काठमाडौं- एउटा व्यक्तिको मनोदशा आफू कोरोना संक्रमित भएको थाहापछि कस्तो होला? संक्रमित हुनुमा उसको केही गल्ती नहुँदानहुँदै पनि समाजमा तिरस्कारको सिकार बन्नुपरिरहेको अवस्था, सबैको खप्की खानु परिरहेको स्थिति, रोगले कस्तो लक्षण देखाउला भन्ने चिन्ता, आफन्त, सन्ततिको चिन्ता आदि-आदि।
यो अवस्थामा ऊसँग सम्पर्क गर्दा सुरुमा त मनस्थिति सम्हाल्दै, सान्त्वना दिँदै उसको सम्पर्कमा आएका मानिसहरुको विवरण निकाल्नु निकै संवेदनशील काम हो। त्यसपछिको चरणमा संक्रमितसँग सम्पर्कमा आएका मानिसहरुलाई सम्पर्क गर्दै परीक्षण गराउने र नियमित फलोअप गर्ने काम पनि सजिलो छैन। त्यो जटिल कामको नाम हो कन्ट्याक्ट ट्रेसिङ।
कन्ट्याक्ट टे«सिङको महत्वको बारेमा लगभग सबैजसो नपाली जानकार भइसकेका छन्। कोही एक जना कोभिड-१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा औसत ५/७ जना अरु संक्रमणको जोखिममा रहेका वा संक्रमित भइसकेका व्यक्तिहरुको पहिचान हुन्छ र यसले कारोना भाइरसको ट्रान्सफर चेन भत्काउन ठूलो मद्दत गर्छ। कन्ट्याक्ट ट्रेसिङ गर्नु जति महत्वपूर्ण छ, यो गर्न त्यति नै जटिल पनि छ।
काठमाडौं उपत्यका कोभिड-१९ को पछिल्लो ‘हट स्पट’ बनेसँगै कीर्तिपुर पनि उच्च जोखिममा परेको छ। कीर्तिपुर त्यो ठाउँ हो, जहाँ नेपालका लगभग सबै जिल्लाका मानिसको अस्थायी बसोबास छ। तर कोभिड-१९ को महामारी तथा सरकारले घोषणा गरेको लकडाउनसँगै कीर्तिपुरमा बाहिरबाट आएर बसोबास गर्ने मानिस गाउँघरतिरै लागेपछि हाल कीर्तिपुरमा त्यहीँका रैथानेहरु मात्र भेटिन्छन्। तथापि जोखिम कम हुने कुरै भएन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ केसको खोजपड्ताल गर्न कन्ट्याक्ट टे«सिङ निर्देशिका जारी गरेको केही समयपछि कीर्तिपुर नगरपालिकामा निर्देशिका अनुसार दुईवटा कन्ट्याक्ट ट्रेससिङ टिम गठन भए। पहिलो टिममा डा छवुकला गुरुङ, आशिष शर्मा कँडेल र सलिम सिंह विसांकी सदस्य रहे भने दोस्रो टिममा बालकुमार ओझा, भोजन ढकाल र अम्बिका अधिकारी सदस्य रहेका छन्।
सुरुसुरुमा कोभिड-१९ का केसहरु फाट्टफुट्ट मात्र देखिन्थे, देखिएका केसलाई सहजै खोजपड्ताल गर्न सकिन्थ्यो। बब काठमाडौं उपत्यकामा केसहरु बढ्न थाले, कीर्तिपुर पनि अछुतो रहन सकेन। दिनप्रतिदिन केसहरु थपिँदै जाँदा कन्ट्याक्ट ट्रेसिङ टिम व्यस्त हुन थाल्यो। मुलुक कोरोनाको जटिल संकटमा फस्दै जाँदा काठमाडौं उपत्यकामा दोस्रो चरणको निषेधाज्ञा जारी भयो। निषेधाज्ञाको समयमा सरकारका पक्षबाट केके काम भयो त भन्ने प्रश्नको सशक्त उत्तर यति परिमाणमा कन्ट्याक्ट ट्रेसिङ गरियो भन्ने हुनुपर्थ्यो जो भयो/भएन आफ्नो ठाउँमा समीक्षाको पाटो हुने नै छ। कीर्तिपुरको हकमा भने कन्ट्याक्ट ट्रेसिङको सन्दर्भमा राम्रो काम भएको छ।
केस बढेसँगै दुईवटा टिमलाई कामको चाप बढी पर्न थालेको र टिमका सदस्य आफैँ संक्रमणको जोखिममा रहेकोले क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएमा काम ठप्प हुने अवस्था नआओस भनेर नगरपालिकाले दुईवटा टिम थप गठन गर्यो। थप गरिएको टिममध्ये एउटा टिममा अमित शाह, ईश्वर श्रेष्ठ र कामेश्वर चौधरीलाई राखियो भने अर्को टिममा रणेन्द्र बोहोरा, शान्ति सुवेदी र रतिलाल चौधरीलाई राखियो।
टिम थप भएको केही समयमै पहिलाका टिमका सदस्यहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो। नगरपालिकाको भवनमै क्वारेन्टाइनमा बसेका टिमका स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइनबाटै कन्ट्याक्ट ट्रेसिङको कामलाई निरन्तरता दिए र अन्य टिम सदस्यहरुले साथ दिए। जुन कोठामा उनीहरु आफैं क्वारेनटाइनमा बसेका थिए, त्यहाँ वरिपरि थुप्रै फाइल, कन्ट्याक्ट ट्रेसिङका फारम, फलोअपका फारम, सम्पर्क रजिस्टरहरु थिए भने उनीहरु नगरका विभिन्न स्थानमा देखिएका केस र कन्ट्याक्टलाई फोन गर्नमा व्यस्त देखिन्थे। भनेजस्तो सुविधा र साधन-स्रोतको न्यून उपलब्धताका बाबजुद खुब मिहिनेतका साथ उनीहरु काम गरिरहेका थिए।
यता उनीहरुलाई भरसक सुरक्षा सामग्री र अन्य लजिस्टिकको व्यवस्थापन मिलाउन नगरपालिकाको स्वास्थ्य शाखा उत्तिकै लागिपरेको छ। कन्ट्याक्ट ट्रेसिङको समग्र व्यवस्थापन र रिपोर्टिङमा स्वास्थ्य शाखा जिम्मेवार ढंगले लागेको देखिन्छ। नगरपालिकाको नेतृत्वले कन्ट्याक्ट ट्रेसिङको काममा खटिने स्वास्थ्यकर्मीको सेवा-सुविधामा निरास नबनाउने संकेत गरेको छ।
कन्ट्याक्ट टेसिङमा काम गर्ने सबै स्वास्थ्यकर्मीहरु योग्य, जुझारु र अनुभवी तथा परिपक्व छन्। कन्ट्याक्ट ट्रेसिङमा रहेका सबै स्वास्थ्यकर्मी बिहान सबेरैदेखि साँझ अबेरसम्म नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमा खटिएका हुन्छन्। हाल प्रत्येक दिनजसो नगरपालिकाका विभिन्न ठाउँहरुमा संक्रमितको कन्ट्याक्टको नमुना संकलन गर्न जाने, उनीहरुको विभिन्न फारमहरुमा रेकर्ड राख्ने र नियमित रिपोर्ट गर्ने जस्ता कामको निरन्तर चापले उनीहरुलाई कहिलेकाहीँ पानी खाने फुर्सद पनि मिल्दैन।
हाल कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको कोरोना प्रयोगशाला (पिसिआरल्याब) ले उनीहरुको कामलाई केही सहज बनाएको छ। जिल्ला तथा प्रदेशस्तरीय कार्यक्रमहरुमा काठमाडौं उपत्यकाका अन्य नगरपालिकामा भन्दा कीर्तिपुरमा कन्ट्याक्ट टे«सिङ टिमले राम्रो काम गरिरहेको समीक्षा पनि हुने गरेको छ। यसले कीर्तिपुरको कन्ट्याक्ट ट्रेसिङ टिमलाई थप राम्रो गर्न हौसला दिइरहेको छ भने अन्य पालिकाहरुलाई पनि उदारहण बनिरहेको छ।