काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मुक्त भएकाहरुलाई रक्तदान गर्न आग्रह गरेको छ।
मन्त्रालयले संक्रमणमुक्त भएकाहरुको रगत अन्य संक्रमितको उपचारमा काम लाग्न सक्ने भन्दै रक्तदान गर्न भनेको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले संक्रमणमुक्त भएकाहरुको रगतबाट प्लाज्मा निकालेर गम्भीर अवस्थाका संक्रमितको उपचारमा काम लाग्ने बताएको छ।
रगत दान गर्न चाहने संक्रमणमुक्त भएका व्यक्तिले परिषदको ०१४२५४२२० नम्बरमा फोन गर्न सक्ने छन्।
परिषदले तोकिएको अस्पतालको संयुक्त संलग्नतामा कोभिड–१९ का बिरामीहरुलाई कन्भालेसेन्ट प्लाज्मा थेरापी दिई उपचार गर्ने तयारी गरेको हो।
प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो। यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्याउने काम गर्छ। रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो। यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ।
संक्रमित भई निको भएका व्यक्तिले उक्त प्लाज्मा दान गरी संक्रमित मानिसलाई दिइने विधिलाई प्लाज्मा थेरापी भनिन्छ।
कोरोना संक्रमणबाट निको भएका व्यक्तिमा दुई किसिमको ‘एन्टिबडी’ उत्पादन हुने गर्छ । जसमा पहिलो सातामा ‘आएजिएम’ उत्पादन हुन सुरू गर्छ।
यो एन्टिबडी दुई सातामा हराएर जान्छ र त्यसपछि ‘आइजिजी’ उत्पादन हुन सुरू गर्छ।
विश्वमा कोरोना भाइरस संक्रमण भई गम्भीर बिरामी भएकालाई कन्भालेसेन्ट प्लाज्मा थेरापी दिँदै उपचार हुँदै आएको छ। अन्य संक्रामक रोगको उपचारमा समेत यो विधि प्रयोग हुँदै आएको पाइन्छ।
नेपालमा यो विधि प्रयोग गर्न सकिन्छ कि सकिँदैन? प्रयोग गर्नुपर्ने भएमा कसरी गर्ने? भन्ने विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताए।
नेपालमा अझै गम्भीर प्रकृति बिरामी देखिएका छैनन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले भोलिका दिनमा कोरोनाका गम्भीर बिरामी भए भने प्लाज्मा थेरापी उपयोगी हुनसक्ने बताए।