विश्वको संघारमा,
चीनले चिनाएको यो भयावह
देशबीच मच्चिएको कलह
हाँसोले निम्त्याएको रोदन,
आज तिम्रो हात पनि रित्तै,
अनि मेरो हातमा
यो ओगटिनसक्नुको बिजोग झन्।
परिस्थिति यो अनौठो,
मुख छोप्ने रुमालको टुक्रा सानो
माथि उसको शीर, तल कोरोनारुपी अचानो
ज्वोरोले गालेको उसको शरीर,
आइसियुमा अक्सिजनको भर,
विकराल रुप लिए ज्यानको डर,
फोक्सोले साथ दिए जीवन।
मातृभूमिको मुस्कान,
हरेक चेहरा रुँदैछ अनि देश रम्दैछ अरे
यो भूमिले अनुहारको पोतो मेट्दैछ अरे
भरे के हुने हो- लक्ष्यविहीन मन यहाँ,
हरेक पलको त्रास,
विचलित सारा देश
छन् बिना निद्राका नयन, अनि भोकविहीन पेट यहाँ।
भाइरसको आभाष,
न तिम्रो घरले पाओस्
न मेरो परिवरमा आओस्
नबनेको औषधिको उपचारार्थ,
भाइरसको भोकले निम्त्याएको शोकझैं,
ती बुढा बाजेका अनियन्त्रित श्वासले
खोज्दैछन् अन्तिम पलसम्म बाँच्नुको अर्थ।
अचेत छन् सोच सबको,
नजानेको रोगले लग्ने भय
घडीको सुइसँगै, हात धारामा पुग्ने भए
बेरङ छन् हरेक रङ आज,
कोरोनाले मिचेको सिमानाले
उसको, तिम्रो, मेरो मनको डर-
लिँदैछ विकराल रूप आज।
अटुट यो नाता हाम्रो,
तिमी अनि म आज पनि निडर मन लिई
ठाउँ आ-आफ्नै, तर सबलाई आत्मबल दिई,
बन्द सडक, छोडिदेऊ, बन्द रहोस् केही दिन
कठिन समय यो बित्नेछ छिट्टै;
तिम्रो भूइँलाई बचाऊ तिमी
एकजुट मनोबलले यहाँ जित्नेछ कैंयौ दिन।