वरिष्ठ शल्यचिकित्सक डा ध्रुव मुडभरीको शनिबार निधन भयो। घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका उनको उपचारमा क्रममा निधन भएको हो। उनलाई कोरोना पोजेटिभ समेत देखिएको थियो।
डा मुडभरी नेपालमा सर्जरी सुरुवात गर्ने मध्येमा पर्छन्। उनले २०२६ सालमा भारतको औरंगाबाद मेडिकल कलेजबाट एमएस (जनरल सर्जरी) गरेर आउँदा नेपालमा सर्जनको संख्याको गणना गर्दा दोहोरो अंक पुग्दैनथ्यो। उनको सम्झनाअनुसार नेपालभरिमा जम्मा ७ जना सर्जन कार्यरत थिए। यति थोरै जनशक्ति हुँदा पनि दक्ष व्यक्तिले काम पाउन निकै मुस्किल थियो। नेपाल फर्केको ६ महिनासम्म उनलेसमेत कामै पाएनन्।
भारतबाट फर्केको भोलिपल्टै डा मुडभरीले त्यो समयका चर्चित सर्जन मात्रै होइन, राजदरवारका चिकित्सकसमेत रहेका डा अञ्जनीकुमार शर्मालाई भेटेका थिए। वीर अस्पतालमा कार्यरत डा शर्माको अन्नपूर्ण नर्सिङ होम नामको आफ्नै क्लिनिक पनि थियो। नातामा मामा पर्ने डा शर्माले समेत डा मुडभरिलाई कहीँ जागिर लगाउन सकेनन्।
आफू पढेको मेडिकल कलेजका उनी मेधावी विद्यार्थी हुन्। प्राध्यापकहरुले उनलाई आफूसँगै भारतभरि हुने विभिन्न कार्यक्रममा सहभागी गराउँथे। नेपाल सरकारको कोलम्बो प्लानअन्तर्गत एमबिबिएस पढ्न औरंगाबाद पुगेका उनलाई कलेजले समेत छात्रवृत्ति दिएको थियो। कलेजको मेरिट लिस्टमा परेकै कारण एमबिबिएस लगत्तै एमएस गर्न पाएका थिए। एमएस सकिएपछि प्राध्यापककै जोडबलमा कलेजमै लेक्चररमा नाम निकालेर पढाउन थालेका थिए।
चिकित्सा करिअरमा भारतमै आफूलाई स्थापित गरिसकेको उच्च मनोबलसहित नेपाल फर्किएका डा मुडभरी नेपालमा भने कामबिहीन हुन पुगे। सर्जनको उपाधि सहितको जागिरका लागि उनले त्यो समय निकै घनचक्कर लगाए, तर उपाय लागेन। चिकित्सकहरु तेस्रो श्रेणीका अधिकृतका रुपमा सरकारी जागिरमा प्रवेश गर्थे त्यतिबेला। त्यो एमबिबिएस पास गरिसकेपछिको थियो। तर, डा मुडभरीले विशेषज्ञता समेत हासिल गरिसकेकाले त्यसको पहिचान खोजेका थिए।
तत्कालीन श्री ५ को सरकारसँग जम्मा ७ जना सर्जनको दरबन्दी थियो। ती ७ जनामा चार जना वीर अस्पताल, वीरगञ्जमा एक र नेपालगञ्जमा एक जना कार्यरत थिए। सर्जनको दरबन्दी भएको बुटवल अस्पतालमा भने पद रिक्त थियो। तर, सर्जनकै रुपमा नयाँ चिकित्सकलाई नियुक्त गर्ने सरकारको नीति–नियमले दिँदैनथ्यो। डा मुडभरीलाई उक्त ठाउँमा पठाउने जुक्ति निकालियो। उनको सेवा प्रवेश तेस्रो श्रेणीको अधिकृतकै रुपमा भयो तर नियुक्तिपत्रमा ‘सर्जनको काम गर्ने गरी’ भनेर एक लाइन थपियो।
एक्सिडेन्ट पार्ने स्कुटर, डाक्टरलाई उपहार
२०२७ सालमा उनी हालको लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुगे। त्यसअघि २०२५ सालमा डा विश्वराज दलीले उक्त अस्पतालमा काम गरिसकेका थिए। त्यसैले सर्जनका लागि चाहिने आधारभूत उपकरणहरु थिए। जनशक्ति भने उनीबाहेक थप दुई जना मात्रै। सर्जरी गर्दा एनेस्थेसिया (बेहोस बनाउन) दिन सहयोग गर्ने मान्छे थिएन। अस्पतालको पिउनलाई उनले बेहोस बनाउनका लागि गरिने प्राविधिक ज्ञान सिकाए। पिउनले बेहोस बनाउन सहयोग गरेकै भरमा उनले पत्थरी, हाइड्रोसिल, हर्निया, अल्सर र आन्द्रा फुटेकोसम्म सफल शल्यक्रिया गरे। अहिलेको जस्तो उपकरण नभएको त्यो समय दिमाग र हातको सहारामा मान्छे बचाउनुपथ्र्यो। रगत जाँच्ने ल्याब, एक्सरे मेसिन र बेहोस बनाउने उपकरण केही थिएन।
नेपाल फर्किएपछि पहिलोपल्ट गरेका ठूलो अप्रेसन उनले बिर्सेका छैनन्। एक रेस्टुरेन्ट व्यवसायीकी श्रीमतीको पेटको आन्द्रा बटारिएको अप्रेसन उनले ठूलो जोखिम मोलेर गरेका थिए। सफल पनि भयो। त्यसपछि उनको चिकित्साको सौर्य त्यो क्षेत्रमै फैलियो। तीन वर्ष त्यहाँ बस्दा उनी अत्यन्त लोकप्रिय भए। उनी फिल्म हेर्न जाँदासमेत बिरामीहरु त्यहाँ पुग्थे।
बुटवलको बिर्सिन नसकिने घटनामध्ये एउटा बिरामीले उपचार गरेबाफत स्कुटर उपहार दिएको छ। त्योबेला सीमित सवारी साधन थिए। त्यसमध्ये मोटरसाइकल र स्कुटर त एकदमै कमसँग। एक जना व्यापारी स्कुटर दुर्घटनामा परे। टाउकोमा चोट लागेकाले उनी बेहोस अवस्थामा अस्पताल ल्याइए। डा मुडभरीले आफ्नो ज्ञान र अनुभवको प्रयोग गरेर शल्यक्रिया गर्दै बिरामीलाई बचाए। आफ्नो ज्यान जोगाएकोमा ओतप्रोत हुँदै उनले स्कुटर नै डा मुडभरीलाई उपहार दिए। बुटवलमा तीन वर्ष काम गरे। त्यसपछि २०३१ सालमा राजविराज सरुवा भयो।
वीरगञ्ज जहाँ भेटिए डा भोला र उदितनारायण
वीरगञ्ज सरुवा भएर काम गरिरहेका थिए। भर्खरै अञ्चल अस्पताल भएकोले काम गर्ने वातावरण थिएन। खासमा उनलाई विराटनगरको कोशी अञ्चल अस्पताल सरुवा गरिएको थियो। तर, उनका पिताले सचिवलाई भनिदिएछन्, ‘विराटनगर त उसको ससुराली हो। त्यसैले जाँदिनँ भन्छ। राजविराज पठाइदिनुहोस्।’ उनले पछि मात्रै थाहा पाए।
एक दिन भर्खरै एमिबिबिएस पास गरेको ठिटो भिनाजु भन्दै उनको कार्यकक्षमा पस्यो। आफ्नो नाता नेक्ससको बेलिविस्तार लगाउँदै भन्यो, ‘लौ भिनाजु म आइपुगें, अब काम सिकाउनुपर्छ।’ बिरानो ठाउँमा नातेदार आफैंसँग काम गर्न आइपुग्दा उनलाई खुसी नै लाग्यो। ती भिनाजु भन्दै आइपुगेका व्यक्ति थिए डा भोला रिजाल। जो डा मुडभरीकी धर्मपत्नीका भदा नाता पर्थे। जोसँग डा मुडभरीको पचास वर्षभन्दा बढी सहकार्य भयो।
पछि डा मुडभरीलाई निजी चिकित्सातर्फ डा रिजालले डो¥याए। त्यो समय नै डा रिजालले अस्पतालमा काम गर्नुका साथै अस्पतालमा नभएका उपकरणहरु आफैंले किनेर बाहिर ल्याब चलाएको डा मुडभरी सम्झिन्छन्।
त्यो समय अस्पतालमा अहिलेजस्तो बिरामीको चाप हुँदैनथ्यो। ड्युटी समयपछि रमाइलो गर्नुपथ्र्यो। गीत–संगीतमा रुची भएका डा रिजाल उनका सालो मात्रै होइन, साथी पनि थिए। फुर्सदको समय सिकार खेल्नसमेत जान्थे।
एक दिन गीतकार पुष्प नेपालीले उनलाई फोन गरेर बेलुकी खानपान गर्नेगरी आउन लागेको बताए। यही क्रममा उनले भनेका थिए, ‘मसँग एक जना मधेसी केटो पनि छ, गीतसीत गाउँछ, लिएर आउँछु।’ उनले डा मुडभरीकहाँ खाना खान साथमै लिएर आएका व्यक्ति थिए उदितनारायण झा। त्यो बेला भर्खर रेडियो नेपालमा गीत गाइरहेका थिए गायक झा। डा मुडभरीको क्वार्टरमा उनले गीत गाएर सुनाएका थिए।
राजविराजमा काम गर्दैगर्दा उनलाई पोखरा सरुवा गरियो। २०३३ साल फागुनमा नेपाल फर्केपछि उनले जीवनमा पहिलोपल्ट ल्याब र एक्स–रे सहितको सुविधा पाए। त्यसपछि उनको खटन अझै बढ्यो । पहिलेदेखि पोखरामा काम गरिरहेका डाक्टरले खोलेको क्लिनिकमा उनलाई काम गर्न अफर आयो। त्यहीँबाट उनको निजी चिकित्सकीय अभ्यास सुरु भयो। बुटवल बस्दा पनि उनको धेरै बिरामी पोखराका थिए। त्यसैले पोखराका बिरामीमाझ परिचित हुन समय लागेन। पोखरामा रमाइरहेका बेला वीर अस्पतालका सर्जन डा अञ्जनीकुमार शर्माको विराटनगर सरुवा भएको सुने। उनको ठाउँमा सर्जनको जरुरी रहेको पनि थाहा पाए। उपत्यका बाहिरै बसिरहेका उनलाई काठमाडौं आउन रहर जाग्यो। आफ्नै कोशिसले सम्भव देखेनन्। उनले नातागोता पहिल्याए। नाता खोज्दै जाँदा उनकी मितिनी आमाका
भाइ रञ्जनराज खनाल प्रमुख सचिव रहेछन्। उनले भनसुन गरे। तर, उनले मानेनन्। डा मुडभरीले आफू जागिर सुरु गरेदेखि नै उपत्यका बाहिर रहेको अवगत गराए। उनले भनेका थिए, ‘म भन्दा पछि जागिर सुरु गरेका काठमाडौं आउन लागेका रहेछन्। पहिलो हक त मेरो लाग्छ नि।’ यति भनिसकेपछि उनले वीर अस्पताल डा मुडभरीलाई सरुवा गरिदिए।
उनी काठमाडौं आइपुग्दासम्म सिद्धहस्त सर्जनका रुपमा परिचय फैलिसकेको थियो। त्यसैले वीर अस्पतालको सर्जरी विभागमा उनलाई अनुभवी चिकित्सकका रुपमा जिम्मेवारी दिइयो। २०३५ साल असारमा वीर अस्पताल आइपुगेका थिए उनी। त्यसको मंसिरमा तत्कालीन रानी ऐश्वर्याको पत्थरीको अप्रेसन गर्ने तयारी चल्यो। विराटनगर पोस्टिङ भएका शाही सर्जन डा अञ्जनीकुमार शर्मालाई विशेष काजमा वीर अस्पताल झिकाइएको उनी सम्झिन्छन्। वीर अस्पतालको भिआइपी कक्षलाई ‘दरबार’का रुपमा सजाइएको थियो। रानी ऐश्वर्याको पत्थरीको अप्रेसनका लागि तीन जना सर्जनको समूह बनाइएको थियो। जुन समूहका उनी तेस्रो चिकित्सक थिए। पहिलो डा शर्मा र दोस्रो डा एसके भट्टाचार्य थिए।
भदा डा भोलाका कारण निजी चिकित्सा अभ्यास
वीर अस्पतालमा सेवा दिँदै रमाइरहेका थिए। कमाउने लोभ उनलाई कहिल्यै भएन। निजी चिकित्सा सेवा रहँदासमेत पलाएन। उनलाई कमाइको लोभभन्दा पनि आफैंले चिकित्सा करिअरमा टेको दिइरहेका डा भोला रिजालसँगको सम्बन्धले निजी चिकित्सा अभ्यासमा धकेलेको हो। शिक्षण अस्पतालमा कार्यरत डा रिजालले त्यहाँबाट राजिनामा दिए। त्यसको कारण थियो, ननप्र्याक्टिसिङ। अर्थात् शिक्षण अस्पतालमा काम गर्नेले अर्को कुनै अस्पतालमा गर्न नपाउने व्यवस्था। डा रिजालले धेरै दिन डा मुडभरीकहाँ आएर कर गरेपछि सरकारी सेवा छाडेर निजी अस्पताल सञ्चालनका लागि सहमति जनाएका थिए। डा रिजालले नै जुटाएका लगानीकर्ता र उनकै योजनामा डा मुडभरी सम्मिलित ओम नर्सिङ होम २०४६ सालमा खुल्यो।
वीर अस्पतालमा नाम कमाएका सर्जन डा मुडभरी निजी अभ्यासमा लागेपछि बिरामीको अभाव हुने कुरै भएन। सुरुदेखि नै नर्सिङ होम राम्रो चल्न थाल्यो।
विभिन्न विशेषज्ञता भएकाले चिकित्सकहरुलाई मनाएर डा मुडभरीले उक्त नर्सिङ होममा ल्याएका थिए। छोटो समयमै एक घरबाट चार घरसम्म र ८ बेडबाट ५० बेडसम्मको नर्सिङ होम कमलपोखरीमा सञ्चालन भयो। अस्पतालको आफ्नै भवन निर्माण गर्ने योजनापछि अस्पताल चाबहिल सारियो। अहिले ओम खुलेको ५० वर्ष भयो। यसका योजनाकार अर्थात् डा भोला रिजाल अस्पतालबाट भर्खरै अलग्गिएका छन्। तर, डा मुडभरी ५० वर्षदेखि यही अस्पतालमा कार्यरत छन्। आफूलाई यो अस्पतालसँग जोड्न डा रिजाल बाहिरिएको उनलाई राम्रो लागेको छैन। अहिले पनि उनलाई लागिरहन्छ, ‘भोलाबाबुले अस्पताल नछाडेको भए हुन्थ्यो।’
सादा जीवन, सदा इमान
जीवनमा उनले जानेको सर्जरी सेवा हो। सरकारी सेवामा रहँदा पनि उनले इमान्दारितापूर्वक सर्जरी सेवा दिए। निजी चिकित्सा अभ्यासमा आउँदा पनि आफ्नो इमान बेचेनन्। सर्जरी सेवा दिए। त्यसैले ५० वर्ष लामो निजी चिकित्सा अभ्यासको इतिहास भएका उनले आर्थिक उन्नति गरेनन्। त्यसतर्फ उनले कहिल्यै ध्यान पनि दिएनन्। उनले आफ्नै आँखाले पू्र्खाको वैभवशाली जीवनयापन देखेका छन्। आफ्नो नाममा एउटा घरसमेत नभएको अवस्था झेलेका हुन्। त्यसैले कमाएको सम्पत्ति स्थिर हुँदैन भन्ने ज्ञान उनलाई थियो। कमाएको इज्जत भने जीवनपर्यन्त रहिरहन्छ भन्ने उनलाई लाग्थ्यो। कुशल सर्जनको रुपमा कमाएको ख्यातिबाटै उनी आफूलाई सम्पन्न ठान्थे। चिकित्सा जीवनको उत्तराद्र्धतिर उनी त्यसैमाथि गर्व गर्थे। अरुलाई पनि त्यसतर्फ प्रेरित गरिरहन्थे।
जीवनको पूर्वार्द्ध उनको वैभवपूर्ण थियो। उनको परिवारसँग सम्पत्ति र शक्ति दुवै थियो। उनका हजुरबा सुब्बा थिए। त्यो पनि राणा शासकहरुका आँखामा परेका सुब्बा। काठमाडौंको भोटाहिटीमा सबभन्दा राम्रो घर उनीहरुकै थियो। श्री ३ हरुले रुचाएका सुब्बा भएकाले शक्ति पनि थियो। आफ्ना हजुरबुबा गंगाप्रसाद मुडभरीको सान–सौकत सम्झिन्थे भनेका थिए, ‘उहाँ माल अड्डाको हाकिम हुनुहुन्थ्यो। उहाँ बस्ने ठाउँ सबैभन्दा ठूलो थियो। सिरहाको मिर्चैयामा भएको माल अड्डामा उहाँलाई पछाडिबाट हातले पंखा हम्किने मात्रै दुई जना थिए।’
सन् १९९० को भूकम्पमा सिरहाको माल अड्डा भवन क्षति भएपछि उनका हजुरबुबाले लहान बजार स्थापना गरेका हुन्। उनका हजुरबुबाले मोहन शमशेरका नाममा भारतबाट बाबा झिकाएर स्कुल खोलेका थिए। जहाँ उनले सावाँ अक्षर चिनेका हुन्। त्यहाँ चर्चित उद्योगी उपेन्द्र महतो र पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि पढेका हुन्। २००५ सालमा हजुरबुबाको काठमाडौं सरुवा भएपछि उनी पनि सँगै काठमाडौं आए। दुई वर्षपछि हजुरबुबाको देहान्त भयो। हजुरबुबाको मृत्युपछि उनका माइला हजुरबालाई उनको परिवारप्रति इष्र्या भएकाहरुले फसाए। ठेक्का दिलाएर घाटामा पारिदिएपछि उनको पुस्तौनी श्रीसम्पत्ति लिलामी भयो। भोटाहिटीको घर मात्रै होइन, सन्दुकका सन्दुक सुनचाँदी लिलामीमा परे।
सिरहाबाट काठमाडौं आएपछि उनको परिवार कुपन्डोलमा बस्थ्यो। घरमै एक तहसम्मको अध्ययन गरेपछि कक्षा ९ बाट पद्मोदय हाइस्कुल पुतलीसडकमा भर्ना भए। जहाँ उनका सहपाठीहरु राजनीतिज्ञ नवराज सुवेदी र दमननाथ ढुंगाना थिए भने गायक बच्चुकैलाश र प्रेमध्वज प्रधानहरु थिए। २०१३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले अहिलेको अमृत साइन्स कलेजमा एमबिबिएस गरे। त्यसपछि कोलम्बो प्लान पाएर एमबिबिएस गर्न भारत पुगेका हुन्।
उनले आफ्नो निजी जीवनमा मात्रै होइन, चिकित्सा जीवनमा समेत आरोहअवरोह भोगेका थिए। डाक्टरप्रति सम्पूर्ण रुपमा भरोसा गर्ने ५० वर्ष पहिलेका बिरामी र उनीहरुका आफन्तहरु देखेका हुन्। कुनै उपकरण नहुँदा पनि आँट, सिप र ज्ञानले उनीहरुको ज्यान जोगाएका घटना सम्झिरहन्थे। सबथोक प्रयोग गर्दा पनि बिरामी जोगाउन नसकिएका दुःखहरु सम्झिरहन्थे। तर, चिकित्सकले प्रयास गर्ने हो, सधैं र सवै अवस्था चिकित्सकको हातमा हुँदैन भन्ने ज्ञान भएका बिरामीका आफन्तहरु अहिले नभएको उनी बताउँथे। चिकित्सामाथि प्रहार गरेर आर्थिक लाभ हासिल गर्नेहरु बढेको कुराले उनलाई दुःखी तुल्याउँथ्यो।