दिनहुँ संक्रमण बढिरहेका बेला
आफ्नै ज्यान जोखिममा राखी
पहिलो पंक्तिका सिपाही मानिने हामी
जो शीर उठाएर लड्न तयार छौं
अरूलाई जीवनदान दिन तम्तयार छौं
तर आज तिमी नै ऊ समाजमा नबसोस् भन्ने चाहन्छौ
हे मूर्ख समाजवासी!
यदि प्रसंशा गर्न सक्दैनौ भने अपमान पनि नगारिदेऊ
एका बिहानै हस्याङफस्याङ गर्दै हिँडेको म
न त खानापिनाको कुनै ठेगान छ
न आनन्दको सुस्केरा नै लिन पाउँछु
न त पिपिईको कुनै वास्ता छ,
न भेन्टिलेटरको नै
केवल एउटा मास्क र ग्लोभ्सको आडमा
दिनरात, घरपरिवार नभनी खटिरहँदा पनि
आफ्नो ज्यानको आहुती दिँदादिँदै पनि
किन यति धेरै अपवाद
हे मूर्ख समाजबासी!
यदि प्रशंसा गर्न सक्दैनौ भने अपमान पनि नगरिदेऊ
राति जब थकित भयेर कोठा फर्किन्छु
तिमी ६-७ जना मान्छे बटुलेर,
टोलबाट डाक्टर निकाल्ने अभियान चलाउँछौ
अझै उफ्रीउफ्री नारा लगाउँछौ
'डाक्टरले अस्पतालबाट भाइरस ल्याउँछन्
अनि हाम्रो समाज तहसनहस बनाउँछन्'
कठै! म कठै! मेरो लाचारपना
स्तब्ध बनाउँछ तिम्रो अवोधपनाले
भाइरस हामीले होइन तिमी स्वयंले फैलाइरहेका छौ
मानासिक रोगबाट त तिमी दिनप्रतिदिन ग्रसित बन्दैछौ
उल्टै हामी तिमीजस्तै बन्छौं कि भनेर भयभित हुँदैछौ
अरे मूर्ख समाजबासी!
यदि प्रशंसा गर्न सक्दैनौ भने अपमान पनि नगरिदेऊ।
हे अहङ्कारी र अभिमानको पट्टी बाँधेका दुष्टहरू!
विरोध त यस्तरी गरिरहेका छौ कि मानौं,
आउँदो ७ पुस्तासम्म तिमीलाई हाम्रो खाँचो पर्दैन
जुन रफ्तारमा भाइरस बढिरहेको छ नि
त्योभन्दा कयौं गुना त तिम्रो दानवता बढ्दो छ
दया लाग्छ तिम्रो रणनीति देख्दा
जीवनदान दिने डाक्टरलाई समाजबाट निकाल्दा
यस्तै पारा हो भने त भोलि कुन नैतिकताले तिमी हामीकहाँ आउँछौ
आज मास्कले अनुहार ढाकेका छौ,
भोलि कसरी भेन्टिलेटरमा आमनेसामने गर्छौ
किन यस्तो आत्मीयता नै गिर्ने काम गर्दैछौ
आखिर कस्तो समाजको निर्माण गर्न लागिरहेको छौ तिमी
जहाँ फूलमाला, टीका लागाएर सम्मान गर्नुपर्नेमा
तिमी छिःछिः र दूरदूर गर्दै समाजबाट पन्छाउँछौ
आज समाजबाट, भोलि देशबाट निकाललाउ
किन, जहिलै वाहवाहीको सट्टा अपमानको भागिदार बनाउँछौ
धिक्कार छ तिम्रो मानवताप्रति
यदि यस्तो बेलामा सम्मान गर्न सक्देनौ भने
बिन्ती मेरो दुर्व्यवहार पनि नगरिदेऊ।