान, डिजिटल एक्सरेको सुविधा छैन। कर्मचारीहरुको सहयोग र समर्थनका कारण अस्पतालमा केही सुधार भएपनि गर्न सकिएको उनी बताउँछन्।
नेपालमा जब कोरोनाले महामारी लियो, त्यसपछि अस्पतालमा बिरामीको उपचारका लागि पुग्ने बिरामी ह्वात्तै घट्यो। बिरामी आउन निकै कम भएपछि अस्पताल खाली जस्तै भयो। त्यो समयलाई पनि डा केसीले सदुपयोग गर्ने योजना बनाए।
मौसमी रुघाखोकीमा पहिलेदेखि प्रयोग हुँदै आइरहेको १२ वटा जडिबुटीको घटकलाई चिकित्सालयले ‘ज्येष्ठ वाषादी मिश्रण’ को परिमार्जन ग¥यो। खोकी लाग्ने, छाती दुख्ने, नाकबाट पानी बग्ने समस्याको लागि यो औषधि प्रयोग हुन्छ।
मौसमी रुघाखोकीमा प्रयोग हुँदै आइरहेको यो आयुर्वेदिक औषधिलाई कोरोनाको रोकथामका लागि प्रयोग गरिएको उनी बताउँछन्। अस्पतालले तीन महिनामा ५० देखि ७० हजार बढी मानिसलाई यो औषधि निशुल्क वितरण समेत ग¥यो।
कोरोना रोकथामका लागि अग्रसरता देखाएको भन्दै अस्पतालले सरकारबाट कोरोना कोषबाट एक करोड रकम समेत पाएको थियो। जाडो मौसमभर यो औषधि आवश्यक ठाउँमा पूर्ति गरिने निर्देशक केसीले बताए।
उनी भन्छन्, ‘कोरोनाको डर थियो। तर त्यो डरलाई कसरी कम गराउने भन्ने तर्फ हामी लाग्यौं।’
आयुर्वेद शिक्षाको गुणस्तर तर्फ सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ। मेडिकल शिक्षा जस्तो आयुर्वेद शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको उनी बताउँछन्।
निर्देशक केसीका अनुसार आयुर्वेद क्षेत्र पछाडी पर्नुमा तीन कारणहरु छन् :
१. योजना छैन।
२. एकता छैन।
३. सम्बन्धित निकायबीच समन्वय छैन।
‘उत्पादनका लागि वैद्यखाना छ। अनुसन्धानका लागि अनुसन्धान तथा तालिम केन्द्र छ। नियमनका लागि विभाग छ। काउन्सिल छ, नरदेवी अस्पताल छ। विभिन्न ठाउँमा औषधालयहरु छन्। तर यी संस्थाबीच योजना, संवाद र समन्व छैन।’ उनले भने।
विशेष योजना नहुँदा नै आयुर्वेद क्षेत्रमा लगानी र बजेट बढ्न नसकेको उनी बताउँछन्।
‘आयुर्वेदमा लगानी के को लागि गर्ने भन्नको लागि योजना चाहिन्छ’, उनी भन्छन्, ‘मैले अहिले १० करोड पाए भने बिना योजना कहाँ खर्च गर्ने ?’
आयुर्वेद शिक्षाको गुणस्तरमा सुधार हुन नसक्दा, नियमन र अनुगमन गर्ने निकाय कमजोर हुँदा आयुर्वेद क्षेत्र ओझेलमा परेको उनको अनुभव छ।
आयुर्वेद औषधिको प्रभावकारी नियमन नभएसम्म यो क्षेत्रको विकास हुन नसक्ने उनी बताउँछन्।
उनी भन्छन्, ‘औषधिको गुणस्तर र शास्त्रले भने अनुसारको जडिबुटीको प्रयोग भयो/भएन अनुगमन भएको छैन। सबै जना नाफामुखी भएका छन्। तर नियमन हुन सकेन।’