अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन्।
यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनीहरुको छोटो चर्चा यहाँ गरिएको छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो नेता हुन्। उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो। उनलाई अस्पतालमा भर्ना गरेर अक्सिजन नै दिनुपरेको थियो। तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन। उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गरेका थिए।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनले सङ्क्रमित भएको बेला मलेरियाविरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरियाविरुद्धको औषधिले काम गर्ने सन्देश पनि दिन खोजेका थिए। त्यो अहिले पनि अप्रमाणित नै रहेको छ। उनले सामाजिक दूरी काम गर्ने, मास्कको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गरेका थिए। उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन्। उनकी श्रीमती पनि सङ्क्रमित भएकी थिइन्।
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो। तर उनमा लक्षण भने सामान्यमात्रै देखिएको उनले बताएका थिए। उनले आफूमा सङ्क्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए।
गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि परेका छन्। उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो। आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत् उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए। उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए।
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनलाई गत जुलाईमा सङ्क्रमण भएको हो। सङ्क्रमित भएपछि उनी आइसोलेसनमा बसेका थिए। उनले त्यो बेलामा कुनै असजिलो भने महसुस नगरेको बताएका थिए। कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए। त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टी भएको थियो। अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा उनमा संक्रमण देखिएको हो। बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरुमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।
डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भई सङ्क्रमणमुक्त भएको समाचारमा जनाइएको छ। उनले आफ्नो निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो।
इरानका उपराष्ट्रपति र मन्त्रीहरु
कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रबिन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि सङ्क्रमित भएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पलाई शुक्रबार ट्वीट गर्दै आफू र श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।
यसअघि उनले आफ्ना एक निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए। उनका ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।
साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयरफोर्स वानमा उनीसँगै थिइन्। मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।
बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा अझ नजिक देखिएकी थिइन्। बिहीबार राति ट्रम्पले ट्विटरमा हिक्सलाई कोरोना भएको उल्लेख गरेका थिए ।
क्वारेन्टाइनले दोस्रो राष्ट्रपतीय बहसलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ।
बिहीवार राति फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए।
यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो।
त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमति तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।
कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने तीमध्ये दुई करोड ५६ लाख ८८ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमित भएकाहरुको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु अमेरिकामा रहेका छन्।
त्यसैगरी सङ्क्रमितहरुको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन्।