दीर्घरोगीका लागि छुट्टै अस्पताल तोक्नुपर्छ
काठमाडौं– कोरोना भाइरस संक्रमण देखिन थालेको ६ महिनाभन्दा धेरै भइसकेको छ। यो समयमा करिब २५ हजार व्यक्तिगत संक्रमित भएका छन् भने अहिलेसम्म ९६ व्यक्तिले ज्यान गुमाइसकेका छन्। हालसम्म १६ हजार ८ सय ३७ व्यक्ति निको पनि भएका छन्।
तर, यो समयमा कोरोनाभन्दा अन्य रोगले पनि मानिसहरुले दुःख पाइरहेका छन्। भर्खरै प्रकाशित भएको एउटा अनुसन्धानको तथ्यांकले संस्थागत सुत्केरी ५२ प्रतिशतमा झरेको देखाएको छ भने मातृशिशु मृत्युदर बढ्ने देखाएको छ।
यो अवस्थामा कोरोना संक्रमितको उपचारसँगै अन्य रोगको उपचार व्यवस्था कसरी मिलाउने भनेर स्वास्थ्यखबर पत्रिकाले विभिन्न स्वास्थ्यका निकायका प्रतिनिधिसँग अन्तर्क्रिया गरेको थियो। सो अन्तक्र्रियामा विज्ञहरुले कोभिड र ननकोभिडको उपचार छुट्टाछुट्टै अस्पतालमा गर्नुपर्ने र दीर्घरोगीकको उपचारका लागि पनि छुट्टै अस्पताल तोक्नुपर्नेमा जोड दिएका थिए।
अन्तर्क्रियामा कसले के भने त?
होम आइसोलेसन विस्फोटनको जड हुनसक्छ त्यसकारण संस्थागत आइसोलेनको व्यवस्था गर्नुपर्छ
डा अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ
कोभिडको अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरु हतोत्साही भएको अवस्था छ। धेरै स्वास्थ्यकर्मी संक्रमित हुनुहुन्छ भने जति तयारी हामीले गर्नुपर्ने हो त्यसखाले तयारी पनि भएको देखिँदैन।
पछिल्लो समय कोभिड मात्रै होइन, अन्य स्वास्थ्य सेवाहरु पनि प्रभावित भएका छन्।
विश्व अन्य देशका तथ्यांकहरुले पनि कोभिडको समयमा अन्य स्वास्थ्य सेवाहरु पनि प्रभावित हुने देखाएको छ। किनभने यो समयमा स्वास्थ्य सेवा सबै कोभिड केन्द्रित हुँदा यस्तो समस्या आउने देखाएको छ।
नेपालमै कोरोनाका कारण अन्य सेवा प्रभावित भएका छन्। बाल मृत्युदर बढेको छ, संस्थागत प्रसूति आधाभन्दा घटेको देखाएको छ। मानसिक स्वास्थ्यको समस्या पनि बढ्ने देखाउँछन्। यो समयमा क्षयरोग, मुटुरोग, हृदयघात लगायत रोगको उपचार निकै कम भइरहेको छ। यस्तो समयमा यी रोगका उपचार नहुँदा यसको प्रभाव पछिसम्म देखिन्छ।
स्वास्थ्य सेवालाई प्रभावित हुन नदिई अन्य स्वास्थ्य सेवा प्रवाह गर्न पहिलो काम नै कोभिड नियन्त्रणमा ध्यान दिनु हो। कोभिडलाई जति चाँडो नियन्त्रण गर्न सक्यो अन्य सेवालाई सुचारु गर्न सक्छाँै।
कसरी समुदायमा संक्रमण घटाउने, अस्पताल जाने संख्या कसरी घटाउने भन्ने कुरामै ध्यान दिनुपर्छ। त्यसको लागि आइसोलेसन, क्यारेन्टाइनको व्यवस्था हुनैपर्छ। त्यसका लागि स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने, उपकरण व्यवस्था कसरी गर्ने, स्वास्थ्य संस्थालाई संक्रमणको केन्द्र कसरी बन्न नदिने भन्ने कुरामै ध्यान दिनुपर्छ।
अत्यावश्यक बाहेकका सेवाहरु अहिलेलाई अस्पतालमा कम गरिनुपर्छ। चिकित्सक र बिरामी नजिकको भएर सेवा दिने काम कसरी कम गर्ने, कुनै सेवा दिन बिरामीले मास्क समेत लगाउने नमिल्ने खालको हुन्छ, (जस्तोः इन्डोकोस्कोपी, इएनटी, डेन्टल सेवा) यस्तो बेलामा कसरी सुरक्षित रहने भन्नेमा ध्यान दिनुपर्छ।
स्वास्थ्य संस्थामा राखिएको फिबर क्लिनिक राम्रोसँग चलेको छैन। त्यसको प्रमाण के भने धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्। किनभने त्यहाँ सुरक्षाका उपाय राम्रोसँग अपनाइएको छैन। भित्रको भौतिक दूरी मेन्टेन भएन। बिरामीको भीड नियन्त्रण भएन। सामूहिक मिटिङलाई कन्ट्रोल गर्न नसक्दा नै स्वास्थ्यकर्मीलाई पनि सरेको अनुमान गर्न सकिन्छ।
हामीले जुनसुकै स्वास्थ्य सेवा प्रवाहको विधि अपनाए पनि सबै स्वास्थ्यकर्मीहरुले मास्क, फेस सिल्ड लगाउनैपर्ने, अन्य मानिसको सम्पर्कमा आउनुपर्दा गाउन लगाउनै पर्ने, हरेक अस्पतालमा र्यापिड रेस्पोन्स टिम हुनैपर्छ। जसले रहेक किसिमको रिपोर्ट ट्रेस गर्छ। अस्पतालभित्र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ। संक्रमित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसनमा राख्ने, कसलाई कहिले परीक्षण गर्ने भन्ने निर्णय लिन सकोस्। त्यसैले हरेक अस्पतालमा इन्फेक्सियस डिजिज कन्ट्रोलका लागि र्यापिड रेन्सपोन्स टिम चाहिन्छ होला।
नेपालमा क्रिटिकल केयरका लागि पर्याप्त जनशक्ति छैनन्। अहिले कतिपय स्थानका स्वास्थ्यकर्मीले क्रिटिकल केयर मेरो काम होइन तर त्यहाँ नै काम गर्नुपरेको छ भन्नुहुन्छ। म आफैंलाई गाह्रो लाग्छ। यस्तो अवस्थामा हामीले क्रिटिकल केयर एसोसिएसनमा राखेर एउटा कन्सल्टिङ युनिट बनाउनुपर्छ। जसले बाहिरीका चिकित्सकलाई प्रश्न सोध्ने, भिडियो च्याट गर्ने, क्रिटिकल केयरबारे सोध्ने वातावरण मिलाइदिनुपर्छ।
पछिल्ला समयमा पे्ररित गरिएको होम आइसोलेसन विस्फोटनको जड हुनसक्छ। अहिले मैले देखिरहेको समस्या के भने, बिरामीहरु मलाई फोन गरेर ज्वरो आएको छ, खोकी लागेको छ भन्नुहुन्छ। मैले परीक्षण गराउन जानुस् भनेर भन्दा २ कारणले जान मान्नुहुन्न। एउटा, परीक्षण गराउँदा पोजिटिभ आयो भने छरमिकेकले घरिपरिवारलाई दुव्र्यवहार गर्छ। अर्को, पुलिस आउँछ अनि मलाई कहाँ लगेर थन्क्याइदिन्छ भन्ने डरले। अयोग्य ठाउँमा बस्न दिइन्छ भन्ने डर छ।
होम आइसोलेसन भनेको अनकन्टार ठाउँमा हुनैसक्दैन। नजिकै ठूलो आइसियु भएको अस्पताल हुनैपर्छ। हामी अमेरिकाको उदाहरण हेर्छौैं। त्यहाँ हरेक आधा घण्टामा आइसियुको सुविधा छ। समस्या हुने बित्तिकै ७ मिनेटमा जहाँबाट पनि एम्बुलेन्सले अस्पताल पुर्याउन सक्छ। फेरि त्यहाँ परिवार पनि छुट्टाछुट्टै बस्छन्।
हामीले विदेशको हेरेर यहाँ लागू गर्न खोज्छौँ। नेपालमा मिल्दैन। हाम्रोमा सबैको व्यक्तिगत रुम, शौचालयको सुविधा छैन। काठमाडौं लगायतका केही सहरका धनाढ्य परिवारमा मात्र होम आइसोलेसन सम्भव हुन सक्छ। त्यसैले संस्थागत आइसोलेनको व्यवस्था गर्नैपर्छ। जुन बिरामी भाग्न सक्ने खालको हुनु हुँदैन।
जसले गर्दा हामीले लक्षण नभएका संक्रमतिलाई त्यहाँ राख्न सकियो भने लक्षण भएका र उपचार पाउनैपर्ने संक्रमितले अस्पतालमा उपचार पाउँछन्। त्यसको अर्को फाइदा के हुन्छ भने, अहिले हामी स्वास्थ्यकर्मी धेरै संक्रमित भएको कुरा गरिरहेका छौं किनभने अस्पतालमा लक्षण नभएका बिरामी भर्ना गरिरहेका छौँ नि त।
ती लक्षण नभएका बिरामीलाई आइसोलेसनमा राख्न सकेमा अस्पतालमा चाप कम हुन्छ भने अस्पतालमा लक्षण भएका र गम्भीर बिरामीलाई मात्र भर्ना गर्न सकियो भने स्रोतसाधनको पनि उचित प्रयोग हुन्छ जस्तो लाग्छ।
वीरगञ्जकै उहाहरण हेरौँ, त्यहाँ अस्पताल भर्ना हुनुपर्ने बिरामी घरमा, लक्षण नभएका बिरामी अस्पतालमा भर्ना भएको अवस्था छ।
कोभिडका बिरामी बढेकाले ३–४ ठूला अस्पताललाई लिएर शंकास्पद बिरामी त्यहाँ राख्न सकिन्छ। र, त्यो बीचमा अन्य अस्पतालमा कोभिड उपचारका लागि तयार गर्नुपर्छ। त्यसमा पनि पुगेन भने फेरि नयाँ योजना बनाउनुपर्छ। अस्पतालले पनि लगानी लगाउनुपर्छ। त्यसकै लागि तोकिएको टिम बनाउनुपर्छ।
तर, अहिले सबै अस्पतालमा २० प्रतिशत बेड छुट्याउनु भनिएको छ। यो अव्यावहारिक र अदूरदर्शी काम हो। हामीले के ध्यान दिनुपर्छ भने, जति पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ ती कोभिडका लागि नछुट्याइएका अस्पतालका हुन्। त्यहाँ मिसमास भएको छ। त्यहाँ उचित सुरक्षाको पालना भएको छैन। कोभिडकै लागि तोकिएका अस्पतालका कर्मचारीलाई कम संक्रमण देखिएको छ।
अस्पतालमा अचानक सेवाहरु नरोकिने ग्यारेन्टी हुनुपर्छ, समुदायस्तरबाट घरमै सेवा पुर्याउनेतिर सोच्नुपर्छ
प्राडा भगवान कोइराला, अध्यक्ष नेपाल मेडिकल काउन्सिल
यो विषम परिस्थित हो। यो समयको दुभाग्यपूर्ण अवस्थामा हामी छौँं। सामान्य समयमा पनि निकै कठिनसँग चलिरहको हाम्रो स्वास्थ्य संस्थामा हाम्रो क्षमताभन्दा बाहिरको नयाँ रोग थपिएपछि कठिन भएको हो। यहाँ पुरानो उपचार क्षमताले नयाँ थपिएको रोगको उपचार गर्न सकिँदैन। त्यसका लागि थप स्वास्थ्य उपचार क्षमता बढाउनैपर्छ। कोरोनाले यस्तोसँग नसर्ने रोग र अन्य सरुवा रोगलाई असर गरेको छ। कोभिडपछि केही क्षमता थपिएको छ। जुन हिसाबले रोगको संक्रमण बढिरहेको छ, त्यही हिसाबमा उपचारका क्षमता, बेड चिकित्सक, स्वास्थ्यकर्मी, सामग्री उपकरण लगायतको कुराको वृद्धि हुनसक्ने सम्भावना पनि देखिँदैन। हामीसँग अहिले बचावट गर्ने र यसलाई धान्ने बाहेक गतिलो विकल्प छँदै छैन।
संक्रमण बढ्दै गयो भने के गर्ने भन्ने तयारी गर्नुपर्यो। सक्ने तयारी पनि गनुपर्छ। यसमा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ।
मैले देखेको, अहिलेको अवस्थालाई दुई किसिमले हेर्नुपर्छ। एउटा, पूर्ववतः रुपमा नसर्ने रोगहरु क्रोनिक कन्डिसन र नियमित चल्नुपर्ने कार्यक्रमलाई कसरी सुचारु गराउने। धेरै दुःख नदिई जनताले त्यो सुविधा कसरी पाउँछन् भन्ने कुरामा ध्यान दिने हो। जस्तोः भनौँ, कोभिडको त आफ्नो समस्या छँदैछ तर ननकोभिडको समय नै पर्खन नसकिने नियमित कार्यक्रम (खोप, प्रजनन स्वास्थ्य सेवा त्यसमा पनि सुत्केरी सेवा) दिनैपर्छ। यी सेवा अतिरिक्त जनशक्ति लगाएर भए पनि सुचारु गराउनैपर्छ।
अहिले संस्थागत सुत्केरी हुने दरमा ५० प्रतिशत गिरावट आएको अध्ययनको रिपोर्ट सार्वजनिक भइरहेको छ। यसो हुनुमा बाध्यता पनि छ। कि अस्पताल जानै पाएनन्, कि बाटैबाट फर्काइयो। यातायातको साधन नपाएर अस्पताल जान नपाउँदा घरमै सुत्केरी गराउँदा आमा र बच्चामा संक्रमण भयो। जसको कारणले मातृशिशु मृत्युदर बढ्यो।
कमसेकम प्रसूति सेवालाई कसरी घरदैलोमा पुर्याउने, कि दक्ष मिडवाइफहरुको व्यवस्था गर्ने, कि महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थामा खबर गर्ने हो वा उनीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याउने विशेष व्यवस्था गर्ने। यो गर्न नसकिने कुरा होइन। ध्यान नपुगेको मात्र हो। यो विषयमा मन्त्रालय, विभाग, प्रदेश र स्थानीय सरकारले विशेष हेर्नुपर्यो।
त्यसबाहेक क्रोनिक कन्डिसनका केही कुराहरु छन्, जस्तोः डायलाइसिस। हप्तामा २ पटक गर्नुपर्ने डायलाइसिस नभए मान्छे मर्न सक्छ। यसले त समय दिँदैन। त्यसको पनि सुनिश्चित हुनुपछ। लकडाउनको समयमा हेर्ने हो भने दुःख भयो तर डायलाइसिस सेवा चलेको देखिन्छ।
अर्को, क्यान्सर, मुटुको समस्या बढेको छ। डरको कारण अस्पताल नआउँदा अन्तिम अवस्थामा मात्र आउने बिरामी छन्।
अन्तिम अवस्थामा आइपुग्दा अब उपचार पाउँदा पनि मृत्यु बढ्ने देखिन्छ। चार महिना शान्त बसेको नसर्ने रोगको समस्या अब बढ्ने देखिन्छ।
मानसिक स्वास्थ्यको समस्या पहिले नै थियो, अहिले झन् बढ्यो। त्यसले यी समस्या समाधान गर्न समुदाय स्तरबाट घरमै सेवा पुर्याउनेतिर सोच्नुपर्छ।
अस्पताललाई पनि सुरक्षित राख्ने। एउटै अस्पतालमा कोभिड र ननकोभिड बिरामी एउटै अस्पतालमा राख्ने–नराख्नेबारे मन्त्रालयले सोच्नुपर्छ।
पहिले कोभिड र ननकोभिड अलगअलग सेवा दिने निर्णय भएको थियो। डेडिकेटेट अस्पताल हुँदा क्रस संक्रमण हुने सम्भावना कम हुन्छ भनेर पहिले हामीले कोभिड र ननकोभिड भनेर छुट्टयाउने नीतिगत निर्णय गरेका थियौँ।
तर, अहिले हरेक अस्पतालमा २० प्रतिशत बेड कोभिडका लागि छुट्टाउने भनिएको छ। व्यवस्थाकीय सजिलो बनाउने प्रयोजनका लागि र आर्थिक रुपमा मिलाउनका लागि ठाउँमा गर्ने भनिएको होला। तर त्यसले ननकोभिडका बिरामीलाई असर गर्छ। कोभिडका बिरामी राखिएपछि अन्य रोगका बिरामी अस्पतालमै नआउने, घरमै बस्ने र मृत्युदर उता बढ्ने रिक्स हुनसक्छ।
एकै स्थान दुवै खाले बिरामी राख्दा अस्पताल नै संक्रमणको स्रोत पो हुन्छ कि। यी कुरामा गम्भीर रुपमा सोच्नुपर्छ।
अस्पतालमा अचानक रुपमा सेवाहरु नरोकिने ग्यारेन्टी गरिनुपर्छ। अचानक नै अस्पतालभित्र आएर कोभिड पोजिटिभ देखिएर सबै जना क्वारेन्टाइन, आइसोलेनमा जानुपर्ने, ननकोभिड सेवा दिने अस्पतालमा पनि कोभिडकै जस्तो आवश्यक न्यूनतम सुरक्षा उपलब्ध गराइयो भने ननकोभिड सेवा सजिलोसँग सुचारु हुन्छ।
सरकारले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको जिम्मा लिँदैन भने किन जोखिम मोलेर काम गर्ने?
डा लोचन कार्की, अध्यक्ष, नेपाल चिकित्सक संघ
आफ्नो ज्यानको बाजी थापेर चिकित्सकहरु कोरोना संक्रमितको उपचारमा खटिइरहेका छन्। तर उल्टै उनीहरुमाथि नै विभिन्न आक्रमण तथा लाञ्छना लगाउने काम भइरहेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटना निकै निन्दनीय छ।
विश्वका विभिन्न देशमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन दियो बाल्ने, ताली बजाउने जस्ता कामहरु भए। तर नेपालमा भने उल्टै ‘डाक्टर चोर देश छोड’ भनेर मनोबल घटाउने काम भइरहेका छन्। स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण हुँदा पनि सरकार मौन बसेको छ।
बाहिरी देशमा धेरै संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुँदै गइरहेका छन्। त्यस्तो भयावह स्थिति हुने दिन हाम्रोमा नआउला भन्न सकिँदैन। नेपालमा पनि करिब चार सय जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्। तर सरकारले उनीहरुको कुनै मतलब गरेको छैन।
यदि सरकारले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको जिम्मा लिँदैन भने किन जोखिम मोलेर काम गर्ने? बिमाको कुरा गरेको छ तर कुनै कार्यविधि बनेको छैन। विभेदकारी भत्ताको व्यवस्था गरेको छ। यो परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले काम गरिरहेको छ।
सरकारले अब पनि स्वास्थ्यकर्मीको सुरक्षा र सेवा–सुविधामा ध्यान दिएन भने एक दिन यस्तो परिस्थिति आउन सक्छ, जहाँ उनीहरुले हार मानेर गिभअप गर्न सक्छन्।
कोडिभ र ननकोभिड भनेर अस्पतालहरुलाई छुट्याउनु हुँदैन। यसरी छुट्याउँदा सबैले उपचार पाउने अवस्था रहँदैन। त्यसैले सबै अस्पताल कोभिड अस्पताल हो। सबैभन्दा महत्वपूर्ण विषय भनेको जनताले आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक छ। स्वास्थ्यको संरचनामा थुप्रै कमीकमजोरी छन्। यसलाई समय अनुसार परिवर्तन गर्नुपर्छ।
अहिले पनि ७० प्रतिशत स्वास्थ्य निजी र ३० प्रतिशत सरकारले धानेको छ। तर एक्लै कोभिडलाई मैले मात्र सक्छु भनेर सरकार अघि बढिरहँदा पार लाग्ला? निजी अस्पताललाई पनि सरकारले सँगै लिएर जानुपर्छ।
स्वास्थ्यकर्मीले ‘म सुरक्षित छु’ भन्ने महसुस गरेपछि मात्र राम्रो सेवा दिन सक्छन्
प्रा गोमादेवी निरौला श्रेष्ठ, अध्यक्ष, नेपाल नर्सिङ काउन्सिल
स्वास्थ्य सेवाको पहुँच सहज नभएको विभिन्न तथ्यांकले समेत देखाएका छन्। अहिले अत्यावश्यक सेवा लिन पुगेका कतिपय बिरामीहरु पनि अस्पतालको गेटबाट फर्कनु परेको अवस्था छ। त्यो अवस्थालाई निराकरण गर्न कुनै विशेष रणनीति बनाउनुपर्छ।
म आफैं वीर अस्पतालमा काम गर्छु। त्यहाँ कोभिड र ननकोभिड दुवैका बिरामी उपचार गर्न आउँछन्। त्यसैले पनि स्वास्थ्यकर्मीहरु त्रसित भएर काम गर्नु परेको अवस्था छ। सबै केसलाई शंकाको रुपमा लिएर हामीले काम गनुपर्ने बेला आएको छ।
यसको लागि राम्रो खालको पिपिईको व्यवस्था हुनुपर्छ। स्वास्थ्यकर्मीले म सुरक्षित छु भन्ने महसुस गरेपछि मात्र राम्रो सेवा दिन सक्छ। अस्पतालमा अहिले बिरामीसँगै भिजिटर्स पनि आउनुहुन्छ। बिरामीको त हामीले पिसिआर परीक्षणपछि शल्यक्रिया गर्ने गरेका छौं। तर बिरामीसँग आउने भिजिटर्सको अवस्थाबारे त हामी जानकार छैनौं। त्यसैले संक्रमणको जोखिम त्यहाँबाट पनि छ।
स्वास्थ्यकर्मी नै संक्रमित भए अवस्था विकराल हुन सक्छ। किनकी स्वास्थ्यकर्मी नै संक्रमित भए उसले अन्य धेरै बिरामीलाई संक्रमण सार्ने सम्भावना धेरै हुन्छ। त्यसैले अस्पतालमा बिरामी आउँदा एक जना मात्र भिजिटर्स र उसको पनि पिसिआर गर्ने व्यवस्था गर्ने पो होकी? यतातर्फ पनि सोच्नुपर्छ कि जस्तो लाग्छ।
अहिले कोभिडभन्दा पनि नन कोभिडका बिरामीहरुको धेरै मृत्यु भएकाले ननकोभिडका केसलाई हामीले बेवास्ता गर्न मिल्दैन। चिकित्सकको मनोबल बढाउने किसिमको काम सरकारले गर्नुपर्छ। स्वास्थ्यकर्मी नै सुरक्षित नभए उसले कसरी सुरक्षित सेवा दिन सक्छ त? त्यसैले यसतर्फ सोच्नु अति आवश्यक छ।
स्वास्थ्यकर्मीलाई समान रुपमा व्यवहार हुनुपर्छ
मोहनकृष्ण श्रेष्ठ, अध्यक्ष स्वास्थ्य व्यवसायी परिषद्
अहिले देशभर फोन गर्दा एउटै खालको म्यासेज आउँछ। मेरो विचारमा अलि धेरै जोखिम भएको ठाउँमा फरक फरक खालको म्यासेज दिइयो भने राम्रो हुन्छ जस्तो लाग्छ।
यहाँ व्यक्तिगत केस आउँदासम्म ठिकै थियो। तर समुहमा आउँदा समस्या भएको छ। बिचमा मन्त्रालयले सानो टीम बनाएर काम गरेको पनि छ। म यसमा के जोड दिन्छु भने समुहमा केस आउँदा पुरै लकडाउन गर्ने चलन छ तर रोगको अवस्था हेरेर व्यवस्थापन गर्नुपर्छ।
यसरीभन्दा वैकल्पिक उपाय अपनाएर भोलिन्टीयर प्रयोग गर्ने, महिला स्वास्थ्य स्वयम सेविकाहरु प्रयोग गरी संक्रमितको व्यवस्थापन गर्न सकिन्छ।
महत्वपूर्ण कुरा के हो, कोभिड र ननकोभिडलाई छुट्याउन सकियो भने संक्रमण हुने रुटलाई पनि छुट्याउन सक्छौँ। त्यसले गर्दा बिरामीले दुख पाउँदैन। चारतिर डुल्दाडुल्दै बिरामीलाई समस्या भएको छ।
कोभिड अस्पताल छुट्याएपछि दु्रत रेन्सपोन्स हुनुपर्छ। हामीले भारतको सीमा, अन्र्तराष्टिय उडान व्यवस्थापन गरेको भए यो भयाभहको स्थिति आउँदैनथ्यो। नआउने कुरा आइसक्यो अब भने लक्षण भएको र लक्षण नभएको छुट्याएर कुन प्राथमिकता हो भन्ने छुट्याएर काम गर्नुपर्छ।
अर्कोकुरा, सबै स्वास्थ्यकर्मीलाई समान रुपमा व्यवहार हुनुपर्छ। यहाँ कहिलेकाहिँ भेदभाव गरेको हो कि भन्ने महसूस हुन्छ।
सबै युद्धमा गइसकेको पछि त्यसको एउटै नियम हुन्छ जितेर आउनु। यहाँ युद्धको नियम पनि लागू गर्नुप¥यो। कि पठाउनु हुँदैन, युद्धमा पठाइसकेपछि भेदभाव गरिनुहुँदैन। भेदभाव गरियो भने समस्या हुन्छ।
सरकारले सुरक्षाको विषयमा केही काम गरेको छ तर मोटिभेसन गर्ने कुरामा सरकारले काम गरेको छैन जस्तो लाग्छ। राम्रो स्वास्थ्य प्रणाली भएको देशलाई त गाह्रो छ भने हामीलाई गाह्रो नहुने कुरै भएन। तरपनि एउटा लेबलसम्म व्यवस्थापन गर्न सकियो भने ठूलो उपलब्धी हुन्छ जस्तो लाग्छ।
तीन तहका सरकार र निजी अस्पतालको प्रभावकारी समन्वय हुनुपर्छ
डा प्रमेश कोइराला, डर्माटोलोजिस्ट
कोरोना संक्रमणका कारणले खोप सेवा दीर्घरोग, मानसिक स्वास्थ्यको समस्या बढ्ने देखिन्छ। कोरोनाको संक्रमण रोक्ने स्थानीय तहसँग मिलेर काम गर्ने हो भने नियन्त्रण गर्न सकिन्छ। संक्रमण देखिएपछि कसरी काम गर्ने भनेर हामीले काठमाडौंका २ नगरपालिकाको उदाहरण हेर्न सक्छौँ, गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका। त्यहाँ सरकारले स्थानीय तहसँग मिलेर कसरी स्वास्थ्य सेवालाई बलियो बनाउन सकिन्छ भनेर काम गरेका छन्। त्यसमा स्थानीय राजनीतिक पार्टीका मानिस मात्र नभई अन्य जिम्मेवार निकाय र निजी अस्पतालसँग समन्वय गरेर काम गरेको थियो।
किनभने, हाम्रोमा ७५ प्रशिशत अस्पताल निजी रहेका छन्। कार्यान्वयनका रुपमा यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर देखाउन सकिन्छ। तीन तहको सरकारमा अब प्राइभेट अस्पताहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण यहाँ देखिन्छ।
अस्पतालले मात्र होइन, स्थानीय तहकै मानिसले पनि केस रिपोर्टिङ गर्दा गोपनीयतालाई ध्यान दिनुपर्ने हुन्छ। कसको तथ्यांक आधिकारिक वा कुन होइन भन्नेभन्दा पनि सही कुरालाई लिनुपर्छ। त्यसको लागि आइटीले सहयोग गर्छ। तथ्यांकलाई बलियो बनाउन प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्छ।
भारतले पनि एउटा एप बनाएको छ। हामीले यस्तै एप बनाउनुपर्छ भन्ने त होइन। तर स्थानीय तहमा यस्तै केही व्यवस्था गरी जानकारी दिनुपर्छ।
कोरोना संक्रमणबाट बच्न अपोइन्टमेन्ट, टेलिकम्युनिकेसन लिने, टोकन सिस्टम महत्वपूर्ण कुरा हो। अहिले धेरैजसो अस्पतालले गरेको देखिन्छ।
अहिले टेलिडर्माटोलोजीले राम्रो काम गरेको देखिन्छ। त्यसबाट पनि हामीले सिक्न सक्छौँ। टेलिमेडिसिन, टेलिरेडियोलोजीको अस्पतालमा आउने बिरामीलाई यहाँबाट घटाउन सकिन्छ।
मापदण्ड पुगेको र आउजाउका लागि छुट्टाछुट्टै व्यवस्था भएका अस्पतालमा कोभिड र ननकोभिडलाई हेरौँ भन्न खोजिएको हो
डा विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो समयमा आएका सुझावहरु महत्वपूर्ण छन्। यो विषम परिस्थितिमा मन्त्रालयले के ग¥यो, मैले के गरें, अर्कोले के ग¥यो भन्नु त पर्छ। किनकी हामी फरक भूमिकामा छौं।
उद्देश्य एउटै भएकाले यसलाई नछुट्याएर सँगैसँगै हिँडौं र हिँडिरहेका पनि छौं। अहिलेको कोभिड र ननकोभिड भन्ने स्थिति आउन थाल्यो। बिरामी उपचार लिन जाँदा यो कोभिड अस्पताल होइन, उता अर्कोमा जानु भन्छन् अनि उता जाँदा फेरि अर्को ठाउँमा जानु भन्न थालिएको छ। यसले त झन् ठूलो समस्या आउने भयो।
त्यसैले मापदण्ड पुगेको, छुट्टै इन्ट्री भएको अस्पतालमा कोभिड र ननकोभिडलाई हेरौँ भन्न खोजिएको हो। नकी एउटै इन्ट्रान्समा गएर एउटा कोभिड एउटा ननकोभिड त्यसरी राख्ने भन्ने सोच चाहिँ छैन।
दोस्रो कुरा, हामी फर्केर एक महिनाअघिको स्थितिमा आएछौं। संक्रमणको दरको हिसाबले, प्रतिदिन संक्रमित भेटिएको हिसाबले लगभग हामी २५÷२६ दिनअघिकै सिनारियोमा छौं। यो भन्नुको अर्थ, लकडाउन खोल्नु एउटा बाध्यता थियो। तर लकडाउन खुलेसँगै मृत्यु संख्या पनि लगभग दोब्बरको स्थिति भयो। संक्रमितहरु बढे। लक्षणविहीन संक्रमित थिए। त्यो कारणले पनि हामी शान्त भएर बस्यौं होला। अहिलेको परिस्थिति चाहिँ परिवर्तन भयो।
संक्रमितहरुको संख्या पनि बढ्दै गरेको र लक्षण देखिएका संक्रमितहरु पनि देखिएकाले अब झन् यो घट्नुको साट्टो बढ्ने देखिन्छ। अस्पतालहरुको तयारी स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकता हो।
क्वारेन्टाइनमा हामीले करिब दुई लाख मानिसहरु राखेछौं। यदि हामीले साँच्चै राम्रो क्वारेन्टाइनमा राखेको भए तीन÷तीन वटा बेडको फरक गरेर एक÷एक जना राखे पनि एक चौथाइ अर्थात् ५० हजार मानिसलाई असिम्टोम्याटिक वा माइल्ड सिस्टम भएकालाई राख्न सकिँदो रहेछ।
होम आइसोलेसनको पनि सुरुवात गर्ने बेला भएको छ। तर त्यसमा भेदभावको ठूलो समस्या छ। काठमाडौंमा पनि थोरै मात्रामा होम आइसोलेसन सुरु भएको छ। नेपालभरिको कुरा गर्दा दुई–अढाई सय जनाजति होम आइसोलेसनमा हुनुपर्छ।
मन्त्रालयले प्रदेश सरकारलाई यो गर्नलाई भनेर पैसा पठाएको छ। तर नगरेको अवस्था पनि छ। कतिपयले गर्दै पनि हुनुहुन्छ होला भन्ने आशा छ।
अत्यावश्यक औषधि आगामी चार महिनालाई पुग्ने मौज्दातमा रहेको औषधि व्यवस्था विभागले पनि भनिरहेको छ। रेमडिसिभिर र फ्याभिपिराभिर यी दुई औषधिका लागि क्लिनिकल ट्रायलका लागि हामीले स्वीकृति दिसकेका छौं। अस्पतलामा प्रयोग हुनेगरी।
स्वास्थ्य मन्त्रालय प्राविधिक कुरामा अलि कमजोर छ। त्यसैले हामीले हेल्थ टेक्निकल एसिसमेन्ट कमिटी बनाएका छौं। यो टिमले बाधा अड्काउ फुकाइरहेको छ। दोस्रो भनेको जोइन्ट र्यापिड एक्सन टिम छ। केन्द्रदेखि जिल्लासम्म स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल, नर्सिङ एसोसिएसन, नेपाल चिकित्सक संघ लगायत कोभिडमा काम गरिरहेको संरचनाको एउटा टिम छ।
बिरामीले समयमै उपचार नपाएको तथा चिकित्सकहरुले कोरोनाका बिरामीलाई नरहेको लगायत ४० प्रतिशत बढी उजुरीहरु छन्। पहिले कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनको धेरै गुनासो र उजुरी थियो। अहिले गत दुई हप्तामा यसको उजुरीहरु भइरहेको छ। यसलाई समाधान गर्न नै जोइन्ट र्यापिड एक्सन टिम छ।
निजी अस्पतालहरुसँग सहकार्य गर्नुको विकल्प छैन। आइसोलेसन, आइसियु र भेन्टिलेटरको विषय रातारात हुने भन्ने नहुने रहेछ। पैसा दिएको महिनौं भए पनि खरिद गरिएको हुँदैन। खरिद भएकाहरुको पनि छुट्टै समस्या छ। यति भनेर पनि पन्छिन सकिँदैन। सरकारी, निजी, सामुदायिक सबै किसिमका स्वास्थ्य संस्थासँग सहकार्य गरेर अघि बढ्यौं भने योभन्दा भयावह स्थिति आए पनि हामी व्यवस्थापन गर्न सक्छौं।
स्वास्थ्यकर्मीको लागि विशेष किसिमको स्वास्थ्य सेवा, विशेष किसिमको काम गर्ने वातारण र विशेष किसिमको सेवा–सुविधा दिन जरुरी छ। किनभने स्वास्थ्यकर्मी नै सुरक्षित नभए हामी बाँच्न सक्दैनौं। स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको कुरामा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ। अझै पनि तीन तहका सरकारबीच समन्वयको अभाव छ। समन्वयको निकै खाँचो छ।
निर्देशिका बनाउने तयारीमा छौं
डा पुमावती थापा, उपचारात्मक महाशाखा, स्वास्थ्य सेवा विभाग
वीर अस्पतालमा हाम्रा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुभयो। त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि धेरैभन्दा धेरै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुभएको छ।
हामी कति वटा अस्पताल सिल भएका समाचार सुनिरहेका छौँ। यी सबै कुरा सुनिराख्दा हामीलाई कतै चुकेका त छैनांै भन्ने लाग्यो।
अत्यावश्यक र आधारभूत सेवाहरु प्रदान गर्ने जुन संविधानले नागरिकको हक भनेर प्रत्याभुत गरेको छ, यी सेवाहरुलाई हामीले सुचारु गर्न सकेका छैनौँ। त्यसैले हामीले विश्व स्वास्थ्य संगठनसँग मिलेर कोभिडको अवस्थामा र सामान्य अवस्थामा आधारभूत सेवा कसरी सुचारु गर्ने भनेर आन्तरिक निर्देशिका बनाउने जमर्को गरेका छौँ।
यो निर्देशिकामा सबैले भन्नुभएका बुँदाहरु पनि समावेश हुनेछन्। हाम्रो उद्देश्य तीन तहको हुने छ। एउटा बिरामीको सुरक्षाको प्रत्याभूति दिने, स्वास्थ्यकर्मीहरु कतिको सुरक्षित छन्, सेवा प्रदान गर्न मनोबल कतिको छ र अस्पताल कसरी चलाउनुपर्छ भन्ने कुरालाई ध्यान दिएर आन्तरिक निर्देशिका बनाउने चरणमा छौँ।
बिरामीलाई कसरी सुरक्षित राख्ने त्यसमा ध्यान दिनुपर्छ। माक्सको व्यवस्था, हात धुने व्यवस्था गर्नुपर्छ। हामीले एउटा सोच बनाएका छौँ, त्यो के भने यति जना बिरामी आउने अस्पतालमा यति वटा हात धुने ठाउँ हुनुपर्छ भनेर।
सामाजिक दूरी कसरी गर्ने? एउटा बिरामीसँग ४ जना कुरुवा आएका छन् भने त्यो भीडलाई कसरी नियन्त्रण गर्ने? एक बिरामी एक कुरुवा गर्ने हो कि अथवा बिरामीको कुरुवा भित्र जान नपाउने गर्ने व्यवस्था गर्ने कुरामा ध्यान पु¥याउनुपर्छ। भीड नियन्त्रणमा ध्यान दिनुपर्छ। स्वास्थ्यकर्मीको सुरक्षामा निकै नै ध्यान दिनुपर्छ।
यहाँ ४ सयको हाराहारीमा स्वास्थ्यकर्मी संक्रमित भएको कुरा उठ्यो। हामीले चिकित्सकलाई मात्र होइन, प्रत्येक तहका स्वास्थ्यकर्मीलाई ध्यान दिएर कसरी गर्ने? हेल्थ केयर वेस्ट म्यानेजमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी कसरी सुरक्षित हुन्छन्, यदि हामीले सबैलाई सेवा दिन थाल्यौं भने मोटिभेसनको कुरा गरिनुपर्छ। यदि पोजेटिभ भइहालेमा उसको पोस्ट एक्पोजर कसरी म्यानेजमेन्ट गर्ने। हामीले क्वारेन्टाइनको व्यवस्था गरिदिनु पर्छ कि पर्दैन? यो कुरालाई ध्यानमा राखेर निर्देशिका बनाउँछौं।
अर्को महत्वपूर्ण कुरा भनेको पोस्ट एक्पोजर इभ्यालुसन प्लान। एक्पोजर भएर पोजेटिभ भइसकेपछि उहाँलाई कसरी इभ्यालुएसन गर्ने। काठमाडौंको चिकित्सक हुनुहुन्छ भने उहाँलाई कुन तरिकाले म्यानेजमेन्ट गर्ने। यस्तो कुरा आउनुपर्छ। अस्पतालको हकमा धेरै कुरा उठेका छन्। हामीले अब भीड नियन्त्रण कसरी गर्ने। ई टिकटिङ गर्नुपर्छ कि?
इन्फरमेसन टेक्नोलोजीलाई अस्पतालमा लागू गर्नुपर्छ कि। रेडियोलोजीको इमेज हेर्नलाई बिरामी लिएर नआउने उहाँको कम्प्युटरमा आउने वयवस्था गर्नुपर्छ। अस्पतालमा ब्याकअप प्लान एउटा बनाइदिनुपर्छ। नारायणीमा थुप्रै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुभयो। उहाँहरुको ब्याकअपमा को हो त? हामीले इमरजेन्सी मेडिसिन डेभलपमेन्ट प्लान बनाएर यो प्रदेशलाई यति, यो अस्पतालाई यदि प्लान छ भनेर एउटा ब्याकअप प्लान बनाउनुपर्छ।
अर्को कुरा, घरदैलोमा सेवा कसरी पु¥याउने भन्ने विषयमा मोबाइल हेल्थको कुरा आयो। यो कुरालाई मन्त्रालय समक्ष लैजानुपर्छ भन्ने लागेको छ। कार्यविधि बनाउँदा उहाँहरुले उठाउनुभएको कुरालाई ध्यानमा राख्नेछौं।
जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ
डा प्रकाश बुढाथोकी, स्वास्थ्य सेवा विभाग
यो रोगसँग लड्नको लागि सरकार एक्लैले सक्दैन। त्यसैले एकातर्फ र निजीसँग सहकार्य गर्नुपर्छ। नागरिकले पनि आफ्नो तर्फबाट जिम्मेवारी पूरा गर्नुपर्ने देखिन्छ।
हामी नेपाली जन्मदादेखि नै धेरै इम्युनिटी लिएर जन्मिएका हौँ भन्ने महसुस गरेर होला, सबैले न मास्क लगाउँछौँ न सामाजिक दूरी मेन्टेन गर्छौं। न साबुनपानीले हात धुन्छौँ न स्यानिटाइजर लगाउँछाँैँ।
नेपालमा अहिले युवालाई धेरै संक्रमण भएकाले स्थिति भयावह नभएको हो। भोलि हुनसक्छ भन्ने कुरामा सचेत भएर घरमा जेष्ठ नागरिक, बालबच्चा छन् भन्ने कुरा ख्याल गर्नुपर्छ। त्यसैले मास्क, सामाजिक दूरी र हातको सरसफाइ जस्ता जनस्वास्थ्यका मापदण्डमा ध्यान दिनु निकै आवश्यक छ।
साथसाथै हामी बस्दा उपचार गर्ने क्रममा र भेन्टिलेसन खुला राख्ने, सर्ने भएको हुनाले जहाँ पायो त्यही नथुक्ने बानीको पनि विकास गर्नुपर्छ।
जति समय कोभिडले लियो त्यो समय हेर्दा हाम्रो तयारी पुगेको छैन। चाहे त्यो समन्वयको कुरामा होस्, अस्पतालमा सेवासुविधाको कुरा होस् वा जनतालाई अझ बढी सचेत बनाउने कुरा नै किन नहोस।
साथसाथै स्थानीय, प्रदेश र संघीय सरकारको बीचमा नभएकै कारणले गर्दा कोभिडलाई समयमै नियन्त्रण गर्न सकेका छैनौं।
अर्को कुरा भनेको स्वास्थ्यको ७० प्रतिशत हिस्सा ओगटेको निजीलाई पनि कोभिड नियन्त्रणमा सरकाले समावेश गर्न सकेको छैन। यो कारणले गर्दा पनि कोभिड नियन्त्रण गर्न नसकिएको हो।
अबबाट अस्पतालहरुले पनि कोभिडको मापदण्ड नै अपनाएर ननकोभिड सर्भिसहरु पनि सुचारु गर्नुपर्छ भन्ने लाग्छ। त्यहाँ संलग्न हुने सम्पूर्ण कर्मचारीको मनोबल नबढाउने हो भने कोभिड नियन्त्रण गर्न सक्दैनौँ।
त्यो कारणले बोलीमा मात्र होइन, व्यवहारमा पनि मनोबल वृद्धि गर्नको लागि त्यही अनुसारको सेवा र कार्यक्रमहरु दिएर कोभिड नियन्त्रण गर्न सक्छौँ।
प्रस्तुति : कल्पना पौडेल, कमला गुरुङ र सिर्जना खत्री
भिडियो : निमेष जंग राई
हेरौं भिडियो :