जेन्सी– अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधनको चार दिनपछि प्रहरीले उनको उपचारमा संलग्न चिकित्सक डा. लियोपोल्डो लुकेको क्लिनिक र घरमा छापा मारेको छ।
म्याराडोनाको उपचारमा लापरवाही गरेको आशंकामा डा. लियोपाल्डोको घरमा छापा मारेको बताइएको छ। ६० वर्षीय म्याराडोनाको गत नोभेम्बर २५ मा राजधानी ब्युनस आयर्समा घरमै निधन भएको थियो। उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो।
म्याराडोनाका छोरीहरुले आफ्ना पितालाई कुन औषधि दिइएको थियो भन्नेबारे छानबिन गर्न माग गरेका छन्। नोभेम्बरको सुरुमा म्याराडोनाको मस्तिष्कमा जमेको रगत निकाल्न सफल शल्यक्रिया भएको थियो। यसका साथै मदिराको लत छुटाउन उपचार चलिरहेको थियो।
डा. लियोपाल्डोले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन्। उनले आफूले म्याराडोनाका लागि अन्त्यसम्म आफूले सबै कार्य गरेको बताए। आइतबार बिहान करिब ३० जनाको प्रहरी टोलीले उनको घर तथा क्लिनिकमा छापा मारेको थियो।