पूर्णबहादुर खड्का
अछामको जनस्वास्थ्य सुधारका लागि दुई दशकभन्दा बढी समयदेखि अनवरत रुपमा क्रियाशील व्यक्तिको नाम हो झनकराज ढुंगाना। अछाम जिल्लाको मंगलसेन नगरपालिका–५ मा जन्मिएका ढुंगानालाई घर नजिकै अस्पताल भएका कारण स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने प्रेरणा मिल्यो। अस्पतालमा अरुले बिरामीको उपचार गरेको देख्दा आफूलाई पनि यही पेशामा जोडिन पाए हुन्थ्यो भन्ने मनमा लागिरह्यो।
नभन्दै एसएलसीपछि प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा अछामबाट कोटामा सिएमए पढ्ने अवसर उनले पाए। एसलसीको प्राप्तांकका आधारमा जिल्लाबाट १३ जनालाई छनोट गरिएको कोटामा उनी पनि पर्न सफल भए। भन्छन्, ‘घर नजिकै अस्पताल भएका कारण मैले स्वास्थ्य क्षेत्रमार्फत नै आफ्नो करिअर अगाडि बढाउने निर्ण गरें।’
२०५० सालमा सिएमए पास गरेर आइसकेपछि उनलाई सुरुका वर्षहरुमा अछामभन्दा बढी बाहिर काम गर्ने अवसर मिल्यो। ढुंगाना सम्झन्छन्, ‘भेरी अञ्चल अस्पताल नेपालगञ्ज, बाँकेको आकस्मिक कक्षमा काम गर्ने क्रममा आउने इन्सेफलाइटिस, सर्पदंश, विष सेवन, झाडापखाला, सडक दुर्घटना लगायत विभिन्न कारणले मृत्युको मुखमा पुगेका बिरामीको उपचारमा आफू संलग्न भएर ज्यान बचाउन सफल हुँदा अहिले गर्व महसुस हुन्छ।’
उनी केही समयपछि अछाम फर्के। ‘म अछाम फर्किंदा त्यो बेला जिल्लामा चिकित्सकको अभाव थियो। हामी स्वास्थ्यकर्मी र नर्सिङ स्टाफहरु बिरामीको उपचारमा धेरैजसो संलग्न रहन्थ्यौं,’ उनले भने, ‘कतिपय अवस्थामा बिरामीलाई स्लाइन दिन नसकेर अस्पताल ल्याइएका हुन्थे, स्वास्थ्य संस्थाबाट प्रेषण गरेका बिरामीकोे ज्यान बचाउन सकेको अवस्थामा खुसीको अनुभूति हुन्थ्यो।’
२०६६ सालमा अछाममा झाडापखलाको महामारी फैलियो। ढुंगाना भन्छन्, ‘त्यो बेला सबै ठाँउमा अहिलेको जस्तो मोटर बाटो थिएन। हिँडेर भए पनि जिल्लाको दुर्गम हिच्मादेखि रहफसम्म पुगेर बिरामीको उपचार गरेको सम्झँदा सन्तुष्टि मिल्छ।’
आजभन्दा २७ वर्ष पहिले जिल्लाको तत्कालीन ठाँटी उपस्वास्थ्य चौकी, बगुडा, अछामबाट स्वास्थ्य पेसामा करिअर सुरु गरेका ढुंगानाले सिएमए पास गरेपश्चात् कर्णालीको दुर्गम जिल्ला मुगुको बाम उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार अछाम, भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँके, र अछाम जिल्ला अस्पतालमा काम गरे।
सिएमएबाट स्वास्थ्य सेवा प्रवेश गरेका ढुंगाना विभिन्न समयमा स्तरवृद्धि हुँदै जनस्वास्थ्य निरीक्षकसम्म भए। निरीक्षक भइसकेपछि स्वास्थ्य सेवाको क्लिनिकल क्षेत्रबाट पूर्ण रुपमा विश्राम लिँदै उनी जनस्वास्थ्य सेवाको व्यवस्थापकीय क्षेत्रमा प्रवेश गरे।
करिब १३ वर्ष नियमित रुपमा जिल्ला स्वास्थ्य कार्यालय अछाममै सुपरभाइजरको पदमा रहेर उपचारात्मक तथा क्षयरोग, कुष्ठरोग, एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्य गरे। लामो समय एचआइभी÷एड्स कार्यक्रम फोकल पर्सन भई कार्य गरेको अनुभव उनीसँग छ।
ढुंगाना सुपरभाइजर भई कार्यरत रहेकै समयमा अछाम जिल्लाले स्वास्थ्यका क्षेत्रमा निकै ठूलो प्रगति ग¥यो। स्वास्थ्य क्षेत्रमा अछाम देशकै पहिलो जिल्ला बन्यो। ‘निरन्तर टिमका सदस्यहरु क्रियाशील भएर काम गरेको प्रतिफल जिल्ला स्वास्थ्य क्षेत्रमा प्रथम हुन सफल भयो,’ उनी भन्छन्, ‘जनस्वास्थ्य सुधारका लागि कुनै एक वर्ष मात्रै काम गरेर जिल्ला प्रथम हुँदैन। यसका सुचकहरु बढाउन, प्रगति गर्न धेरै वर्षको मिहिनेत, लगानी चाहिन्छ।’
सीमित स्वास्थ्यकर्मीको उचित व्यवस्थापन, निरन्तर सहयोगात्मक अनुगमन र सुपरभिजनले गर्दा स्वास्थ्यका सूचकहरुमा जिल्लाले प्रगति गर्दै गएको र विगतगत ७÷८ वर्षदेखि अछाम टपटेन भित्रै रहेको उनको दावी छ। ‘नेतृत्व लिने कार्यालय प्रमुखको इच्छाशक्ति र टिमवर्कका कारण अछामलाई स्वास्थ्यका सुचकको आधारमा देशकै पहिलो बनाउन सफल भयौँ,’ उनी भन्छन्।
बढीजसो समय आफ्नो गृहजिल्ला अछामलाई दिएका ढुंगाना परिश्रम र मिहिनेतले २०७३ सालमा जनस्वास्थ्य अधिृकतमा नाम निकाल्न सफल भए। जागिरसँगसँगै व्यवस्थापनबाट स्नातक हुँदै उनले स्नातकोत्तरसम्मको अध्ययनसमेत पूरा गरे।
अछामको स्वास्थ्य क्षेत्रको बलियो खम्बाको रुपमा आफूलाई स्थापित गराउन सफल ढुंगाना बंगलादेशबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गर्न पनि सफल भए। ‘स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव र व्यवस्थापनतर्फको शैक्षिक योग्यतालाई एमपिएच पूरा गरेपछि यसले दुवै क्षेत्रलाई पुलको रुपमा जोड्ने काम गरेको छ, म यसैमा खुसी छु,’ उनी भन्छन्।
हाल स्वास्थ्य कार्यालय अछामको प्रमुखका रुपमा कार्यरत ढुंगानाले देश संघीयतामा गएपछि समायोजन हुनु अगाडि करिब ९ महिना सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीमा बसेर समेत काम गरे।
२०७६ माघ ५ गतेबाट स्वास्थ्य सेवाको आठौँ तह वरिष्ठ जनस्वास्थ्य अधिकृत पदमा कार्यरत ढुंगाना अछामको स्वास्थ्य क्षेत्रमा दुई–तीन वटा कुरामा उल्लेख प्रगति भएको देख्छन्। उनी भन्छन्, ‘पूर्ण खोप कार्यक्रम, बर्थिङ सेन्टर विस्तार तथा संस्थागत सुत्केरी दर वृद्धि भएको छ, कुपोषणको क्षेत्रमा गैरसरकारी क्षेत्रको सहयोगमा उल्लेख्य सुधार, एचआइभी संक्रमण दरमा उल्लेख्य कमी, एआरटी सेन्टरको विस्तारका कारणले स्वास्थ्य सेवामा पहुँच र उपभोगमा वृद्धि भएको र यसले समग्र स्वास्थ्यको सुचकमा सुधार भएको छ।’
शैक्षिक अवस्थामा सुधार, खुला दिसामुक्त समाज, आयआर्जनमा भएको सहजता, यातायात लगायत पूर्वाधार विकासले स्वास्थ्यका सुचकहरुमा प्रगति हुन सहयोग पुगेको उनको बुझाइ छ। स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पार्ने परम्परागत सामाजिक संस्कारहरुले स्वास्थ्य क्षेत्रमाकेही समस्या देखिएको उनी बताउछन्। ‘बालविवाह कारण २० वर्ष मुनिका गर्भवतीको प्रतिशत अहिले पनि धेरै छ, जसले गर्दा नवशिशु मृत्युदर, मृतजन्मदर, कम तौल जन्मदर उच्च छ,’ उनी भन्छन्, ‘यो घटाउनु जरुरी छ।’
पछिल्लो समय मानसिक समस्या विकराल रुपमा अगाडि आएको छ। आत्महत्या गर्नेको संख्या पनि बढिरहेको देखिन्छ। त्यसैले यो वर्ष मानसिक स्वास्थ्य समस्या परामर्श, विद्यालय स्वास्थ्यको कार्यक्रम, किशोरकिशारी मैत्री सेवामा बढी ध्यान केन्द्रित हुने उनले बताए।
‘स्वास्थ्य कार्यलयबाट हुने काममा मेरो ध्यान कहिल्यै कम भएन, अछाममा अहिले भइरहेका स्वास्थ्यका सुचक नघट्ने गरी त्यसमा थप प्रगति हुनेगरी काम गरिरहेका छौँ,’ उनी भन्छन्, ‘देश संघीय संरचनामा गइसकेपछि अहिले हरेक पालिकामा स्वास्थ्य शाखा छन्, अब उनीहरुको जिम्मेवारी बढी छ। आधारभूत स्वास्थ्य सेवाप्रवाहदेखि स्वास्थ्य सेवाका विभिन्न कार्यक्रम सञ्चालनको काम स्थानीय तहले गर्नुपर्छ।’
स्थानीय तहका स्वास्थ्य शाखालाई सक्रिय पार्ने, सहजीकरण गर्ने, वार्षिक समीक्षा गर्ने, मासिक रिपोर्टको काम चुस्तदुरुस्त पार्ने, स्वास्थ्य शाखामा बसेर व्यवस्थापन गरिरहेका साथीहरुको क्षमता अभिवृद्धि गर्ने र प्राविधिक सहयोग गर्ने आफूहरुको अबको काम भएको उनले बताए।
अछामको स्वास्थ्यमा अबको बाटो
जिल्लामा कुपोषण दर अहिले पनि कम भएको छैन। पोषणका क्षेत्रमा साझेदार संस्थाहरुको सहयोगमा थप काम गर्नुपर्ने ढुंगानाको बुझाइ छ। ‘परिवार नियोजनका साधन प्रयोग गर्ने दर पनि कम छ, जसले गर्दा समग्र परिवारको स्वास्थ्य अवस्था राम्रो हुँदैन। यसमा पनि काम गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘जनस्वास्थ्यका सुचक राम्रो बनाउनुपर्ने काम त छ नै, त्यसमा पनि तत्काल उपचारात्मक कार्यलाई समेत प्राथमिकताामा राख्नुपर्नेछ। समग्र अछामी जनताको आयस्रोत कमजोर छ, सबै मान्छेसँग पैसा हुँदैन, उपचारको लागि धेरै बिरामी जिल्ला बाहिर रेफर गर्नुपर्छ, त्यसमा केही हदसम्म बयालपाटा अस्पतालले सहयोग गरे पनि जिल्ला अस्पताल र बयालपाटा अस्पतालको क्षमता विकास गर्न जरुरी छ।’
आर्थिक स्थिति कम्जोर भएकाहरुलाई जटिल रोगको उपचारको लागि प्रेषण गर्नुपर्ने अवस्थामा स्वास्थ्य बिमा प्रभावकारी बाटो भएको उनको ठम्याइ छ। स्वास्थ्य बिमा कार्यक्रममा भएका केही कमजोरी सच्याएर प्रभावकारी बनाउदै जानुपर्ने, अछाममा १३ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य बिमाको दरलाई एक÷दुई वर्षमा ५० प्रतिशत बढी पुर्याउने लक्ष्य लिनुपर्ने र यसका लागि स्वास्थ्य कार्यालयले स्वास्थ्य बिमा बोर्डसँग सहकार्य गरेर धेरैभन्दा धेरै परिवारको बिमा गराउने प्रयास हुने उनको प्रतिबद्धता छ।
कोभिड–१९ रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा
अछाममा २०७६ साल फागुन २७ गते कोभिड–१९ रोकथाम र नियन्त्रणलाई लक्षित गरी विपद व्यवस्थापन समितिको पहिलो बैठक बस्यो। ‘जिल्ला संकट व्यवस्थापन केन्द्रको सदस्यको हैसियतले सुरुवातदेखि नै प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य निर्देशकको समन्वयमा म निरन्तर खटिएको छु। त्यसमा स्वास्थ्य कार्यालयले काम गरिरहेको छ,’ ढुंगाना भन्छन्, ‘मुख्यगरी जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, अस्पताल तथा स्वास्थ्य निर्देशनालयसँग समन्वय गर्ने, हेल्थ डेस्क स्थापना गर्ने, क्वारेन्टाइनको अनुगमन, नियमित रिपोर्टङ, रेकर्डिङको कार्य प्राथमिकतामा राखी निरन्तर काम गरिरहेका छौँ।’
अछाममा कोरोना फैलिन नदिन र नियन्त्रण गर्न सुरुका दिनदेखि आजसम्म स्वास्थ्य कार्यालय सक्रिय रुपमा लागेको उनले बताए। ‘यसमा म कटिबद्ध भएर लागेको छु,’ उनी भन्छन्।