धाराको पाइप चुहियो
प्लम्बरलाई बोलाएँ
जब उसको फी सुनियो
निकै बेर टोलाएँ
मैले केही बोल्न सकिनँ
एकदिन
त्यही प्लम्बर मकहाँ आयो जँचाउन
मेरो फी थाहा पाई थाल्यो चिच्याउन
मैले केही बोल्न सकिनँ
मेरो मोबाइल बिग्रियो
मोबाइल पसलेकहाँ गएँ
जब उसले चार्ज लियो
म त निकै चकित भएँ
मैले केही बोल्न सकिनँ
एकदिन
त्यही मोबाइल पसले पर्यो बिरामी
मेरो फी महँगो भन्यो लाज नमानी
मैले केही बोल्न सकिनँ
एउटा एप्रोन चाहियो
टेलर्स कहाँ धाएँ
महँगो ज्याला तिरियो
अनि एप्रोन लाएँ
मैले केही बोल्न सकिनँ
एकदिन
त्यही टेलरवाला आयो समस्या लिई पेटमा
मेरो फी महँगो भन्यो मसँगको भेटमा
मैले केही बोल्न सकिनँ
बिजुलीको लाइन बिग्रियो
इलेक्ट्रिसियनलाई गरेँ फोन
जब उसले शुल्क लियो
म त भएँ एकछिन मौन
मैले केही बोल्न सकिनँ
एकदिन
त्यही इलेक्ट्रिसियन मकहाँ देखा पर्योि
मेरो शुल्क घटाइदिन धेरै बिन्ती गर्यो
मैले केही बोल्न सकिनँ
सानो छोराको गर्न जन्म दर्ता
कार्यालयभित्र पसेँ
दर्ता शुल्क रहेछ निकै बढ्ता
म त एकछिन तर्सेँ
मैले केही बोल्न सकिनँ
एकदिन
त्यहाँको कर्मचारी मकहाँ आयो परी थला
मेरो फीको बहस गर्दा सुक्यो उसको गला
मैले केही बोल्न सकिनँ
ठूलो छोरा पढाइमा कमजोरी
पठाएँ ट्युसन पढ्न
शिक्षकको शुल्क आफूखुसी
थालेको रहेछ बढ्न
मैले केही बोल्न सकिनँ
एकदिन
त्यही शिक्षक आयो जब रोगले गाल्यो
मेरो फी महँगो भनी उफ्रन पो थाल्यो
मैले केही बोल्न सकिनँ
बाहिर घुम्न जाँदा
होटलमा बस्नुपर्यो बास
अधिक दाम माग्दा
हामीले छोड्नुपर्यो गाँस
मैले केही बोल्न सकिनँ
एकदिन
होटल साहु आए रेगुलर चेकअपमा
महँगो फी भनी मेसेज आयो ह्वाट्सएपमा
मैले केही बोल्न सकिनँ
एउटा मुद्दा आइलाग्यो
खटाएँ लेखनदास
जब उसले शुल्क माग्यो
रोकियो मेरो सास
मैले केही बोल्न सकिनँ
एकदिन
त्यही लेखनदास मकहाँ आए सल्लाह लिन
मेरो शुल्क महँगो भयो भनी मानेन नि तिर्न
मैले केही बोल्न सकिनँ
म चुपचाप बस्छु
कदर छ हरेकको श्रमको
म नै शिकार हुन्छु
लुटेरा नै हुँ भन्ने भ्रमको
मैले केही बोल्न सकिनँ