न्युयोर्क- संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गरेका छन्।
उनले कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशहरुलाई सुविधा र सहयोग उपलब्ध गराउन ती संस्थालाई आग्रह गरेका हुन्। सुरक्षा परिषदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले सो धारणा राखेको समाचारमा जनाइएको छ।
‘हामी चाहन्छौं कि विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाहरुले कोरोना भाइरसको प्रकोपमा परेका देशहरुलाई आवश्यक सहयोग होस् र ती संस्थाहरुले उपलब्ध गराउने सेवा र सुविधाहरुमा संयुक्त राष्ट्रघका सदस्य राष्ट्रहरुको पनि पहुँच होस्’ उनले भनेका थिए।
कोरोना भाइरसको महामारीले विश्वका देशहरुमा आर्थिक समस्या पारेको तथा यसका कारणले विश्वका देशहरु विभिन्न आर्थिक जोखिमको अवस्थामा रहेका भन्दै यस्ता देशलाई सहयोग गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले विश्वमा कोरोना भाइरसको प्रकोपका कारण ठूलो आर्थिक मन्दी आउने र ठूला आर्थिक देशहरुमा पनि यसको समस्या देखा पर्ने बताउँदै आएका छन्। रासस