एजेन्सी– कोरोना संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेपछि युरोपेली मुलुकहरुले फेरि लकडाउनलगायतका प्रतिबन्धहरु लगाउन थालेका छन्।
चेक रिपब्लिकले तीन साताको आंशिक लकडाउन लगाएको छ भने विद्यालय,बार तथा क्लबहरु बन्द गरिएका छन्। त्यहाँ युरोपमै सबैभन्दा बढी संक्रमण दर देखिएको छ।
यस्तै, नेदरल्याण्डमा पनि आंशिक लकडाउन लगाइएको छ भने सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ।
पेरिसमा अस्पतालका आइसीयु आगामी सातासम्म ९० प्रतिशतभन्दा बढी भरिने अनुमान गरिएको छ। राष्ट्रपति इम्यानुअल म्याक्रोँले बुधबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै थप प्रतिबन्धको घोषणा गर्ने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पेरिसलगायतका केही हटस्पटमा कफ्युको घोषणा हुनसक्नेछ।
यसअघि जर्मन चान्सलर एन्जेला मर्केलले युरोपमा कोरोनाको अवस्था पुनः चिन्ताजनक बनेको उल्लेख गर्दै अवस्था झन् गम्भीर बन्दै गरेको उल्लेख गरेकी थिइन्।