काठमाडौं- कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका तेजबहादुर बिक तीन वर्षको उमेरमा खेल्ने क्रममा जल्न पुगे।
दिमागले सम्झना गर्ने उमेर होइन त्यो। त्यसैले कसरी जल्न पुगे र जल्दाको पीडा अहिले सम्झनामा छैन। घाउ समयसँगै बिसेक भयो। तर त्यो जलनले जिन्दगीमा दिएको पीडा निको हुन समय लाग्यो र लाग्दैछ।
घटना कसरी भयो उनी आफैंलाई थाहा छैन। प्रत्यक्षदर्शी बुवाआमाबाट सुनेको त्यो भयानक क्षण यस्तो छ, 'घरमा मट्टीतेलको भाँडो राखिएको थियो। त्यही छेउमा टुकी बत्ती पनि बालिएको थियो। खेल्दै गर्दा टुकीमा भएको मट्टीतेल उनको शरीरभरी पोखियो र शरीर जल्न पुग्यो।'
उपचार सेवासुविधा भन्दा धेरै परको कालिकोट। त्यसमा पनि जसोतसो गुजारा गरिरहेको एउटा सामान्य परिवार। उनलाई समयमै सही उपचार परिवारले गराउन त सकेन। ज्यान भने जोगायो।
समयमै सही उपचार नपाएपछि तेजको शारीरिक बनावट असामान्य बन्दै गयो। चिउँडो र घाँटी छातिमा जोडियो। दुवै हात चलाउन नमिल्ने भए। मुख बन्द हुँदैनथ्यो। र्याल चुहिरहन्थ्यो। खानेकुरा खान नमिल्ने। खाएका पनि सबै बाहिर खस्थ्यो। यतिसम्मकी निल्न पनि गाह्रो हुन्थ्यो।
‘मलाई हिँड्नै गाह्रो हुन्थ्यो। खाना खान मिल्थेन। आधा भुईमा झर्थ्यो, आधा मात्र मुख हुन्थ्यो,’ उनी सम्झिन्छन्।
सबै जना टाढा-टाढा हुन थालेपछि उनी एक्लै हुन्थे र आफैंलाई प्रश्न गर्थे, ‘म किन यस्तो भएँ? कसरी भएँ? मेरो भाग्य नै यही हो त?’
वरपर छर छिमेकका साथीहरु खेल्ने कुद्ने गर्थे। उफ्रिन्थे। रमाइलो गर्थे। सायद बालापनको रमाइलो पक्ष भनेकै यही हो, निस्फिक्री आनन्दले खेल्नु। तर त्यो उनका लागि सम्भव थिएन। बालापन त उनको मन कुँडाएर बित्यो। उनी पनि आफ्ना साथीसँग खेल्न चाहन्थे । रमाउन चाहन्थे । विद्यालय जान चाहन्थे। तर यी सबै उनको लागि सम्भव थिएन।
आगोले बिगारेको उनको रुपबाट उनका साथीहरु नजिक आउँदैनथे। डराउँथे। साथीहरु जिस्काउँथे, हियाउँथे। उनी चुपचाप सहन्थे।
‘त्यति खेर म बल्ल स्कुल जान लागेको थिएँ। मेरो मुखबाट र्याल चुहिन्थ्यो,’ उनी धुमिल स्मृति सुनाउँछन्, ‘स्कुलमा मलाई सबैले मलाई जिस्काउँथे। म नजिक जाँदा सबै जना भाग्थे।’
आफूसँग सबै जना डराउन थालेपछि उनी घरभित्रै बस्न थाले। बाहिरी दुनियाँबाट उनी टाढिदै गए र विस्तारै अन्जान हुँदै गए। उनी भन्छन्, ‘सबै जना म देखेर डराउन थालेपछि म बाहिरै निस्कन छाडें।’
जीवनको उज्यालो खोसेको परिबन्दले संसारको उज्यालोबाट पनि उनलाई पर-पर लैजान थाल्यो।
खेल्ने कुद्ने उमेरमा छोरा घरभित्रै लुकेर बस्दा आमाबुवाको मन चिन्ताले भतभति पोल्थ्यो। कहाँ कसरी छोराको उपचार हुन्छ भनेर खोजी नगरेको पनि होइनन्। तर बिना पैसा उपचार कसरी हुन्थ्यो र ? छोरोको अवस्था देखेर उनको आमा बुवा नरोएको कुनै दिन थिएन।
‘मेरो छोराले कसरी खान्छ ? कसरी जीवन जीउँछ ? किन यस्तो भयो ?’ भन्ने प्रश्नले उनको बुवा आमालाई सधै सताइरहन्थ्यो।
त्यो बेला जुम्लामा विभिन्न अस्पतालहरुको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने गर्थे। आर्थिक अवस्था कमजोर भएकै कारण उनको बुवा सज्जने बिकले तेजको उपचार गर्न सकेका थिएनन्।
नि:शुल्क स्वास्थ्य शिविरमै उपचार पाउने आशाले उनको बुवा दिनरात रेडियो सुनिरहन्थे। कहिले निशुल्क शिविरको सूचना आउँछ अनि छोराको उपचार हुन्छ भन्ने आशामै उनको तीन वर्ष बित्यो।
एक दिन सुष्मा कोइराला मेमोरियल अस्पतालले जुम्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ भन्ने सूचना रेडियोमा प्रशारण भयो। त्यो दिन बुवा सज्जनेको खुशीको सीमा रहेन। छोराको उपचारका लागि उनी जुनसुकै मूल्य चुकाउन तयार थिए।
कालिकोटमा अहिले जस्तो यातायातको सुविधा त्यो बेला थिएन। जुम्लाको शिविर पुग्न दुई÷तीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो।
उनी सम्झिन्छन्, 'त्यो बेला बुवाले उनलाई तीन दिन लगाएर भएपनि बोकेर शिविर पुर्याएका थिए।'
‘मेरो बुवा रेडियो मात्र सुनिरहनु हुन्थ्यो। जुम्लामा शिविर जाँदैछ भन्ने बुवाले थाहा पाउनुभयो। बुवाले मलाई तीन दिनसम्म बोकेर भएपनि शिविर लग्नुभएको थियो,’ उनले भने।
शिविरमा उनको परीक्षण भयो। सुष्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सकहरुले उनको उपचार हुने बताए। त्यो बेला तेज र उनको बुवाको खुशीको सीमा रहेन। सुरुमा त उनलाई विश्वास गर्न पनि निकै गाह्रो भयो।
उनी भन्छन्, ‘मेरो उपचार हुन्छ। मुख बन्छ, सामान्य रुपमा हिँड्न सक्नु भनेपछि धेरै खुशी भए। मलाई त हौसला मिले जस्तो पनि भयो।’
त्यसपछि सुरु भयो एउटा 'जिर्णोदार' जिन्दगीको पुन:निर्माण। अर्थात् रिकन्स्ट्रक्टिभ सर्जरी।
शिविरमा परीक्षण भएको हप्ता दिनपछि उनी उपचारका लागि काठमाडौं पुगे। काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उनको उपचार सुरु भयो। उनको उपचार सहज भने थिएन। कयौ पटकको शल्यक्रिया गरेर मात्र उनको जोडिएका अंगहरु छुट्टिन सक्थे।
६ वर्षको उमेरमा तेजको पहिलो शल्यक्रिया सुरु भयो। अस्पतालका तत्कालीन मेडिकल डाइरेक्टर डा एन्ड्रियास सेत्जेको नेतृत्वमा शल्यक्रिया भएको थियो।
त्यसपछि शल्यक्रियाको त सिलसिला नै चल्यो। उनी यो अवस्थासम्म आइपुग्न मल्टिपल सर्जरी अर्थात् धेरै शल्यक्रिया गर्नुपर्यो। आठ पटकसम्मको गरिएको रिकन्स्ट्रक्टिभ सर्जरी (पुनर्निर्माण शल्यक्रिया )ले उनलाई नयाँ जीवन दिएको हो।
जब उनी शल्यक्रियापछि घर पुगे। छोराको फेरिएको रुप देखेपछि उनको आमाबुवालाई विश्वास गर्न नै गाह्रो भयो।
शल्यक्रिया मार्फत जोडिएका अंगहरु छुट्टिएपछि बल्ल उनको जीवन सामान्य बन्दै गयो। बल्ल उनी विद्यालय जान थाले। टाढा भाग्ने साथीहरु नजिक आउन थाले।
उनले भने, ‘मसँग भाग्ने, डराउने साथीहरु नजिक आउन थाले। मैले बल्ल माया पाउन थाले। पढ्न पनि स्कुल साथीसँगै जान थाले।’
उमेरले उनी २५ वर्ष पुगे। अहिले उनको आफ्नै परिवार छ। श्रीमती, एक छोरा र एक छोरी छन्। बाल्यकालमा हराएको उनको खुशी फर्केर आएको छ। उनकै शब्दमा भन्नुपर्दा नयाँ जीवन पाएका छन्।
उनी भन्छन्, ‘पहिलेको दिन सम्झदा र अहिलेको हेर्दा मैले नयाँ जीवन पाएजस्तो लाग्छ। मेरो जीवन यति सहज होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ।’
अहिले उनले १२ कक्षासम्मको अध्ययन पूरा गरेका छन्। अब कुनै जागिर खोजेर पैसा कमाउने उनको सपना छ। तेजको अधिकांस शल्यक्रिया प्लाष्टिक सर्जन डा जसवन शाक्यले गरेका हुन्। उनको सबै शल्यक्रिया सकिन दुई वर्ष लाग्यो।
आगोले पोल्ने बित्तिकै तेजले उपचार पाएनन्। घाउहरु आफैं निको हुँदै गए। घाउ आफैं निको हुँदै जाँदा छालाहरु तन्किएर टाँसिएको डा शाक्य बताउँछन्। उनले भने, ‘यदी तेजले आगोले पोल्ने बित्तिकै उपचार पाएको भए उसको यस्तो अवस्था हुँदैनथ्यो।’
चिकित्सकीय भाषामा तेजको अवस्थालाई ‘पोष्ट बर्न कन्ट्याक्चर' भनिन्छ। डा जसवनका अनुसार आगोले पोलेपछि शरीरका विभिन्न अंग जोडिएका घटनाहरु पहिले धेरै हुने गर्थे। मानिस अहिले सचेतना भएका कारण पोष्ट बर्न कन्ट्याक्चर कम हुने गरेको उनी बताउँछन्।
‘हामीले तेजको रिकन्स्ट्रक्टिभ सर्जरी गरेका हौं। यो अवस्थामा ल्याउन आठ वटा सर्जरी गर्यौं।’ उनले भने, ‘बन्द नहुने मुख बन्द भयो। तन्किएको घाँटी ठिक भयो। काखी जोडिएको थियो, त्यो पनि खुला भयो।’
नेपालमा यस किसिमको जटिल शल्यक्रिया संभव भएको उनले बताए। तेजको सबै उपचार निशुल्क भएको हो।
तेज अहिले पनि डा जसवनको निरन्तर सम्पर्कमा छन्। डा जसवनलाई तेज आफ्नो अभिभावक भन्दा पनि ठूलो मान्छन्।
आगोले पोलेर उपचार नपाएका कोही व्यक्ति भए आफूलाई सम्पर्क गर्न डा जसवनको आग्रह छ।
उनी भन्छन्, ‘कोही व्यक्ति यस्तो अवस्थामा हुनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस्। म आफ्नो तर्फबाट उहाँहरुको उपचारका लागि सक्दो प्रयास गर्नेछु।’
तेज अहिले अरुलाई सुझाउछन्, 'आगोले पोल्ने बित्तिकै घरमा नबसी अस्पताल जानुहोला।'
(तस्बिर- अर्जुन शाह)