नयाँ दिल्ली- भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा कोरोना संक्रमणका कारण मस्तिष्कको नशामा क्षति पुर्याएको पाइएको छ। कोरोना संक्रमणका कारण मस्तिष्कमा क्षति पुगेको यो नै पहिलोपटक भएको संस्थानको भनाइ छ। मस्तिष्कको नसामा क्षति पुगेकाले ११ वर्षीया ती बालिकामा आँखाको दृष्टिमा समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्।
चाइल्ड न्युरोलोजी डिभिजनका डाक्टहरूले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत रूपमा भने छिटै सार्वजनिक गर्ने योजना बनाएका छन्।
'हामीले कोरोना संक्रमित ११ वर्षीयामा अक्युट डेमिलिनेटिङ सिन्ड्रोम (एडिएस) बढेको फेला पारेका छौं। अहिलेसम्म सार्वजनिक भएका रिपोर्टमध्ये बालबालिकामा कोभिडको यस्तो असर देखिएको यो नै पहिलोपटक हो,’ प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
मस्तिष्कका नसाहरूलाई माइलिन नामका विभिन्न लेयरहरूले सुरक्षा दिएर राखेका हुन्छन्। माइलिनले मस्तिष्कमा आएको सन्देशलाई तुरून्त शरीरमा लैजान सहयोग गर्ने गर्छन्।
एडिएसले भए माइलेन, ब्रेन सिग्नल, मस्तिष्कसम्बन्धी क्रियाकलापहरू जस्तै: दृष्टि, मांशपेशीको गतिशिलता, इन्द्रियहरू, ब्ल्याडर आदिमा समस्या आउने गर्छ।
‘बालिकाको दृष्टि कमजोर भएकाले हामीकहाँ आएकी थिइन्। एमआरआई गर्दा उनमा एडिएस देखियो। जसबाट हाम्रो शरीरमा कोरोना भाइरसले मुख्यगरी मष्तिष्क र फोक्सोलाई बढी असर गर्ने रहेछ भन्ने थाहा भयो। उनको दूरावस्थालाई कोभिड-१९ ले झनै बढाइरहेकाले हामी यो रिपोर्ट छिट्टै नै सार्वजनिक गर्दैछौँ,’ एम्सका डिपार्टमेन्ट अफ पेडियाट्रिक्सका चाइल्ड न्यूरोलोजी डिभिजन प्रमुख डा सेफली गुलटीले भने।
बालिका अहिले डा गुलाटीको निगरानीमा रहेकी छन्। इम्युनोथेरापीसँगै उनको अवस्था अहिले पहिलेको भन्दा सुधार भइसकेको र करिब ५० प्रतिशत दृष्टि फर्किएकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
एम्सका अधिकारीहरूले कोभिड-१९ को अर्को यस्तै केस आएको बताएका छन्। उनीहरूका अनुसार कोरोना संक्रमित १३ वर्षीया अर्की बालिकामा पनि ज्वरो आउने र इन्सेफ्यालोप्याथीको समस्या रहेको देखिएको छ। उनको अहिले उपचार भइरहेको छ। कोभिड-१९ ले उनको अवस्थामा तुलनात्मक रूपमा असर पुर्याएको छ/छैन भन्ने बारेमा डाक्टरहरू परीक्षण गरिरहेका छन्।
कोभिड-१९ संक्रमित बालबालिकाहरू बढीजसो एपिलिप्सी, एन्सेफलाइटिस, कावासकीजस्तै रोग, गियान बर्रे सिन्ड्रोम आदि रोगहरूबाट पीडित हुन थालेको देखिएको छ। यीमध्ये केही रोगहरू दीर्घकालीनरूपमै मष्तिष्क विकासमा अवरोध पुर्याउने किसिमका हुन्छ। यस्ता रोगका लागि नियमितरूपमा डाक्टरसँग सम्पर्कमा रहिरहनुपर्ने हुन्छ। भारत, नेपालजस्तो देशमा त्यस्तो कुरा असम्भवप्रायः छ।
‘जब कुनै बच्चालाई मष्तिष्कसम्बन्धी समस्या आयो भनेर कुनै कल आउँछ, त्यसबेला नै हामीलाई केही न केही अनुमान भइहाल्छ। यस्ता कलहरू सामान्यतया दिनमा करीब २५ वटासम्म आउने गर्छन्। यो धेरै गम्भीर समस्याको रूपमा देखापरिरहेको छ।
'अब अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई पनि बालबालिकामा हुने न्यूरो डेभलपमेन्ट इस्यू पत्ता लगाउने बारेमा तालिम दिनुपर्ने हुन्छ। जसले गर्दा कमसेकम पनि मानिसहरू उनीहरूको समस्या उनीहरूसामू राख्न सकून्। अहिलेको परिस्थितिमा हामी यसका लागि धेरै आर्थिक सहयोग माग्ने मनस्थितिमा छैनौं। तर यसमा सचेत चाहिँ सबै नै हुन जरूरी छ,’ डा गुलाटीले भने।