डा प्रदीप ज्ञवाली
कोरोनाविरुद्धको खोप उत्पादन गरेका केही कम्पनीहरुको क्लिनिकल परीक्षण अहिले तेस्रो चरणमा पुगेको छ। त्यसमा रशियाको कम्पनीले, चीनको होङ्सी सिमेन्ट प्रालि र युकेको अक्सफोर्ड युनिभर्सिटी ग्रुपले पनि नेपालमा क्लिनिकल परीक्षणको इच्छा देखाएका छन्।
हामीले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालय मार्फत चिठी प्राप्त गरेका छौँ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यी कम्पनीका भ्याक्सिनको अनुसन्धानका विषयमा नेतृत्व खेल्ने हिसाबमा त्यसको सम्भाव्यता र अध्ययन अनुसन्धान कुरा गर्ने भनेर पठाएको छ। त्यो बारेमा छलफल गर्दै छौँ।
अक्सफोर्डले उत्पादन गरेको भ्याक्सिनको लागि त्यहाँका वैज्ञानिकसँग विश्व स्वास्थ्य संगठनको पहलमा हामीले मिटिङ गरिसकेका छौँ। अहिले सम्म विश्वभर ७ वटा विभिन्न कम्पनीहरु क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगिसकेको अवस्था छ। ७ वटा कम्पनीमध्ये तीनवटा कम्पनीसँग मिलेर कसरी जाने होला भनेर हामी छलफलमा छौँ।
त्यसमध्ये चीनको होङसीको एक हजार जना जतिलाई अनुसन्धान गर्ने भन्ने कुरा आइसकेको छ। त्यसको लागि एउटा टेक्निकल टिम बनाएर गर्न लागेका छौँ।
अर्को भनेको रशियाले बनाएको भ्याक्सिनका विषयमा रशियन राजदुतसँग कुरा भइसकेको छ। नेपालमा हामी क्लिनिक ट्रायल गर्न तयार छौँ, हामीलाई भ्याक्सिन दिनुहोस भनेर पत्र पठाएका छौं। त्यस्तै अर्को विषय पनि उक्त चिठीमा छ। त्यो भनेको हामी पनि किन भ्याक्सिन उत्पादन नगर्ने त। उत्पादनका विषयमा सम्भाव्यता हेरेर तपाईँहरुले लगानी गर्न चाहँदा वा नेपाल सरकारले चाहँदा हामी पनि तयार छौँ भन्ने विषय छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सेन्ट्रल इथिकल बोर्ड छ। त्यसमा साइन्टिफिक हिसाबले काम हुन्छ। विषयविज्ञमा विभिन्न विषयका विज्ञ राख्न पर्ने हुन्छ त्यसको मिटिङमा त्यो पेस गर्नु पर्छ। त्यसको साइन्टिफिक हिसाबले अन्तराष्ट्रिय मापदण्डको हिसाबले पनि काम गर्छौं।
त्यसपछि क्लिनिकल ट्रायल गर्दा हामीले अनुमती पाइसकेपछि त्यो औषधिको अनुमति दिने औषधि व्यवस्था विभाग हो। हामीले एक हजार जनाको अनुसन्धान गर्ने हो भने विभागसँग त्यसका लागि स्विकृतिका लागि निवेदन दिन्छौं। उहाँबाट स्विकृति पाएपछि अन्तराष्ट्रिय मान्यता अनुसार काम अगाडि बढ्छ।
(डा ज्ञवाली नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव हुन्।)