काठमाडौं- भाइरसको नयाँ र तीव्र सङ्क्रमणशील प्रकारका कारण सोमबारबाट बेलायतलाई चौतर्फी नाकाबन्दी गरिएको छ।
सप्लाईको लाइफलाइन मानिने र दिनमा हजारौं लरी आवतजावत गर्ने युरो-टनेल फ्रान्सले बन्द गरेको छ। सामान र यात्री दुवैका लागि कम्तिमा दुई दिनका लागि सीमा बन्द भएपछि धेरै यात्री र ट्रकहरू सीमामै रोकिएका छन्। फ्रान्सले रोके पनि उताबाट आउने सामान आफूले नरोकेको भन्दै बेलायत सरकारले जनतालाई नआत्तिन र आवश्यकभन्दा बढ़ी खरिद नगर्न सल्लाह दिएको छ।
बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार अन्यभन्दा ७०% सम्म बढ़ी सङ्क्रमणशील रहेको वैज्ञानिकहरूको दाबीसँगै बेलायतसँग धेरै देशले हवाइ सम्बन्ध स्थगित गर्दै गरेको समाचार आइरहेछन्।
जर्मनी, फ्रान्स, इटाली, आयरल्याण्ड, स्विट्जरल्याण्ड नेदरल्याण्ड जस्ता युरोपियन देशले डिसेम्बरभरिका लागि 'ट्राभल ब्यान' घोषणा गरेका छन् भने सोमबार नै ब्रसेल्समा बस्ने युरोपियन काउन्सिलको बैठकले सिङ्गो युनियनले समेत बेलायतका लागि ढोका बन्द गर्ने अनुमान छ। सोमबारबाटै हङकङ, क्यानडा, टर्कीलगायतका देशले पनि हवाई सम्बन्ध स्थगित गर्ने बताएको छ।
आमरूपमा भ्याक्सिनेशन सुरु गरेको बेलायतमा भाइरसको नयाँ स्ट्रेन भेटिएसँगै विश्वभर चिन्ता बढेको छ। युरोपको शेयर बजार ओरालो लागेको छ भने छिटै महामारीबाट बाहिर आउने आशामा ठेस लागेको छ।
बेलायतमा हिजो ३५९२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन अघिल्लो हप्ताभन्दा झन्डै दोब्बर हो। झण्डै सिङ्गो बेलायत सेमिलकडाउनमै रहेको अवस्थामा समेत हप्ता दिनमैं दोब्बर हुने गरी फैलिएको सङ्क्रमणले धेरैलाई चिन्तित बनाएको छ। बेलायतमा लकडाउनका नियमहरूमा थप कडाइसमेत गरिएको छ।
नयाँ प्रकार (स्ट्रेन) बारेको अध्ययन प्रारम्भिक चरणमैं रहेकाले थप तथ्य आउन बाँकी नै छ। तथापि भाइरसको स्ट्रेन एकदमै सङ्क्रमणशील रहे पनि यो पहिलेभन्दा बढ़ी घातक भएको पुष्टि भने नभएको बताइन्छ। अहिले विकास गरिएको भ्याक्सिनले अझै पनि यसलाई नियन्त्रण गर्न सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन्।