बेइजिङ- सीमित व्यक्तिहरूमा आपत्कालीन रूपमा कोरोना भ्याक्सिनको प्रयोग गरेको कामलाई विश्व स्वास्थ्य संगठनले पनि समर्थन गरेको चीनले दाबी गरेको छ। गत जुलाइमा भ्याक्सिनको क्लिनिकल परीक्षण जारी रहेकै बेला चीनले सीमित व्यक्तिहरूलाई आपत्कालीन प्रयोग भन्दै भ्याक्सिन दिएको थियो।
चीनको सो कदमलाई डब्लुएचओले समर्थन गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले बताएका हुन्। तर क्लिनिकल परीक्षणका क्रममा नै रहेका बेला भ्याक्सिनको प्रयोग गरिएको भन्दै केही विज्ञहरूले चासो व्यक्त गरेका थिए।
झोङग्वेइका अनुसार जुनमा डब्लुएचओसँगको सम्पर्क गरी जुलाइमा चीनले भ्याक्सिनको आपत्कालीन प्रयोग गर्न सकिने कार्यक्रम लन्च गरेको थियो।
चीनमा अत्यावश्यक काममा खटिने हजारौं कामदार र संभावित जोखिम समूहका अन्य मानिसलाई पनि भ्याक्सिन दिइएको बताइएको छ। तर तेस्रो चरणको परीक्षण चलिरहेको अवस्थामा सुरक्षाका विषय टुंगो नलाग्दै विज्ञहरूले चासो व्यक्त गरेका थिए।
'जुनको अन्त्यमा चीनको स्टेट काउन्सिले कोभिड-१९ भ्याक्सिनको आपत्कालीन प्रयोग गर्न स्वीकृति दिएको छ,' झेङले पत्रकारहरूसँग भनेका छन्।
'चीनमा भ्याक्सिनको आपत्कालीन प्रयोग स्वीकृति भएपछि जुन २९ मा हामीले चीनमास्थित डब्लुएचओका प्रतिनिधिलाई सम्पर्क गरेका थियौं। हामीले डब्लुएचओ समर्थन रहेको पाएका छौं,' झेङको भनाइ छ।
यता डब्लुएचओले कुनै पनि देश स्वास्थ्य सामग्रीको प्रयोग गर्न स्वतन्त्र हुने प्रतिक्रिया दिएको छ। 'सम्बन्धित देशका राष्ट्रिय नियम र कानुनबमोजिम कुनै स्वास्थ्य सामग्रीको आपत्कालीन प्रयोग गर्न सबै देशहरू स्वतन्त्र हुन्छन्,' डब्ल्यूएचओका सहायक महानिर्देशक डा मारियान्गेला सिमोनोले शुक्रबार जेनेभाको पत्रकार सम्मेलनमा भनेका छन्।
केही समयअघि डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथले पनि कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोग 'अस्थायी समाधान' मात्र हुने उल्लेख गरेकी थिइन्। उनका अनुसार दीर्घकालीन समाधान हुने गरी भ्याक्सिन विकासको काम भने तेस्रो चरणको परीक्षण पूरा हुने क्रममा छ।
तर चीनले आपत्कालीन भ्याक्सिन प्रयोग गरेको बताएपनि पूर्ण विवरण भने सार्वजनिक गरेको छैन।