न्युयोर्क–अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ३ लाख ४ सय ५६ जनाको मृत्यु भएको हो।
अमेरिकामा फेब्रुअरी ६ मा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो। सिएनएनका अनुसार त्यसयता भएका मृत्युलाई हेर्ने हो भने सरदर दैनिक ९ सय ६१ जनाको मृत्यु भएको पाइन्छ । गत महिना ५० हजारभन्दा बढीको मृत्यु भएको थियो। यस्तै, गत साता दैनिक सरदर २ हजार ४ सय ३ जनाको मृत्यु भयो। यसको अर्थ हरेक ४० सेकेण्डमा एक जना कोरोना संक्रमितको मृत्यु भएको देखिन्छ।
चिकित्सकहरुले अस्पताल भर्ना हुनेको संख्या बढ्दो रहेकाले चिसो याममा मृत्यु हुनेको संख्या पनि बढ्ने जनाएका छन्। आइतबार १ लाख ९ हजार ३ सय ३१ जना अस्पताल भर्ना भएका थिए। जुन महामारी सुरु भएयताकै रेकर्ड हो।