मस्को- रूसमा दिनप्रतिदिन कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापरबाही मुख्य कारण रहेको निष्कर्ष अधिकारीहरुले निकालेका छन्।
राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुदै जानुमा आम नागरिकको लापरबाही गम्भीर कारण भएको निष्कर्ष निकालेको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले सोमबार दिएको जानकारीअनुसार आम नागरिकको आवतजावत र हेलचक्र्याईंलाई गम्भीरताका साथ लिइएको छ।
उनले आम नागरिकलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन र त्यसलाई बेवास्ता नगर्न अपिल गर्नुपर्नेमा जोड दिए।
उनले पत्रकारहरुसँग भने, ‘सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न पटक पटक आह्वान गरिरहेको छ, तर आम नागरिकले सुनेनन्, त्यसैले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै गएको हो।’
लकडाउनलाई पनि प्रभावकारी बनाउन नसकिएको बारेमा समेत राष्ट्रपति कार्यालयमा समिक्षा भएको उनले बताए।
छलफलमा कार्यालयका विभिन्न विभागका प्रशासनिक अधिकारीहरु सहभागी भएको उनले जानकारी दिए। राष्ट्रपति कार्यालयका सबै विभागका अधिकारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको उनको भनाइ छ। रासस