लण्डन– बेलायतमा कोरोना भाइरसको अर्को नयाँ रुप फेला परेको छ। यो अघिल्लोपटक फेला परेको कोरोना भाइरसभन्दा अझ बढी खतरनाक भएको बताइएको छ।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पछिल्लो प्रकारको कोरोना भाइरसबाट प्रभावित २ बिरामी फेला परेको बताए। यो पछिल्लो रुपको कोरोना भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो।
ती दुई बिरामी हालै दक्षिण अफ्रिकाबाट फर्किएका थिए। मन्त्री ह्यानककका अनुसार दक्षिण अफ्रिकामा फेला परेको यो कोरोना भाइरस तीव्र रुपमा फैलने खालको छ। उनले यो निकै गम्भीर भएको बताए।
बेलायत सरकारले दक्षिण अफ्रिकाको यात्रामा प्रतिबन्ध लगाएको छ भने १५ दिनयता त्यहाँबाट फर्किएकाहरुलाई तत्काल क्वारेन्टाइनमा बस्न भनिएको छ। पछिल्लो २४ घण्टामा बेलायतमा ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
दक्षिण अफ्रिकाका वैज्ञानिकका अनुसार नयाँ रुपको कोरोना भाइरस तीव्र रुपमा फैलिइरहेको छ भने स्वस्थ मानिस पनि बिरामी भइरहेका छन्।