एजेन्सी– युरोपमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। स्पेन, फ्रान्स, इटाली, पोर्चुगल, जर्मनीलगायका युरोपेली मुलुकहरुमा दैनिक संक्रमण तीव्र भएको हो।
स्पेनमा बिहीबार २० हजार ९ सय ८६ संक्रमित थपिएका छन्। महामारी सुरु भएयता एकै दिन धेरै संक्रमित थपिएको यो रेकर्ड हो। योसँगै यहाँ संक्रमितको संख्या १० लाख २६ हजार २ सय ८१ पुगेको छ।
यस्तै, फ्रान्समा २४ घण्टामा ४१ हजार ६ सय २२ संक्रमित थपिएको फ्रान्सेली स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रान्समा कूल संक्रमितको संख्या ९ लाख ९९ हजार ४३ पुगेको छ। इटालीमा १६ हजार ७९, पोर्चुगलमा ३ हजार २ सय ७०, जर्मनीमा ११ हजार २ सय ८७ र नेदरल्याण्डमा ९ हजार २ सय ८३ संक्रमित थपिएका छन्। जर्मनीमा महामारी सुरु भएयता एकै दिन सबैभन्दा बढी संक्रमित बिहीबार थपिएका हुन्।
उता, अमेरिकाको ओक्लाहोमा, ओहियो, फ्लोरिडा, विस्कन्सिनमा पनि संक्रमितको संख्यामा तिब्रता आएको छ। अमेरिकामा संक्रमितको संख्या ८३ लाख ५४ हजार ३ सय पुगेको छ भने यहाँ २ लाख २२ हजार ४ सय १६ जनाको मृत्यु भइसकेको छ।