सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीका रुपमा विश्वभर फैलिसकेको छ। कोरोनाको उद्गम वुहानमा चामत्कारिक रुपमा कोरोना नियन्त्रणमा आए पनि नेपाललगायत संसारका धेरै मुलुक अहिले पनि कोरोना कहरबाट बाहिर निस्किन सकेका छैनन्। करोडौं व्यक्ति संक्रमित हुनुका साथै लाखौंको ज्यान लिइसकेको कोरोना कहिलेसम्म नियन्त्रणमा आउने हो, अनुमान लगाउन पनि गाह्रो छ।
कोरोनाबाट आमनागरिकका साथै संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, नर्स, चिकित्सक पनि अछुतो रहेन सकेका छैनन्। नेपालमा पनि संक्रमितको उपचारमा खटिएका कयौं नर्स, चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
कोरोनाको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा औषधि पत्ता लागेको छैन। तर पनि कोरोना संक्रमण फैलिन नदिन र यसको नियन्त्रणका लागि नेपाल सरकारले विभिन्न उपाय अपनाउँदै आएको छ। कोरोनाको सहज उपचारका लागि देशका विभिन्न भूभागमा रहेका सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको छ। त्यसै क्रममा सरकारले देशकै जेठो अस्पताल वीर अस्पतालाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो।
कोरोना अस्पताल बनाउने क्रममा अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको नाम पनि सार्वजनिक गर्यो।
त्यो नामको सूचीमा वीर अस्पतालको आइसियु वार्डमा कार्यरत नर्स आरती दवाडीको नाम पनि थियो। तीन महिना अगाडिको कुरा हो, जब आरती आफ्नो नियमित ड्युटी सकेर घर जान लागेकी थिइन्, साथीहरुले उनलाई कोभिड आइसियुमा खटाएको खबर सुनाए। कोरोनाको नाम सुन्दा पनि डराउने आरती अब आफू नै कोरोना संक्रमितको उपचारका लागि खटिनुपर्ने खबर सुन्दा निकै अत्तालिइन्। आफैंलाई सम्हाल्न गाह्रो भयो।
‘एक छिन त मेरो बोली नै फुटेन, केही बोल्नै सकिनँ,’ आरतीले सुरुको दिन सम्झिइन्, ‘मेरो आँखाबाट एकोहोरो आँसु मात्रै बग्न थाल्यो।’
लगत्तै उनले आइसियु इन्चार्जलाई भेटिन् र आफू कोभिड आइसियुमा काम नगर्ने भनेर ठाडै इन्कार गरिन्। तर उनको केही जोर चलेन किनकि अस्पतालले कोभिड आइसियुमा खटाएका कर्मचारीको नाम सार्वजनिक गरिसकको थियो।
घर गइन्, कसैसँग बोलिनन्। र, फोन बन्द गरेर बसिन्। घर पुगे पनि उनको आँखाबाट आँसु भने बहिरह्यो। ‘मलाई कोभिड आइसियुमा खटाएको सुनेदेखि नै आँखाबाट आँसु रोकिएको थिएन। किनभने यो रोगदेखि पहिलेदेखि नै डर लाग्थ्यो। साथीहरु जम्मा भएको बेलामा कोभिडको बारेमा कुरा गर्न थाले भने पनि म त्यहाँबाट उठेर जान्थें, सुन्न डर लागेर,’ उनले भनिन्।
कोभिड आइसियु भनेको जटिल अवस्थामा पुगेका संक्रमित भर्ना हुने अन्तिम ठाउँ हो। कोरोना संक्रमितको उपचार गर्दा आफूलाई पनि संक्रमण हुन्छ भन्ने भय आरतीको मनमा गहिरोसँग गडेर बसेको थियो।
लामो समय आइसियुमा काम गरेको अनुभव भएकोले पनि आफूलाई अस्पतालले कोभिड आइसियुमा खटाएको हुनसक्ने उनको अनुमान छ। तर उनी भने कोरोना संक्रमितको उपचारमा खटिनुपरेकोमा निकै चिन्तित थिइन्। ‘नर्स भएपछि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। झन् यस्तो महामारीका बेलामा काम गर्नु ठूलो धर्म हो। पिपिई लगाएर जाने हो, केही पनि हुँँदैन’ भनेर उनका बुबा, मम्मी र दिदीले सम्झाए। दिदी नर्स भएकाले उनले पनि सम्झाइन्। हौसला दिइन्। साथीहरुले पनि पिपिई लगाएर काम गर्दा केही हुँदैन भनेर सम्झाएपछि उनी बल्लबल्ल कोभिड आइसियुमा जान तयार भइन्।
कोभिड आइसियुमा जानुभन्दा दुई दिन अघिसम्म पनि रातभर रोएको आरती सुनाउँछिन्। सबै जनाले धेरै सम्झाएपछि बल्ल उनी मानसिक रुपमा तयार भइन्। ‘मेरो आइसियुमा काम गर्ने दिन आयो। त्यो दिन मंगलबार थियो। मेरो व्रतको दिन पनि,’ उनले भनिन्, ‘निकै डर लाग्यो, डराउँदै कोभिड आइसियुमा छिरें।’
नर्सिङ स्टेसनमा गई पिपिई लगाएर बिरामी हेर्न उनी वार्डमा छिरिन्। वार्डमा छिर्नासाथ उनले दुई जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै गरेको देखिन्। ५ वर्षदेखि आइसियुमा काम गरेको भए पनि त्यो दिन बिरामी देख्नासाथ पूरी शरीर चिसो भएको अनुभूति गरिन् उनले। एकदमै कमजोर महसुर गरिन् अनि नजिकै रहेको कुर्सीमा थचक्क बसिन्। ‘कुर्सीमा बसेर मनमनै सोचें, अब बाचिन्नँ। उहाँहरुबाटै कोरोना सर्छ जस्तो भयो। एक्कासि कमजोर महसुस भयो,’ पहिलो पटक कोरोना संक्रमितलाई भेन्टिलेटरमा देख्दाको अनुभूति सुनाइन्।
एकछिन आराम गरेपछि उनी पुनः काम गर्न फर्किन्। तर त्यो दिन उनी आइसियुमा छिरिनन्। बाहिरबाहिरको काम मात्र गरिन्। भोलिपल्टबाट उनी काममा फर्किन्। विस्तारै उनको मनभित्र गडेको डर भाग्दै गयो।
‘मैले बाहिर जे सोचेको थिएँ, त्यस्तो केही हुँदो रहेन छ। पहिला जसरी आइसियुका बिरामीलाई हेरचार गरिन्थ्यो। त्यसरी नै हेरचार गर्छु। त्यतिबेला किन त्यति धेरै डराएको हुँला भनेर अहिले सम्झिँदा हाँसो उठ्छ,’ उनले भनिन्, ‘अस्पतालले पिपिई दिएको छ, आफूलाई सुरक्षित राखेर उपचारमा खटिएको छु।’
विदेश जान साइन्स बिएससी नर्सिङ
आरतीका नजिकका अधिकांश साथीहरु विदेशमा भएकाले उनलाई पनि विदेश जाने हुटहुटी थियो। त्यसैले एसएलसीपछि प्लस टुमा ह्वाइट फिल्ड कलेजमा विज्ञान विषय लिएर पढिन्। ४ वर्षे बिएससी नर्सिङ गरेपछि विदेश जान सजिलो हुनुका साथै राम्रो काम पाइने र नेपालमै पनि राम्रो अवसर पाइने बुझेपछि उनले त्यस गरिन्।
सन् २०१५ सालमा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट बिएससी उत्तीर्ण गरिन्। तर नर्सिङ उत्तीर्ण गरिसक्दा उनको विदेश जाने सपना मरिसकेको थियो।
‘४ वर्षसम्म मेरा आफ्ना साथीहरु थुपै्र विदेश गएका थिए। उनीहरुले विदेशमा सोचेजस्तो नभएको र नेपालमा राम्रो ठाउँमा काम गर्ने हो भने राम्रै हुन्छ भनेपछि विस्तारै विदेश नजाने मन बनाए,’ उनले सुनाइन्।
उनलाई पढाइ सकिनासाथ वीर अस्पतालमा काम गर्न मन थियो। वीर अस्पतालको बाटो हिँड्दा पनि मनमनै सोच्ने गर्थिन् कि, यति ठूलो अस्पतालमा काम गर्न पाए मेरो जीवन राम्रो हुन्थ्यो होला। नभन्दै उनले पढाइ सकेको केही महिनामै वीर अस्पतालमा काम गर्ने अवसर पाइन्। त्यसपछि उनी पाँच वर्षदेखि निरन्तर वीर अस्पतालमा कार्यरत छिन्।
उनले जस्तो सोचेर नर्सिङ पेसा रोजेकी थिइन्, त्योभन्दा फरक पाइन्। ‘नर्सिङमा सुविधा पनि राम्रो हुन्छ, तलब पनि राम्रो हुन्छ र मानसम्मान पाइन्छ। जीवन राम्रो बन्छ, इज्जत हुन्छ भन्ने सोचेर नर्सिङ पढेँ,’ आरतीले नर्सिङ पेसाका बारेमा भनिन्, ‘सरकारी अस्पतालमा काम गर्ने नर्सको सुविधा पनि राम्रै हुन्छ भन्ने सोचेको थिएँ। तर यो पेसामा जति दुःख गर्नुपर्छ, त्यो अनुसार सेवा–सुविधा छैन।’