एजेन्सी– अमेरिका कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ९० लाख ३४ हजार २ सय ९५ पुगेको छ। हालसम्म २ लाख २९ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ।
महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएका हुन्।
अमेरिकामा शुक्रबारमात्रै ८९ हजार ३ सय ६१ संक्रमित थपिएका छन्। यसअघि बिहीबार ८८ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो।
फ्लोरिडामा शुक्रबार ५ हजार ५ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख नाघेको छ। यस्तै, ९ वटा अन्य राज्यले पनि संक्रमितको संख्यामा रेकर्ड बनाएका छन्। ती राज्यमा इलिनोइस, इण्डियाना, मैनी, मिसिगन, मिनेसोटा, न्यु मेक्सिको, नर्थ क्यारोलिना, नर्थ डकोटा र ओहियो रहेका छन्।
बाल्टिमोरका स्वास्थ्य आयुक्त डा लियाना वेनले हरेक सेकेण्डमा एक जनामा कोरोना पुष्टि भइरहेको बताइन्। उनका अनुसार अमेरिकामा हरेक २ मिनेटमा एक जनाको मृत्यु भइरहेको छ र यो संख्यामा वृद्धि भइरहेको छ। केही राज्यमा दुई जनामध्ये एक जनामा कोरोना देखिएको उनले बताइन्।
अमेरिकी स्वास्थ्य अधिकारीहरुले संक्रमित र मृतकको संख्या यही दरमा वृद्धि हुँदै जाने हो भने आगामी जनवरीको मध्यसम्ममा दैनिक २२ सय ५० अमेरिकीको मृत्यु हुने चेतावनी दिएका छन्, जुन अहिलेको दैनिक मृत्यु संख्याको तेब्बर हो।