नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन बढिरहेको छ। संक्रमण बढ्दै जाँदा धेरैले गर्भवतीबाट उनको पेटमा रहेको बच्चामा कोरोना सर्छ कि सर्दैन भन्ने प्रश्न गरिरहेका छन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर कोरोना भाइरस संक्रमण भएकी महिलाबाट पेटमा भएको बच्चामा संक्रमण सरेको प्रमाण अझैसम्म नभेटिएको बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस संक्रमित थुकका छिटाबाट अर्को व्यक्तिमा सर्ने भएकाले फोक्सोबाट आउने बाटो बाहेक पेटमा रहेको बच्चामा संक्रमण नभएको बताए। तर गर्भवती अवस्थामा रोगसँग लड्ने क्षमतामा गडबड भइरहने हुँदा संक्रमित भएको खण्डमा थप सर्तक हुन उनले आग्रह गरे।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा संगीता मिश्र गर्भवती महिला र गर्भको पेटको बच्चालाई संक्रमण हुने कुरा फरकफरक भएको बताउँछिन्। उनले गर्भवतीलाई संक्रमण हुने तर पेटको बच्चालाई संक्रमण हुने सम्भावना कम हुने बताइन्।
हालसम्म संक्रमति आमाबाट गर्भमा रहेको बच्चामा कोरोना सरेको प्रमाण भेटिएको छैन। कोरोना भाइरसका बारे अनुसन्धान र अध्ययन भइरहेकाले यसबारे नयाँ तथ्य फेला पर्न पनि सक्छ।
गर्भवस्था एक आफैंमा विशेष अवस्था भएकाले यो समयमा स्वास्थ्यप्रति थप सर्तक हुुनुपर्छ। रोगसँग लड्ने क्षमता कम हुने भएकोले गर्भावस्थामा रहेकाले संक्रमित महिला थप सजक हुनुपर्छ। र, नियमित चिकित्सकसँग परामर्श गरिरहनुपर्छ।