काठमाडौं- चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी कोरोना संक्रमणमुक्त भएका छन्। २० दिनको आइसोलेसन बसाईपछि उनी आज डिस्चार्ज भएका हुन्।
शुक्रबारको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनी आइसोलेसनबाट डिस्चार्ज भएका हुन्।
डिस्चार्ज भएपछि उनले कोरोना संक्रमितले आत्मबल बलियो बनाउन सुझाव दिए।
'आत्मबल उच्च राख्नुपर्छ। घर परिवारका साथै समाजले संक्रमितलाई सकारात्मक रुपमा लिँदै आत्मबल बढाउन सहयोग गर्नुपर्छ,' उनले भने।
सो क्रममा उनले आइसोलेसनमा बस्ने क्रममा सुरुका ७ दिन लक्षण देखियो तर पछि क्रमश: सुधार हुँदै गएको जानकारी दिए।
डा तिवारीले आफूलाई स्वाद थाहा नहुने, गन्ध थाहा नहुने, ज्वरो तथा खोकी लाग्ने लक्षण देखिएको जानकारी दिए।
संक्रमणमुक्त भएपछि डा तिवारीले जोखिम मोलेर संक्रमितको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्न पनि आग्रह गरेका छन्।