लण्डन– बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएका हुन्। यसबारे विस्तृत जानकारी भने चाँडै नै दिइने उनको भनाइ छ।
बेलायतमा कोरोनाको नयाँ स्वरुप तीव्र रुपमा फैलन थालेपछि सरकारले कडाइ गर्न थालेको छ। प्रमुख मेडिकल अफिसर क्रिस विट्टीले बेलायतमा हरेक ५० जनामा एक व्यक्ति कोरोना संक्रमित भएको बताएका छन्। यससँगै त्यहाँ ठूलो जनसंख्या कोरोना संक्रमणको चपेटामा परेको आँकलन गरिएको छ।
स्वास्थ्य विज्ञका अनुसार बेलायतका सन् २०२० को अन्तिम दुई सातामा कोरोना संक्रमणमा ७० प्रतिशत वृद्धि भएको पाइएको थियो। कोरोनाको नयाँ स्वरुप बेलायतका सबै क्षेत्रमा फैलिएको पनि विज्ञहरुले जनाएका छन्।
बेलायतमा हाल कोरोना संक्रमितको संख्या २७ लाख ८२ हजार ६ सय ९० पुगेको छ भने ७६ हजार ४ सय २७ जनाको मृत्यु भइसकेको छ।