धेरैले कोरोना भाइरसको खोप बन्नुको अर्थ प्रयोगका लागि तयार भएको बुझेका छन्। तर, अहिले कोरोना भाइरस विरुद्धको खोप बन्नुको अर्थ प्रयोगशाला र जनावरमा परीक्षण सफल भएर मानवमा परीक्षण गर्नेगरी तयार भएको हो। मानवमा भएको परीक्षणमा पास भएपछि मात्रै यो प्रयोगका लागि योग्य हुन्छ।
धेरै खोप यो चरणमा पुगेर समेत असफल हुन सक्ने जापानस्थित युनिभर्सिटी अफ नागिसाकीका सहप्राध्यापक डा श्यामप्रकाश डुम्रे बताउँछन्। स्वास्थ्य संवादमा बोल्दै उनले भने, ‘खोप बन्नु र प्रभावकारी र सुरक्षित खोप बन्नु फरक कुरा हुन्। धेरै मान्छे अहिले यही भ्रममा छन्। मान्छेलाई उक्त भ्याक्सिन लगाए कोरोना लाग्दैन भन्ने स्थितिमा खोप पुगेको होइन।’
डाक्टर डुम्रेका अनुसार अहिले विश्वका ६ भ्याक्सिन निर्माताहरु तेस्रो चरणको परीक्षणमा पुगेका छन्। ११ दोस्रो चरणमा छन् भने १५ पहिलो चरणमा छन्। उनकाअनुसार अक्सफोर्ड विश्वविद्यालयको खोप सवैभन्दा अघि बढेको छ। त्यो मानवमा तेस्रो चरणको परीक्षण भइरहेको छ। खोपको परीक्षणका चरण लामा हुन्छन्। मान्छेमा लगाउँदा हुन्छ भन्ने निक्र्योल गरे गरिसकेपछि पनि धेरै प्रक्रिया हुने उनी बताउँछन्। मान्छेमा लगाउन मिल्ने भएपछि तीन चरणमा परीक्षण गरिन्छ। ६ वटा खोपहरुले पहिलो दुई चरण पार गरेका छन्। उनीहरु अब ठूलो समुदायमा परीक्षण गर्दछन्।
त्यसैले परीक्षणका लागि खोप तयार भएको हो। प्रयोगका लागि होइन। सवैभन्दा अघि बढेको भनिएको अक्सफोर्ड भ्याक्सिन ग्रुपले पनि २०२१ अक्टोबरसम्म परीक्षण नै हुने बताएको डाक्टर डुम्रे बताउँछन्। उनी भन्छन्, ‘खोप औषधि जस्तो चाँडै बन्दैन। औषधि बनाएपछि बिरामीलाई दिँदा काम गरेमा पास नत्र फेल भन्न मिल्छ। तर, खोप लगाइसकेपछि लामो समय पर्खेर हेर्नुपर्छ।’ जब खोपले काम गर्न सक्छ भन्ने पत्ता लाग्छ। त्यसपछि यसको लाइसेन्सिङ र नियमनका विषय आउँछन्। नतिजा आउँछ, त्यसपछि मात्रै यो खोप सुरक्षित छ । काम पनि गर्न सक्छ भनेपछि खोपको लाइसेन्सिङ छ। नियमनको कुरा हुन्छ। त्यसपछि धेरै उत्पादन भएर सर्वसाधारणमा आउँछ।
खोपले कति काम गर्छ ? फेरि त्यो प्रश्नको उत्तर खोज्नुपर्छ । डाक्टर डुम्रे भन्छन्, ‘कोरोना विरुद्धको खोप लगाउँदा दुई महिना उक्त भाइरसले आक्रमण गर्न नसक्ने देखियो। दुई महिनाका लागि काम गर्ने खोप आर्थिक दृष्टिले कति सुलभ हुन्छ? लाखौं रुपैयाँ दुई महिनाका लागि तिर्न सकिन्छ कि सकिदैन? जस्तो प्रश्नहरु त्यसपछ आउँछन्। त्यसैले यो लामो प्रक्रिया हो।’ उनी खोप सफलताउन्मुख भइरहेकाले आशावादी बनेपनि अपेक्षा गरेजस्तो चाँडै तयार भएर आमजनमा आउन मुश्किल रहेको बताउँछन्।
नेपालमा रहेको कोरोना संक्रमणको अवस्था, लकडाउनमा गरिनुपर्ने तयारी र कोरोनाले अब पार्न सक्ने प्रभावका विषयमा समेत डा डुम्रेसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस्: