एन्टिजेन परीक्षणलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन्।
एन्टिजेनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजेनलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने उनीहरुको भनाइ छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घिमिरेले पिसिआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजेनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता हुने बताए।
‘एन्टिजेन परीक्षण गर्दा कहिलेकाहीं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पिसिआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए।
उनले भने ‘पिसिआर भनेको विकसित टेक्नोलोजी हो, कोभिड छ भनेर पक्का गर्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो। तर एन्टिजेन परीक्षण कन्फर्म परीक्षण होइन। मेरो शरीरमा कोभिड १९ नहुँदा नहुँदै पनि कहिलेकाहिं देखाइदिने र कोभिड १९ छ भने पनि नदेखाइदिने एन्टिजेन परीक्षणले गर्छ।’
यद्यपि एन्टिजेन परीक्षण सस्तो, छिटो र सजिलो भएकाले अत्यावस्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पिसिआरको विकल्पमा प्रयोग गर्न नहुने बताए। अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालीन स्वीकृत मात्रै दिएको बन्जाराले बताए।
अहिले सबै ठाउँमा एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गर्यो भने मात्रै पिसिआरको विकल्पमा प्रयोग गर्न सकिने उनको भनाइ छ।
सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजेनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो।