काठमाडौं - कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको भारतले पहिलो दिन करिब दुई लाख मानिसलाई भ्याक्सिन लगाएको छ।
अभियान अन्तर्गतको पहिलो दिन १ लाख ९१ हजार १ सय ८१ जना मानिसलाई कोभिड भ्याक्सिन लगाइएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त दिन ३ हजार ३ सय ५१ खोप सेसन सञ्चालन गरिएको थियो। उनीहरुलाई स्वीकृत गरिएका कोभिसिल्ड र कोभाक्सिन भ्याक्सिन लगाइएको हो।
भारतले सञ्चालन गरेको कोरोना विरुद्धको खोप अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियानको रुपमा हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका थिए।
पहिलो दिन सबैभन्दा धेरै भ्याक्सिन पाउने नागरिक उत्तर प्रदेशका छन्। उत्तर प्रदेशमा मात्र २१ हजार २ सय ९१ जनाले कोभिड भ्याक्सिन लगाएका छन्। त्यहाँ मात्र ३ सय १७ खोप सेशन सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
त्यसपछि आन्द्र प्रदेशका नागरिकले सबैभन्दा धेरै कोभिड भ्याक्सिन पाएका छन्। ३ सय ३२ खोप सेशन सञ्चालन हुँदा १८ हजार ४ सय १२ जना नागरिकले भ्याक्सिन पाएका छन्।
यस्तै, अरुणाञ्चल प्रदेशमा ८ सय २९, आसाममा ३ हजार ५ सय २८, बिहारमा १८ हजार १ सय ६९, चण्डीगढमा २ सय ६५, छत्तीसगणमा ५ हजार ५ सय ९२, दिल्लीमा ४ हजार ३ सय १९, गोवामा ४ सय २६, गुजरातमा १० हजार ७ सय ८७, हरियाणामा ५ हजार ५ सय ८९ जना लगायतले कोभिड भ्याक्सिन लगाएका छन्।
कोभिड भ्याक्सिन लगाएपछि हालसम्म कुनै पनि व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नदेखिएको मन्त्रालयको दाबी छ। यद्यपि कोभिड भ्याक्सिन लगाएपछि केही व्यक्तिमा भने एलर्जीको समस्या भने देखिएको थियो। उनीहरुलाई स्थानीय प्रशासनको निगरानी राखिएको छ।
खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्याहरु आए पनि हाल समाधान भइसकेको छ। उक्त भ्याक्सिन १ अर्ब ३० करोडभन्दा बढी मानिसलाई लगाइने भारतीय सरकारले जनाएको छ। संयुक्त राज्य अमेरिकापछि सबैभन्दा धेरै भारतमा कोरोना संक्रमित भेटिएका छन्।
पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ। त्यसपछि प्रहरी, सैनिक, नगरपालिका र अन्य अंग्र पंक्तिका कर्मचारीहरुलाई खोप लगाइने छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुपछि ५० वर्ष उमेर माथि र ५० भन्दा मुनि जटिल स्वास्थ्य समस्या भएकाहरुलाई खोप दिने भारतीय सरकारको योजना छ। मतदाता सूचीमा भएका ९ करोड मतदाताको विवरणको उपयोग गरी खोप पाउनेहरुको पहिचान गर्ने भारतीय सरकारले जनाएको छ।
अगस्टको सुरुवातसम्म तीन करोड मानिसलाई भ्याक्सिन लगाउने योजना सरकारको छ। खोप लगाउने कार्यक्रम राज्यद्धारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र, विद्यालयहरु, कलेज, सामुदायिक हल, नगरपालिका कार्यालय र विवाह हलहरुमा हुने छन्।
भ्याक्सिनको पहिलो डोज दिन भारतका अधिकांश अस्पतालहरु तयार छन्। खोप पाउने स्वास्थ्यकर्मीहरुको नाम वर्णमाला अनुसार छनोट गरिएको छ। जसको ए, बीबाट नाम सुरु हुन्छ, तिनै स्वास्थ्यकर्मीहरुले पहिले भ्याक्सिन पाउने छन्।
दुवै खोपहरु इन्जेक्सनको रुपमा दिइने छ। खोप अभियान सञ्चालनका लागि भारतले ६ लाख बढीलाई प्रशिक्षण दिएको छ।
– बिबिसी