ग्वालियर– भारत मध्यप्रदेशको ग्वालियरमा अनौठो तरिकाबाट ९ वर्षीया बालिकाको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ। शल्यक्रियाका क्रममा बालिका भने पियानो बजाइरहेकी थिइन्।
यो शल्यक्रिया ग्वालियरको बिरला अस्पतालमा डा. अभिषेक चौहानले शुक्रबार गरेका हुन्। त्यसक्रममा बालिकाको टाउकोको हड्डीमा रहेको ट्युमर निकालिएको थियो। बालिका अहिले स्वस्थ रहेको बताइएको छ।
मध्यप्रदेशको मुरैना जिल्लाको बानमोर निवासी सौम्या नामकी बालिकालाई छारे रोगको समस्या रहेको बताइएको थियो। त्यसका लागि उनले ४ प्रकारका औषधि लिइरहेकी थिइन्। तर निको भएको थिएन। तर एक वर्षअघि उनमा ब्रेन ट्युमर रहेको पत्ता लागेको थियो। टाढा ठूलो सहरमा लैजान आर्थिक स्थितिले नभ्याउने भएपछि उनको ग्वालियरमै शल्यक्रिया गर्ने निर्णय परिवारले गरेको थियो।
शल्यक्रिया गरेका डा. चौहानले शल्यक्रिया जोखिमपूर्ण भए पनि सफल भएको र बालिका पूर्ण स्वस्थ रहेको बताए। उनका अनुसा यो शल्यक्रिया ‘अवेक क्रेनोटोमी’ पद्धतिबाट गरिएको हो। यसमा बिरामीलाई बेहोस पारिँदैन। शल्यक्रिया गर्ने भागलाई मात्र लठ्याइन्छ । यसमा न्युरोसर्जनले ट्युमर निकालेको समयमा बिरामीबाट केही न केही गतिविधि गराउँछन्।